कार्यकारी निर्देशकसहित २६ जनाविरुद्ध मुद्दा

Posted: August 28, 2013 in By Deepak Kharel

यम विरही

चिनियाँ हुबेई सनलाइट इलेक्ट्रिक कम्पनी लिमिटेडमार्फत खरिद गरिएका ट्रान्सफर्मरमा ४१ करोड १८ लाख रुपैयाँबराबर भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारीनिर्देशक रामेश्वर यादव र चिनियाँ ठेकेदारसहित २६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
2508-ANP-24

प्राधिकरण कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप आठदेखि १० वर्षसम्म जेलसजाय माग गरिएको छ। अभियुक्त सबैलाई पक्राउ गरी थुनामा राखेर अनुसन्धान भइरहेको थियो। उनीहरूलाई अभियोगपत्रसँगै अदालतमा उपस्थित गराइएको थियो। ट्रान्सफर्मर खरिद प्रकरणमा अख्तियारले दुईवटा अभियोगपत्र दर्ता गरेको जानकारी विशेष अदालतका सूचना अधिकृत केशव घिमिरेले दिए। अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले दुईवटा मुद्दामा फरकफरक बिगो भराउन दाबी गरिए पनि कुल ४१ करोड १८ लाख भ्रष्टाचार भएको ठहर छ।

प्राधिकरणको आफ्नै स्रोतबाट चीनमा रहेको ठेकेदार कम्पनी हुबेई सनलाइट इलेक्ट्रिक कम्पनीमार्फत २०६७ सालमा खरिद भएका १२ सय ६० थान ट्रान्सफर्मरका लागि भुक्तान भएको ११ करोड ७३ लाख ७० हजार दुई सय ५५ रुपैयाँ भ्रष्टाचार भएको भन्दै प्रत्यक्ष चुहावट भएका कारण दोब्बर रकम भराउन पाउने कानुनी व्यवस्थाअनुसार प्राधिकरणलाई ३१ करोड ४२ लाख पाँच हजार पाँच सय ७४ रुपैयाँ हानि भएको दाबी अख्तियारको छ। यसमा हर्जाना, भन्सार महसुल र मूल्य अभिवृद्धि करसमेत जोडेर बिगो कायम गरिएको छ।

उक्त ठेक्‍का सम्झौताको अनियमिततामा मुछिएका तत्कालीन कार्यकारीनिर्देशक जीवेन्द्र झा, हालका कार्यकारीनिर्देशक रामेश्वर यादव, तत्कालीन निमित्त कार्यकारीनिर्देशक टीकाराम बीसी, तत्कालीन महाप्रबन्धक चिरञ्‍जीवी शर्मा पौडेल, सहनिर्देशक हरिशबहादुर पाल, लेखा अधिकृत सुरेशकुमार कटुवाल, सुशीलप्रसाद खनाल, प्रबन्धक सेन्धु यादव, सहायक प्रबन्धक सुरेन्द्रप्रसाद पनेरू, प्रबन्धक शेखरकुमार दत्त, सुरेन्द्रराज जोशी, कैलासप्रसाद अटल, इन्जिनियर नारायणप्रसाद चौधरी र भण्डार सहायक सरोज श्रेष्ठले सामूहिक रूपमा १५ करोड ७९ लाख तीन हजार दुई सय ७९ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित बिगो असुल, बिगोबमोजिम जरिबाना र १० वर्षसम्म कैद सजाय माग गरिएको छ।

उक्त प्रकरणमा चिनियाँ ठेकेदार कम्पनीका सञ्‍चालक ली दाओ जिउ, हु जिङ क्वेङ, उक्त कम्पनीका चिनियाँ प्रतिनिधि जु इ टियान र नेपालस्थित एजेन्ट अमर राजभण्डारीबाट ३१ करोड ८२ लाख पाँच हजार पाँच सय ७४ रुपैयाँबराबर बिगो जफत गरी त्यति नै जरिबाना र दुई वर्ष जेलसजाय माग गरिएको छ।

यसैगरी प्राधिकरणले विश्व बैंकको भिन्नै स्रोतबाट किनेका विभिन्न क्षमताका सात सय ३५ थान ट्रान्सफर्मर खरिदमा ९ करोड ३६ लाख ३४ हजार ९ सय ९७ रुपैयाँ नोक्सानी भएको भन्दै अर्को भिन्नै मुद्दा दायर भएको छ।

