प्रहरीमा भर्ना गरिदिने भन्दै ठग्‍ने पक्राउ

Posted: August 28, 2013 in By Deepak Kharel

सुरेन्द्र काफ्ले

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दुर्जकुमार राईको नामको नियुक्तिको सिफारिसपत्रको लेटरप्याडसहित ‘सशस्त्र प्रहरी निरीक्षक हुँ’ भन्दै हाल चलिरहेको प्रहरी भर्नामा पैसा असुल गर्ने गिरोहका नाइके पूर्वसशस्त्र प्रहरी हबल्दार भक्तबहादुर सिंहलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयको लेटरप्याडमा प्रहरी भर्ना गर्ने मानव स्रोत विकास विभागका एआईजी राईको नामबाट भदौ १ गतेबाट तलब खाने गरी ६ जना परीक्षार्थीलाई नियुक्तिको सिफारिस गरेको पत्रसहित जाजरकोट कार्कीगाउँ-१ घर भई हाल बाँकेको टिटिहिरियामा बसोबास गर्ने सिंहलाई प्रहरीले सोमबार राति पक्राउ गरेको हो।

लेटरप्याडमा तालिम केन्द्र नौबस्ता बाँकेको चलानी नं. २२९७ को पत्रअनुसार दर्ता नं. १४५३,१४५९,१४५७,१४३९,१४४० र ७२ भएका परीक्षार्थी आन्तरिक कोटाबाट पदपूर्ति हुँदा निजीहरूको चालचलन र शारीरिक अवस्थाबारे निजका आफन्त पर्ने जिम्मेवारी लिने व्यक्तिको नाम, ठेगाना, नागरिकतासहित सहीछाप गराई २४ घन्टाभित्र यस कार्यलयमा जानकारी गराउनुहुन अनुरोध गरिन्छ, साथै निजहरूले यसै २०७० भदौ १ गतेदेखि तलबभत्ता खाने गरी नियुक्त गरिएको उल्लेख छ। जब कि यी ६ जनाको परीक्षा नै भएको छैन।

सशस्त्र प्रहरी निरीक्षक ईश्वरीदत्त भट्ट र राजनलाल श्रेष्ठको कमान्डमा खटिएको टोलीले कोहलपुर बसपार्कबाट सिंहलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल तालिम केन्द्र नौबस्ताका समावेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक खड्गबहादुर राईले जानकारी दिए। सिंहसहितको गिरोहले प्रहरीको भर्नाबापत दुई लाख ५० हजार लिने गरेको पाइएको प्रहरीले जनाएको छ। जसमा डेढ लाख पहिला र एक लाख भर्ना भइसकेपछि दिने सहमति गरिएको बताइएको छ।

नेपाल नागरिक पार्टीको केन्द्रीय सदस्य भएको बताउने सिंहका साथबाट ३२ हजार एक सय ८५ नगद र दुई थान मोबाइल पनि बरामद गरिएको छ। सिंहबाट बरामद पेन ड्राइभमा आफू सशस्त्र प्रहरी निरीक्षक प्रकाश मल्ल नाम गरेको परिचयपत्रसमेत फेला परेको छ।

बैंक अफ काठमाण्डुको बैंक ग्यारेन्टी, भेरी अञ्चल बस तथा मिनिबस व्यवसायी संघबाट प्राप्त गाडी मालिकको प्रमाणपत्रसमेत सशस्त्र प्रहरीले बरामद गरेको छ। पक्राउ परेका सिंह २०६५ सालमा नौबस्ता-८ गाभरका धनु धितालको छोराको अपहरण तथा ज्यान मुद्दामा पाँच महिना हिरासतमा रहेका थिए। घटनामा सिंहका साथमा डोटीको यार्सागुम्बा व्यापारी मानाकपाडी-५ का खड्गबहादुर बोहरा र गिटीढुंगा व्यवसायी सल्यानका रामबहादुर थापासमेत संलग्‍न रहेको खुल्न आएको छ।

बोहराको परिचयपत्र पक्राउ परेका सिंहको साथबाट बरामद भएको छ। सिंह पक्राउ परेपछि दुवैजनाको मोबाइल स्विच अफ छ। दुवैजनाको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ परेका सिंहले भने आफूलाई बोहरा र थापाले फसाएको दाबी गरेका छन्। सिंहले भने, ‘यो कार्यमा मेरो संलग्‍नता छैन।’ पक्राउ परेका सिंह र उनीबाट बरामद सामग्री सशस्त्र प्रहरी बलले इलाका प्रहरी कार्यालय कोहलपुरलाई बुझाएको छ। सिंहले २०६४ सालमा जागिर छोडेको बुझिएको प्रहरीले जनाएको छ।

ठगीको आरोपमा कुर्मी पक्राउ
वीरगन्ज: कुटपिट मुद्दामा पीडकलाई कानुनी कारबाहीबाट उन्मुक्ति दिलाउँछु भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने धन्दामा संलग्‍न पर्सा विश्रामपुर गाविस-६ का वीरबहादुर राउत कुर्मीलाई प्रहरीले पक्राउ गरेर कारबाही सुरु गरेको छ।

कुटपिट मुद्दामा प्रहरीसमक्ष सोर्सफोर्स लगाएर कारबाहीबाट जोगाउने प्रलोभन दिँदै पीडितसँग १० हजार रुपैयाँ घुस असुलेका कुर्मी सोमबार प्रहरी फन्दा परेका हुन्। कुर्मीले आफ्नै गाउँका साढु भाइ धर्मराज राउत कुर्मीलाई कुटपिटको मुद्दामा कानुनी कारबाहीबाट उम्काउन प्रहरीलाई घुस दिनुपर्छ भन्दै उक्त रकम असुलेका थिए।

बहुअर्वा भाठा प्रहरीचौकीमा भएको छलफलमा गाउँलेले कुटपिटमा धर्मराजको संलग्‍नता रहेको ठहर गर्दै पीडित जयमंगल राउतलाई क्षतिपूर्ति दिनुपर्ने ठहर गरेपछि धर्मराजले आफूसँग मुद्दा मिलाउन वीरबहादुरले घुस असुलेको प्रहरीसमक्ष खुलासा गरेका थिए। वीरबहादुरले पीडितसँग रकम असुलेको जानकारी पाएपछि प्रहरीले रकमसहित उनलाई पक्राउ गरेको हो।

कुटपिट र सांघातिक आक्रमणको मुद्दामा पीडित वा पीडकको सहयोगी बनेर राजनीतिक वा सामाजिक आवरणमा दलाली गर्ने प्रवृत्ति देखिएको प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले बताए। ‘पीडितलाई न्याय दिलाउन सहयोग गर्नु स्वाभाविक नै हो’, उनले भने, ‘तर मुद्दामामिला मिलाइदिन्छु भनेर दलाली गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु जरुरी छ।’

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.