सरुवा-बढुवामा बद्नामकै दबदबा

Posted: July 23, 2013 in By Deepak Kharel

केपी ढुंगाना

dee200a7397e19047c39101e47bbfaa7_L

राजधानीको नयाँ बजारक्षेत्रमा गोली हानेर भागेका दिनेश अधिकारी ‘चरी’ लाई पक्राउ गर्दा प्रहरी भ्यानमा राखेर मोलमोलाइ गरी मुक्त गरेको भन्दै संगठनको कारबाही भोगेका डिएसपी दयानिधि ज्ञवाली आइतबारबाट राजधानीको स्वयम्भू वृत्तप्रमुखमा खटाइए।

सोही प्रकरणमा मुछिएका अर्जुन चन्दले पनि महŒवपूर्ण काठमाडौं परिसरमा सरुवा पाए।
रानाकै निर्देशनमा भएको छड्केमा आर्थिक अनुशासन उल्लंघन गरेको पाइएपछि कारबाही सिफारिस गरिएका डिएसपी अनुराग द्विवेदीलाई उनैले आइतबारबाट रसुवाप्रमुखमा खटाए। यार्चागुम्बा लुटेको अभियोगमा ०६१ तिर निलम्बनमा परेका विमलराज कँडेल पनि रामेछापप्रमुख तोकिए।
निर्वाचन आचारसंहिता लागू हुने संघारको दिन शुक्रबार र आइतबार दुई दिनबीच गृह र प्रहरी प्रधान कार्यालयका अधिकारीले गरेको २ सय ७६ को सरुवा र १ सय २६ को बढुवामा यस्तै दागी प्रहरीकै हालीमुहाली देखियो।

