क्रिकेट सट्टाबाजीमा अर्बौं रुपैयाँ बाहिरियो

Posted: August 22, 2013 in By Deepak Kharel

दीपक खरेल

लोकप्रिय खेल क्रिकेटका अन्तर्राष्ट्रिय प्रतियोगिता हारजितको अड्कल गर्दै थापिने बाजीमा अर्बौं रुपैयाँ कारोबार हुने गरेको छ। खेल नतिजा पूर्वानुमान गरेर नगदमा बाजी थाप्ने यो धन्धा एक प्रकारको जुवा हो। नेपालका विभिन्न सहरमा सट्टाबाजीका पेसेवर गिरोहको संलग्नता बढ्दै गएको छ। cric

हालै सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपालबाट ४६ करोड रुपैयाँ हुन्डीमार्फत बाहिरिएको तथ्य फेलापरेको छ। काठमाडौं, विराटनगर, वीरगन्ज, नेपालगन्ज र पोखरामा सक्रिय १५ जनाभन्दा बढी बुकी (जुवा खेलाउने व्यक्ति) मार्फत पाँच वर्षयता २३ अर्ब रुपैयाँबराबरको कारोबार भएको स्रोतले बतायो।

राजधानीलगायतका मुख्य सहरमा सट्टाबाजीमा ठूलो कारोबार हुने गरे पनि दलालमार्फत मोटो रकम हातपारेका कारण प्रहरी प्रशासन चुप लाग्ने गरेको स्रोतको दाबी छ।
प्रहरीका मुख्य अनुसन्धान एकाइ विशेष ब्युरो, अपराध अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारीले यसबारे सामान्य जानकारी मात्रै भएको बताएका छन्।

नेपाल प्रहरीका प्रवक्ता नायब महानिरीक्षक नवराज सिलवालले यसबारे छानबिन गरी कारबाही गर्नसक्ने व्यवस्था रहेको बताए। उनले भने, ‘कारोबार मोबाइलमार्फत र पैसा लेनदेन अवैध हुन्डीमार्फत हुने भएका कारण प्रहरीलाई कारोबारीसम्म पुग्न गाह्रो हुन सक्छ। तर यसलाई छानबिनको दायरामा ल्याउन सकिन्छ।’

कसरी चल्छ सट्टाबाजी (फट्का)

क्रिकेट प्रतियोगिताका अन्तर्राष्ट्रिय खेलतालिका सार्वजनिक हुनासाथ फट्काका कारोबारी (बुकी) लाई जुवाडेले नाम र नम्बर टिपाउँछन्। बुकीले फट्काका अन्तर्राष्ट्रिय माफियासँग निश्चित रकमको ग्यारेन्टी पाएको हुन्छ। त्यसकै आधारमा बुकिङ खुला हुन्छ। काठमाडौं, विराटनगर र वीरगन्जमा रहेका फट्काका नियमित जुवाडेले भने भारतीय बुकीमार्फत पाँच लाख रुपैयाँ तिरेर आफैं लाइन लिएका छन्।

CRICKET SKETCH

क्रिकेट सुरु हुनासाथ बुकीमार्फत खेलका चरण, प्रक्रिया र नतिजाबारे मोटो रकमको बाजी थापिन्छ। क्रिकेटमा ब्याटिङ, बलिङ, फिल्डिङ, रन र विकेटमा कम-बढीका आधारमा बाजी राख्ने गरिन्छ। बुकीमार्फत जुवा खेल्ने व्यक्तिको पहिचानभन्दा उसले प्रयोग गर्ने टेलिफोन नम्बर महत्त्वपूर्ण हुन्छ। खेल भइरहँदा करोडौं रकम बाजी लगाउने व्यवस्था गरिएको हुन्छ।

बुकीमार्फत जुवा खेल्नेले खेलको प्रत्यक्ष प्रसारण र पाँच लाख रुपैयाँ तिरेर लाइन लिएकाले मोबाइलमा आउने जुवाको कारोबार नतिजा सुनेर बाजीको रकम लगाउने स्रोतले बतायो। लगानी रकमको अनुपातमा २० गुना बढीसम्म कमाइ हुने भएकाले फट्कामा खेलप्रेमी युवाको लत बसेको छ।

व्यापारी र जागिरेको आवरणमा रहेका बुकीहरूले आफूअनुकूलका स्थानबाट कारोबार सञ्चालन गर्ने गरेका छन्। फट्काका जुवाडे ठूला व्यापारिक घरानाका हुन्छन् भने सबै कारोबार मोबाइलमार्फत हुन्छ।

काठमाडौंमा फट्का कारोबारमा त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको जस्मिन हेल्थ क्लब र र्‍याडिसन होटेलका कर्मचारी विनोद उप्रेती मुख्य रहेको स्रोतको दाबी छ। क्लब र उप्रेतीमार्फत खेलको सिजनमा भारत र दुबईबाट आउने बुकीले कारोबार गर्छन्।

फट्का कारोबारका लागि नेपाल आउने अन्तर्राष्ट्रिय बुकीले काठमाडौंलाई अखडा बनाएर दक्षिणएसियाकै कारोबार यहींबाट सञ्चालन गर्ने गरेको स्रोतले बतायो। भारतीय प्रहरीले फट्कामा कडाइ गर्न थालेपछि यसपटकको आईपीएलमा ठूलो कारोबार नेपालबाटै भएको हो। आईपीएलमा नेपाली जुवाडेले ४६ करोड रुपैयाँ हारेको स्रोतले बतायो। स्रोतले भन्यो, ‘दरबारमार्ग, न्युरोड र ठूला होटेल तथा रेस्टुरेन्टमा अहिले पनि बुकी र जुवाडेका संवाद सुन्न सकिन्छ।’

फितलो अप्रेसन

प्रहरीले फट्काको अवैध कारोबारमा विगतमा गरेको छानबिन र अप्रेसन फितलो देखिएको छ। पहिलोपटक २०६४ सालमा होटेल सोल्टीबाट फट्काका अवैध कारोबारी पक्राउ परेका थिए। २०६३ जेठदेखि २०६४ साउनसम्म काठमाडौंका प्रहरी प्रमुख रहेका ढकबहादुर कार्कीले पक्राउ परेका कारोबारीलाई कारबाही गर्ने कानुनी आधार नभएको भन्दै सामान्य कागज गरेर छाडिदिएका थिए। उनीमाथि सरुवा हुने समयमा फट्का कारोबारीसँग मोटो रकम लिएर छाडेको आरोप लागेको छ।

२०६९ वैशाखमा प्रहरीले विराटनगरबाट फट्काको कारोबार गरिरहेको अवस्थामा अंशु जैन, कविता जैन र जेपी नारायणलाई पक्राउ गरेर राजस्व अनुसन्धान विभागमा बुझाएको थियो। त्यही वर्ष फागुनमा विराटनगरबाटै एक समूहलाई पक्राउ गरिए पनि त्यो गुपचुपमै राखियो।

त्यतिबेला फट्का कारोबारीका रूपमा चिनिएका विराटनगरकै कमलेश अग्रवाल, चुन्नु राठी, लोकमान लोहिया, अनिल वाहेती, अशोक दाँते र मुन्ना नाम गरेका व्यक्ति लाई भने प्रहरीले पर्याप्त सूचना हुँदाहुँदै पनि कारबाही नगरेको आरोप लागेको थियो।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.