जेलमा चौकीदार र नाइके चयनको चलखेल

Posted: July 21, 2013 in By Deepak Kharel

दीपक खरेल

1493684690

कारागारको आन्तरिक प्रशासनमा महत्त्वपूर्ण मानिने चौकीदार, नाइके र सहनाइके छनोटमा व्यापक चलखेल देखिएको छ।
आर्थिक वर्ष सकिएपछि हरेक कारागारमा चौकीदार र नाइके नियुक्त हुन्छन्। जेलको आन्तरिक व्यवस्थापन तथा बजेटमा उनीहरूको भूमिका र पहुँच रहने भएकाले यसमा नियुक्ति पाउन ठूलै चलखेल हुन्छ।

असार मसान्‍तमै तोकिने चलन भए पनि चलखेलकै कारण अहिलेसम्म मुख्य कारगारमा चौकीदार तथा नाइके नियुक्त भएका छैनन्। वैशाखदेखि नै यसमा चलखेल सुरु भएको स्रोतले बतायो। कारागार व्यवस्थापनले उपलब्ध गराउने सेवासुविधा, सजाय छुट, अन्य आर्थिक लाभका कारण यसमा नियुक्ति पाउन कैदीबीच हानथाप चल्छ भने शक्ति र पैसाको पनि प्रयोग हुन्छ। स्रोतका अनुसार राजनीतिक दलका नेता, सुरक्षा निकायका अधिकारी तथा उच्‍च प्रशासकले पनि यसमा चासो राख्‍ने गरेका छन्।

चौकीदार, नाइके र सहनाइके छनोट तथा नियुक्ति व्यवस्थित गर्न बनेको कारागार व्यवस्थापन कार्यविधिअनुसार नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन।
काठमाडौंका तीनवटा कारागारमा पनि चौकीदार र नाइके छनोट हुन सकेका छैनन्। चौकीदार, नाइके र सहनाइकेको नियुक्ति सामान्यतया एक वर्षका लागि हुन्छ।
गत माघ ५ गते मन्त्रीस्तरीय निर्णयले कारागारमा चौकीदारसहितको नियुक्तिको मापदण्ड स्वीकृत गरेको थियो। चौकीदार र नाइके आफूखुसी नियुक्ति गरेर चलखेल गर्दै आएका जेल प्रशासकले यसपटक नियुक्ति गर्न व्यावहारिक कठिनाइ भएको भन्दै विभागका महानिर्देशकलाई मौखिक जानकारी गराएका छन्।

५० वर्ष उमेर नाघेको, जघन्य अपराधमा सजाय नपाएको, ५० प्रतिशत सजाय भुक्तान गरिसकेको र दुई वर्षदेखि निरन्तर सोही कारागारमा रहेको व्यक्तिलाई चौकीदार, नाइके र सहनाइके नियुक्ति गर्नुपर्ने मापदण्ड छ। कारागार प्रशासकले आफू निकट र अनुकूलका कैदीलाई चौकीदार, नाइके र सहनाइके बनाउने कसरत गरेपछि यसमा गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागका महानिर्देशकले पनि चासो देखाएका छन्।

‘एकपटक चौकीदार भएका व्यक्तिको कारागारभित्र बेग्लै शान, पहुँच र प्रभाव हुन्छ। त्यसैले पनि चौकीदार, नाइके र सहनाइके बन्न कैदीहरू मरिहत्ते गर्छन्’, स्रोतले भन्यो। स्रोतका अनुसार चौकीदारले एक कार्यकालमा न्यूनतम पाँचदेखि ५० लाखसम्म आम्दानी गर्छ। कारागारभित्रकै आम्दानी कारागार प्रशासन, सुरक्षाका लागि खटिने प्रहरी र विभागसम्म पुग्‍ने गरेको छ। ‘चौकीदारसँग कुरा नमिले त बाथरुमसम्म पाइँदैन, बाँच्‍नकै लागि पनि उसले भनेअनुसार गर्नुपर्छ’, केन्द्रीय कारागारका एक कैदीले भने।

विभागका महानिर्देशक शम्भु कोइराला यसमा मौन रहे पनि उनीमार्फत दबाब भने आइरहेको स्रोतले बतायो। बारम्बार प्रयास गर्दा पनि कोइराला भने सम्पर्कमा आउन चाहेनन्। कैदीबन्दीको लगत आधार मानेर चौकीदार, नाइके र सहनाइके नियुक्ति गर्ने व्यवस्था छ। केन्द्रीय कारागारमा तीनजना चौकीदार, तीन सय ५० जना नाइके र सहनाइकेको नियुक्ति प्रक्रिया अगाडि बढाइएको कारागारका प्रमुख जेलर केशवप्रसाद शर्माले बताए।

नख्खु कारगारमा एक चौकीदारसहित ७२ जना नाइके र सहनाइके हुन्छन्। उक्‍त कारागारका प्रमुख जेलर लक्ष्मी रेग्मीले डाँका मुद्दाका कैदी मनोज लामालाई चौकीदार नियुक्त गरेका छन्। नाइके र सहनाइकेमा पुरानै टिमको म्याद थप गर्ने तयारी छ। ‘डाँका मुद्दाका लामा चौकीदार नियुक्त भए, अरूको म्याद थपिन्छ’, रेग्मीले भने।
डिल्लीबजारस्थित सदरखोरका लागि दुईजना चौकीदारसहित ९३ जना नाइके-सहनाइके नियुक्त हुन्छन्। कारागार प्रमुख सन्तोष घिमिरेले निर्देशिकाअनुसार नियुक्त गर्न अप्ठ्यारो भएको बताए।

निर्देशिकाअनुसार चौकीदारलाई एक वर्षको दुई महिना बराबर सजाय छुट हुन्छ। नाइकेले एक वर्षको एक महिना १५ दिन र सहनाइकेले एक वर्षको एक महिना सजाय छुट पाउँछन्। जेलरसँगको निकटताका आधारमा चौकीदारले कारागारबाहिर हिँडडुल गर्नेलगायतका अन्य छुट पनि पाउँछन्। छोटो समयका लागि आउने भीआईपी बन्दीलाई सुविधा उपलब्ध गराएबापत पाउने नजराना पनि पदको मुख्य आकर्षण हो।

केन्द्रीय कारगारका प्रमुख जेलर केशवप्रसाद शर्माले भने, ‘क्षमताभन्दा दोब्बर कैदीबन्दी छन्, भोलि केही भए आरोप थोपरिन्छ, कारागार व्यवस्थित रूपमा चलाउनुपर्‍यो, चलखेलको त कुरै भएन। निर्देशिकाका कारण नियुक्तिमा कठिन भएको छ।’

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.