जमिम साह हत्या योजना बोकेर नेपाल आएका भारतीय नागरिक त्रिलोक सिंहसँग सम्बन्ध देखिएका गणेश चन्दलाई सोह्रखुट्टे वृत्तको प्रमुख तोक्ने फाइलमा प्रहरीप्रमुख कुवेरसिंह रानाले नै आइतबार हस्ताक्षर गरे। सरुवामा जस्तै बढुवामा पनि सक्षमभन्दा विवादितकै बोलवाला देखियो। सशस्त्र द्वन्द्वमा डिएसपी तुलसीप्रसाद अधिकारीको हातको औंला बमको छर्राले उडाए पनि मनोबल उडाउन सकेन। उनको त्यही साहसको कदर गर्दै संगठनले दुई ग्रेड थपिदियो।
पोखरामा हुँदा उत्कृष्ट काम गरेको भन्दै अहिलेका आइजिपी राना र तत्कालीन कास्की प्रमुख रमेश खरेलले रेकर्डमा जनिने गरी पुरस्कृत गरेका थिए उनलाई। संविधानसभा निर्वाचनमा उत्कृष्ट काम गरेको भन्दै आफ्नै संगठनले पुनः पुरस्कृत गरेको फेहरिस्त अधिकारीका लागि खोस्टासरह बन्यो।
किनकि, शुक्रबार संगठनले ११ जनाको बढुवा गर्दा ६ नम्बरमा रहेका उनी अटाएनन्। उत्कृष्ट काम गरेकोमा पुरस्कृत गर्ने उनै रानाले साथ नदिँदा उनी आफ्ना समकक्षीमाझ बढुवाका लागि लाइन मिलाउन नजान्ने ‘नालायक’ झँै देखिए। स्रोतका अनुसार आइजिपी रानाले बौद्ध वृत्तमा काम गर्दा कारबाहीमा परेकाले हुन्न’ भन्दै उनको नाम हटाएका थिए।
तर,उनै रानाले दुई दिनपछि आफ्नै संगठनको छड्केमा ५० हजार घूस लिएको प्रमाणसहित फेला पारी कारबाही भोगेका वामदेव गौतमको बढुवाको फाइल सदर गर्दै डिएसपीमा बढुवाको उपहार दिए।
समकक्षीहरु डिआइजीको प्रतिस्पर्धी भइसक्दा समेत ०४३ का ब्याजी विक्रम थापा र ०४६ का पुष्कर कार्कीले एसएसपीमा पनि बढुवा पाएनन्। संगठनको रेकडैमा यी दुईकै कुनै खत देखिन्न।
एसपी सरुवासमेत त्रुटिपूर्ण रहेन। जिम्मेवारी तोकिएको चार महिनामै अक्षम भन्दै केन्द्र तानिएका एसपीहरुले फेरि महŒवपूर्ण जिल्ला पाए।
समानुपातिक क्षेत्र वितरणमा समेत गृहप्रशासन र प्रहरी संगठन चुक्यो। कोही दुर्गमवाट दुर्गममै अड्किए, कोही सुगमवाट सुगममै पुगे। कार्यालय प्रमुखवाट सहयोगीमा सरुवाको नीति पनि सोझाका हकमा मात्रै लागु भयो।
महानगरीय प्रहरी परिसर, काठमाडौंमा रहेका चन्द्र कुवेर खापुङलाई एक किलोमिटर दूरीमा रहेको दरबारमार्ग वृत्त प्रमुख पाए। रेवती ढकालले प्रनिको रुपमा बसेको बानेश्वर वृत्त प्रमुख पाए।
बालाजु वृत्तको प्रमुखबाट विमानस्थल पुगेका कृष्णबहादुर पल्लीमगर म्यादीप्रमुखमा सरुवा भए। सिंहदरबारमा रहँदा तीन महिनाअघि डिएसपी भएका वीरबहादुर बुढा अर्काे आकर्षक थानकोट प्रभाग पुगे।
आयुक्त कार्यालयवाट बानेश्वर बृत्त पुगेका डिएसपी भिम ढकाल आयुक्त कार्यालयमै फर्किए। गोरखाका प्रमुख प्रभु ढकाल महाराजगञ्ज बृत्तमा ल्याईए।
बढुवाको आधार वरिष्ठतामात्रै बनाउँदा सक्षमपछि परेको भन्दै गृह मन्त्रालयले बनाएको प्रहरीको बढुवासम्बन्धी सामान्य सिद्धान्तमा कार्यसम्पादनलाई वरिष्ठताभन्दा दोब्बर नम्बर राख्दै ४० पुर्याइएको छ। एक सय २६ जनाको बढुवामा भने वरिष्ठता वा कार्यसम्पादन जे हेर्दा आफूअनुकूल हुन्छ, त्यही आधारमा निर्णय गरिएको देखिन्छ।
रानाप्रति सकारात्मक संगठनका सदस्यसमेत शुक्रबार र आइतबारको यस्तो निर्णयपछि चकित देखिए। राजनीतिप्रेरित सरकारलाई समेत उछिन्दै गरिएको सरुवा–बढुवाबाट गैरराजनीतिक सरकारका गृहमन्त्री माधव घिमिरे र गृहप्रशासन बुझेका भनिएका सचिव नवीन घिमिरेसमेत आलोचनाको घेरामा तानिएका छन्।
