सीमा क्षेत्र अपराधविरुद्ध ‘सुराकी अपरेसन’

Posted: August 28, 2013 in By Deepak Kharel

चूडामणि भट्टराई

सरकारले सीमा क्षेत्रमा हुने १७ खालका अपराधमध्ये नौ किसिमका अपराधमा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता रहेको निष्कर्ष निकालेको छ। नेपाल-भारत सीमा क्षेत्रमा हालसम्म भएका आपराधिक घटनाका आधारमा अन्तर्राष्ट्रिय गिरोहको चलखेल रहेको निष्कर्ष निकालिएको हो। सरकारले सीमा क्षेत्रमा ‘सुराकी अपरेसन’ गर्ने निर्देशनसमेत जारी गरेको छ।

गृह मन्त्रालयद्वारा केही दिनअघि जारी ‘सीमावर्ती क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण कार्ययोजना २०७०’ मा सीमा क्षेत्रमा हुँदै आएका आतंकवादी गतिविधि र साम्प्रदायिक घटनामा अन्तर्राष्ट्रिय आपराधिक गिरोह संलग्न रहेको किटान गरिएको हो।

त्यसैगरी भूमिगत सशस्त्र समूहका गतिविधिमा पनि अन्तर्राष्ट्रिय गिरोहको साथ रहेको सरकारी निष्कर्ष छ। सरकारले देशका विभिन्न सीमावर्ती सहरमा बढ्दो धम्की तथा चन्दाआतंक, अपहरण, विस्फोटक पदार्थ एवं हतियार ओसारपसार, जाली नोट कारोबार, दुर्लभ वन्यजन्तुको अवैध सिकार, वनपैदावर तथा प्राकृतिक स्रोतसाधनको गैरकानुनी ओसारपसार, पुरातात्त्विक महत्त्वका सामग्रीको चोरी निकासीजस्ता अपराधमा अन्तर्राष्ट्रिय आतंककारी संगठनहरूको चलखेल नै मुख्य कारण ठम्याएको छ।

यीबाहेक भन्सार चोरी निकासी पैठारीमा आर्थिक लाभका लागि काम गर्ने गिरोह मुख्य कारक रहेको, अपराध लुकाउन सजिलो हुने भएकाले खुन डाँकाका घटना बढ्ने गरेको, आपराधिक समूहको अधिक बसोवास हुनुका कारणले कर्तव्य ज्यानसम्बन्धी अपराध बढेको, खुला सिमाना तथा आर्थिक लाभ हुने भएकाले लागूऔषध कारोबार हुने गरेको सरकारी अध्ययनले देखाएको छ।

मन्त्रालयले सुरक्षा निकायलाई दिएको निर्देशनमा अपराध हुनुको कारणसमेत उल्लेख छ। राजनीतिक दलहरूले अपराधीलाई संरक्षण दिने गरेका कारण पनि सीमा क्षेत्रमा अपराध बढेको सरकारको ठहर छ। राजनीतिक संरक्षणकै कारण सीमा क्षेत्रमा धम्की र चन्दा आतंक, अपहरणजस्ता घटना हुने गरेको भन्दै मन्त्रालयले भूमिगत सशस्त्र संगठनका गतिविधिमा भने राजनीतिकबाहेक प्रशासनिक संरक्षणसमेत रहेको दाबी गरेको छ।

दोहोरो नागरिकता र राहदानीका अपराध एवं गैरकानुनी प्रवेश र बसोवास बढ्नुमा छिमेकी राष्ट्रहरूको आप्रवासी समस्या तथा दुई देशबीचको मिल्दो संस्कृति र खुला सिमाना कारक रहेको सरकारी मूल्यांकन छ।

गृह स्रोतका अनुसार विभिन्न कारणले अन्तर्राष्ट्रिय गिरोहविरुद्ध प्रतिजासुसी संयन्त्र निर्माण गरी परिचालन गर्न नसकेपछि सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई यस्तो ‘कार्ययोजना’ का नाममा सुराकी अपरेसनको रणनीतिक निर्देशन जारी गरेको हो।

सीमा अपराधमा स्वदेशीका कारण कम र अन्तर्राष्ट्रिय आपराधिक संगठनको चलखेल बढी भएकाले त्यस क्षेत्रमा हुने सुरक्षा कारबाहीमा पनि ‘सुराकी अपरेसन’ लाई प्राथमिकता दिनुपरेको सुरक्षा स्रोतको दाबी छ। निर्देशनमा उल्लेख छ, ‘सीमावर्ती क्षेत्रमा हुने अवैध तथा आपराधिक क्रियाकलाप, तिनमा संलग्न सशस्त्र आपराधिक समूह र व्यक्तिहरूको सूचना संकलन र विश्लेषण गर्ने, त्यस्ता समूहभित्र घुसपैठ तथा सूत्र प्रवेश गराई सूचना सञ्जाल विस्तार गर्ने र सुरक्षा निकायहरूबीच समन्वयनमा कानुनी कारबाही अघि बढाइनेछ।’ यस्तो अपरेसन तत्काल सुरु गरी एक वर्षसम्म कायम राख्न गृहले तीनवटै सुरक्षा निकायलाई लिखित निर्देशन दिएको छ।

नेपाल-चीन सीमा क्षेत्रमा भन्सार चोरी र हतियारको अवैध ओसारपसारबाहेकका अन्य घटना खासै नदेखिएकाले अन्तर्राष्ट्रिय गिरोहको चलखेल नेपाल-भारत सीमा क्षेत्रमै बढी रहेको सरकारी ठम्याइ छ। भारत र पाकिस्तानसँग आश्रय लिएर नेपालका सीमा क्षेत्रमा आपराधिक र आतंकवादी गतिविधि गर्ने संगठनलाई लक्षित गर्दै बनाइएको नियन्त्रणसम्बन्धी सरकारी योजना लागू भइसकेको नेपाल प्रहरीको उच्च स्रोतले जनाएको छ। तर कुन देशबाट संरक्षित कुन अन्तर्राष्ट्रिय गिरोह सीमा क्षेत्रमा कार्यरत छ भन्ने यकिन सरकारले गर्न सकेको छैन।

योजनाले ‘सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गरी सीमा सुरक्षा भरपर्दो र विश्वसनीय बनाउने’ लक्ष्य राखेको छ।

पूर्वगृहसचिव गोविन्दप्रसाद कुसुम त्यस्ता संगठन जुनसुकै देशको संरक्षण प्राप्त हुन सक्ने तर्क गर्छन्। उनी भन्छन्, ‘मूल कुरा छिमेकी मुलुक भारत र चीनको सुरक्षा चासो सम्बोधन गरेर देशको सुरक्षा मजबुत बनाउने हो।’

उपलब्ध साधनस्रोतको अधिकतम परिचालन गर्दा पनि नपुग हुने भएमात्र सरकारले रकम थप्ने नत्र यो कार्ययोजना कार्यान्वयनका लागि हालकै बजेटबाट सुरक्षा निकायहरूले व्यवस्थापन गर्न निर्देशन दिइएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s