उक्त मुद्दामा तत्कालीन महाप्रबन्धक रामेश्वर यादव, महेशप्रसाद आचार्य, देव शर्मा पौडेल, कृष्णबहादुर थापा, कृष्णबहादुर केसी, भरत रूपाखेती, प्रमोद रिजाल, मदनराज चापागाईं र प्रज्वल पाण्डेबाट बिगो असुल, बिगोबमोजिम जरिबाना र १० वर्षसम्म कैदसाजय माग गरिएको छ। उक्त मुद्दामा पनि चिनियाँ ठेकेदार कम्पनीका सञ्‍चालकद्वय र नेपालस्थित एजेन्टबाट पनि हानिनोक्सानीबापतको बिगो असुल र जरिबानासहित दुई वर्ष जेलसजाय मागदाबी गरिएको छ। प्राधिकरणका तत्कालीन कार्यकारीनिर्देशक झा, यादव, निमित्त कार्यकारीनिर्देशक बीसी र महाप्रबन्धक पौडेललाई उच्‍चपदस्थ राष्ट्रसेवक भएका कारण थप दुई वर्ष जेलसजाय माग गरिएको छ।

प्राधिकरणबाट खरिद भएका ट्रान्सफर्मरमा तामाको सट्टा आल्मुनियमको कमसल धातु प्रयोग भएको भन्दै अख्तियारमा परेको उजुरीका आधारमा गत वर्षको पुसदेखि उनीहरूमाथि अनुसन्धान हुँदै आएको थियो। आठ महिना लामो अनुसन्धानपछि अख्तियार भ्रष्टाचारमा कारबाहीको निष्कर्षमा पुगेको हो। प्राधिकरणका सञ्‍चालक सदस्य मोहनराज पन्त संयोजक रहेको छानबिन समितिले समेत आफ्नो प्रतिवेदनमा आल्मुनियमयुक्त ट्रान्सफर्मर खरिद भएका कारण बिजुलीको प्राविधिक चुहावट उच्‍च रहेको ठहर गर्दै अनियमितता भएको निर्क्‍योल गरेको थियो। अख्तियारले अनुसन्धानमा पन्त समितिको प्रतिवेदनलाईसमेत आधार बनाएको थियो।

घूस अभियोगमा आठजनाविरुद्ध मुद्दा
सेवाग्राहीसँग घूस लिएको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुईजना शाखा अधिकृतसहित आठजनाविरुद्ध सजायको मागसहित आइतबार नै विशेष अदालतमा मुद्दा दायर भएको छ।

विमानस्थल भन्सारस्थित कार्गो शाखाका अधिकृत मिनर्भा अधिकारी र शान्तराज रेग्मीसहित ६ जना भन्सार एजेन्ट छन्। विशेष सुराकीबाट प्राप्‍त सूचनाका आधारमा अख्तियार टोलीले गत साता कार्यालयबाट निस्कँदै गरेका अधिकारीको साथबाट ६१ हजार पाँच सय र रेग्मीको साथबाट ७९ हजार पाँच सय रुपैयाँ घूसबापतको रकम बरामद गरेको थियो। उनीहरूसँगै भन्सार एजेन्ट भरतराज घिमिरे, मीनबहादुर खत्री, शिशिरबहादुर गौतम, विष्णुमणि खनाल, शिवप्रसाद ढुंगाना र ऋषिराम जमरकट्टेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

प्रमुख भन्सार अधिकृत दिव्यराज पोख्रेल, भन्सार अधिकृत मीनबहादुर अधिकारी, उद्धव ढुंगाना, लक्ष्मीदत्त जोशी, राजेन्द्र बस्नेत र ध्रुवकुमार रेग्मीलाई निजामती सेवा ऐन, २०४९ अनुरूप विभागीय कारबाही गर्न सरकारलाई परिपत्र गरिएको छ।

त्यस्तै सामाजिक सुरक्षा भत्तामा दुई लाख ५२ हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा पर्सा जिल्ला भीमपुर गाविसका सचिव महम्मद मन्सुर खाँ र कार्यालय सहायक जितेन्द्रप्रसाद चौहानविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s