‘सरुवा–बढुवा संगठनप्रमुखको स्पिरिटअनुसारको छैन, यति धेरै त चुक्नु नपर्ने हो,’ एक प्रहरी अधिकारीले भने, ‘एक्कासि उहाँलाई के भयो, बुझ्नै सकिएन।’
अडिएनन् राना
‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, कार्यक्षमताका आधारमा दण्ड र पुरस्कार’ प्रहरीप्रमुख भएपछि रानाले सार्वजनिक मञ्चमा नछुटाउने शब्द बनेका थिए, तर निर्वाचनको संघारमा उनले हस्ताक्षर गरेका सरुवा–बढुवा सूचीले उनलाई ‘भन्ने एउटा, गर्ने अर्कै’ रुपमा उभ्याएको छ। कार्यकालको अन्तिम तीन महिनातिर चुक्दा उनले १० महिना धानेका सकारात्मक पाटासमेत ओझेलमा पर्ने देखिएको छ।
ऐन–नियमले तोकेको अधिकार जिम्मेवारीअनुसार बहन नहुँदा आइजिपी राना संगठनप्रमुखको रुपमा बढी आलोचित बने। विभेदपूर्ण निर्णयमा रानासँगै गृहमन्त्री घिमिरे, गृहसचिव घिमिरेलगायत प्रहरी प्रशासन हेर्ने मन्त्रालयका अधिकारीसमेत आलोचित छन्।
निवर्तमान आइजिपी रविन्द्रप्रताप शाहको अनुभवमा प्रहरी प्रमुखले आफ्नो स्वार्थ हेरेन भने धेरै राम्रा काम गर्न सक्छन्। अहिले सरकार गैरराजनीतिक चरित्रको भएकाले अघिल्ला आइजिपीलाई भन्दा वर्तमान काम गर्न बढी स्वतन्त्र हुनुपर्ने उनको आँकलन छ।
प्रहरीप्रमुख अडिग रहने हो भने ऐननियमले दिएको अधिकारअनुसारका निर्णय कसैले बदल्न नसक्ने बताउँदै शाहले भने, ‘अहिलेको अवस्थामा पनि आइजिपी स्वतन्त्र नभए कहिले हुने?’
हरेक निर्णयमा व्यक्तिगत र राजनीतिक स्वार्थ राख्ने पूर्वगृहमन्त्री विजयकुमार गच्छदारलाई सहजै झेलेका राना समकक्षी घिमिरेबाट सकारात्मक सहयोग हुने धेरैको आँकलन थियो। प्रारम्भिक दिनमा आँकलन सत्यनिकट भए पनि पछिल्लो समय भने गृहमन्त्री र सचिव घिमिरे हावी भएका थिए।
स्रोतका अनुसार पछिल्लो समय व्यक्तिगत काममा चितवन पुगेका गृहमन्त्री घिमिरेले केही वरिष्ठ प्रहरी अधिकारीलाई चितवनमै बोलाएर भेटेका थिए। रानाको कार्यशैलीप्रति रुष्ट रहेका केही अधिकारीले उनलाई रानाको सिफारिसमा हस्तक्षेप गर्न उक्साएको विश्वस्तस्रोतले बतायो।
सेवाअवधिका कारण कात्तिक अन्तिममा आइजिपी रानासहित अहिलेका एआइजीहरुले अवकास पाउँदैछन्। चुनावको मुखैमा अवकासको समय परेकाले सरकारले विशेष निर्णय गरेर पदावधि बढाउने आशामा राना रहेको उनी निकट स्रोतले बतायो।
स्रोतका अनुसार सेवाअवधि ३० बाट बढाएर ३२ पुर्याउने रणनीति सफल नहुने पक्कापक्की भएपछि सेवाअवधिको प्रावधान जे भए पनि आइजिपीमा नियुक्त भएको निश्चित अवधिसम्म पदमै कायम रहने प्रावधानमा ल्याउन गृहकार्य भए पनि त्यसले समेत ठोस आकार लिन सकेको छैन।
जानकार स्रोतअनुसार पदावधि बढाउन गृह नेतृत्वसँगै सरकार बाहिरका दलका प्रभावशाली नेताको समेत सकारात्मक भूमिका आवश्यक भएकाले रानाले आफ्नो कार्यशैलीलाई पछिल्लो समय गृह नेतृत्व र नेताअनुकूल बनाएका थिए। प्रहरीका केही वरिष्ठ अधिकारी पछिल्लो सरुवा–बढुवाको परिमाण राजनीतिमुखी हुनुपछाडिको कारण सोही स्वार्थ रहेको आँकलन गर्छन्।

दुई दिनको सरुवा–बढुवा
सरुवा
९९ प्रहरी निरीक्षक
१०३ डिएसपी
५६ एसपी
१८ एसएसपी
२७६ जना
बढुवा–
५९ प्रनानि
४७ प्रहरी निरीक्षक
११ डिएसपी
९ एसपी
जम्मा १२६

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.