सेनामा वरीयता मिचेर बढुवा सिफारिस

Posted: August 24, 2013 in By Deepak Kharel

सरोजराज अधिकारी

सैनिक मुख्यालयले रिक्त तीन उपरथी (विशिष्ठ श्रेणीसरह) पदमा वरीयता मिचेर बढुवा सिफारिस गरेको छ । वरिष्ठ सहायकरथी हेम खत्रीलाई पन्छाएर वरीयतामा क्रमशः दोस्रो, तेस्रो र चौथोमा रहेका पदमविलास कार्की, विजय मोक्तान र हिमालय थापालाई सिफारिस गरिएको हो । सैनिक प्रवक्ता सहायकरथी सुरेशराज शर्माले यी तीन जनाको नाम मन्त्रिपरिषद्को स्वीकृतिका लागि रक्षा मन्त्रालयमा पठाइएको बताए ।

बढुवासँगै तीनै जनाको पदस्थापनका लागिसमेत सिफारिस गरिएको छ । कार्कीलाई युद्धकार्य तथा व्यवस्था महानिर्देशनालय, मोक्तानलाई पूर्वलडाकुसमेत मिलाएर बनाइने राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालय र थापालाई पश्चिम पृतना पोखराको प्रमुखमा पदस्थापन गर्न सिफारिस गरिएको छ । युद्धकार्य महानिर्देशक पवनबहादुर पाण्डे गत साउन ३१ मा रथी भएपछि त्यो विभाग रिक्त थियो ।

रथी नेपालभूषण चन्दले गत असार २८ गते दुई वर्षे सेवा अवधि पूरा गरी अवकाश पाएपछि रिक्त रथी पदमा पाण्डेको बढुवा भएको हो । उनले भदौ २ गते दज्र्यानी चिह्नसमेत लगाइसकेका छन् । पाण्डेको बढुवा र उपरथीद्वय महेशविक्रम कार्कीले असार १५ र रमेश बिष्टले असार १८ मा अवकाश पाएपछि तीन उपरथी पद रिक्त भएको थियो ।

उपरथीका लागि सहायकरथीको वरीयताक्रममा क्रमशः रमीन्द्र छेत्री, प्रदीपबहादुर सिंह, धनिदास कार्की, अजितसिंह ठकुरी, हेम खत्री, पदमविलास कार्की, विजय मोक्तान, हिमालय थापा, हेमन्तराज कुँवर थिए । तर यीमध्ये रमीन्द्रले स्वास्थ्य, प्रदीपबहादुर, धनिदास र अजितसिंहले विभिन्न कारणले वार कलेज वा नेसनल डिफेन्स कोर्स(एनडीसी) गरेका छैन । छेत्रीमाथि युद्धकालमा माओवादीबाट गम्भीर आक्रमण भएको थियो । सेनामा प्राविधिकबाहेक उपरथी तहमा बढुवाका लागि वार कलेज वा एनडीसी अनिवार्य छ ।

एनडीसी र वार कलेज गर्नेको वरीयताक्रममा हेम खत्री अगाडि भए पनि किर्ते गरेको अभियोगमा उनीमाथि कोर्ट अफ इन्क्वायरी जारी रहेकाले उनीपछिकाको नाम सिफारिस गरिएको सैनिक स्रोतले बतायो । खत्री २०६४ भदौ ३० मा, कार्की र मोक्तान २०६५ साउन ४ मा र थापा २०६५ असोज ३० मा सहायकरथी बनेका हुन् । बढुवाकै हिसाबले पनि अन्यभन्दा एक वर्ष वरिष्ठ भए पनि खत्रीले पाकिस्तानबाट एनडीसी गर्दा मिति सच्याएर किर्ते गरेको अभियोगमा सेनाले छानबिन गरिरहेको छ ।

सेनामा ५३ वर्षभित्रै एनडीसी वा वार कलेज सकिसकेको हुनुपर्ने व्यवस्था छ । तर उमेर हदभन्दा १५/२० दिन ढिला सकेर खत्रीले कागजपत्र सच्याएको उजुरी परेपछि छानबिन भइरहेको स्रोतले बतायो । एक उच्च सैनिक अधिकृतका अनुसार खत्रिमाथि लगाइएको आरोप पुष्टि नहुँदासम्म उनलाई बढुवाबाट वञ्चित गर्न मिल्दैनथ्यो ।

तर सैनिक प्रवक्ता शर्मा भने खत्रीमाथि प्रश्न उठिसकेकाले सरकारसमक्ष सिफारिस गर्न नैतिक रूपमै पनि बाधा पुग्ने बताउँछन् । अर्का एक उच्चपदस्थ अधिकृतले भने प्रधानसेनापति गौरवशमशेर राणाले चौथो वरीयताका थापालाई बढुवा गर्न खत्रीमाथि अनुसन्धान थालेको दाबी गरे । ‘खत्रीले एनडीसी सकेर फर्केको एक वर्षभन्दा बढी भइसकेको छ । उनले गल्ती गरेको भए अहिलेसम्म के हेरेर बसियो ?’ ती अधिकृतले भने, ‘बढुवाकै मुखमा छानबिन थाल्नुका पछाडि उनलाई पन्छाएर अरूलाई बढुवा गर्ने नियत प्रस्ट देखिन्छ ।’

चौथो वरीयताका थापा प्रधानसेनापति राणाका सैनिक सहायक हुन् । सेनापति निकट रहेर सरुवा, बढुवादेखि नीति/निर्माणसम्मका काम गर्ने भएकाले सेनाभित्र सैनिक सहायक, सैनिक सचिवजस्ता पद कतिपय विभागीय प्रमुखको तुलनामा महत्त्वपूर्ण मानिन्छन् । यी दुई निकायमा सहायकरथी दर्जाको अधिकृत रहने भएपछि सेनापतिसँगको निकटताकै कारण कतिपय उपरथी, रथीभन्दा प्रभावकारी छन् ।

सैनिक प्रवक्ता शर्मा प्रधानसेनापतिका नयाँ सैनिक सहायक तोकिएका छन् र सैनिक प्रवक्ताको जिम्मेवारी जगदीशचन्द्र पोखरेलले सम्हाल्ने भएका छन् । अहिलेका सैनिक सहायकको बढुवा सिफारिस मन्त्रिपरिषद्बाट स्वीकृत नभइसकेकाले शर्मा र पोखरेलको पदस्थापन भने भइसकेको छैन ।

सेनाले बढुवाविरुद्ध उजुरीका लागि १५ दिनको समयावधि तोक्ने गर्छ । तर आफूभन्दा कनिष्ठको बढुवा सिफारिस भए पनि खत्रीले कुनै उजुरी नदिएको स्रोतले बतायो । बढुवा नभए सहायकरथीको ७ वर्षे पदावधि (पहिले ४ र पछि थपिने ३ वर्ष गरी) कारण खत्री २०७१ भदौ ३० मा अवकाश पाउनेछन् । कोर्ट अफ इन्क्वायरीका क्रममा उनीमाथिको अभियोग पुष्टि भए कारबाहीसमेत भोग्नुपर्नेछ ।

यसअघि सेनाले बढुवा सिफारिस १५ दिनअघि नै उजुरीका लागि आफ्नो वेबसाइटमै राख्ने गथ्र्यो । यसअघि २०६९ फागुन १४ मा विनोज बस्न्यात र सुन्दर पुडासैनीलाई उपरथीमा गरिएको बढुवा सिफारिस वेबसाइटमा थियो ।

प्रकाशित मिति: २०७० भाद्र ८ ०९:०२

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.