भूमिका मृत्यु प्रकरण अर्कै मोडमा

Posted: July 18, 2013 in By Deepak Kharel
Tags: , , , ,

दीपक खरेल

Akaash

Anil Jatia

Bhoomika Picture 1 (1)

Neeta Jatia

व्यावसायिक घरानाकी बुहारी भूमिका जटियाको मृत्युप्रकरण जटिल बन्दै गएको छ। भूमिकाका बाबु चन्द्रमोहन कोचरले घटना आत्महत्या नभई हत्या हुनसक्ने आशंका व्यक्त गर्दै महानगरीय प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएपछि घटनाले अर्कै मोड लिएको छ। पहिले द्विपक्षीय सल्लाह र सहमतिमा शव बुझेर अमेरिका पुगेका चन्द्रमोहनले घटनाको १५ दिनपछि प्रहरीमा भूमिकाका ससुरा अनिल जाटिया, सासू नीता जाटिया र पति आकाश जाटियाविरुद्ध किटानी जाहेरी दिएका हुन्।

चन्द्रमोहनले असार १३ गते इमेलमार्फत जाहेरी पठाएका थिए। त्यसलगत्तै प्रहरी वृत्त महाराजगन्जमा चन्द्रमोहनका नाममा लिखित जाहेरी दर्ता गरिएको थियो। ‘पहिलेको जाहेरी छँदैछ। त्यसैमा अहिलेको जाहेरी राखेर अनुसन्धान हुँदैछ’, वृत्तका प्रमुख जीवन श्रेष्ठले भने। कोचर परिवारले सामाजिक सञ्जाल फेसबुक र भूमिकाका नाममा वेबसाइट नै खोलेर उनको मृत्यु आत्महत्या हुन नसक्ने दाबी गरेको छ।

काठमाडौं चुनदेवीस्थित आफ्नै घरको बाथरुममा असार १ गते भूमिका पासो लगाएको र अचेत अवस्थामा भेटिएकी थिइन्। पति आकाश जाटिया र घरेलु कामदारले उनलाई शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याएका थिए। त्यसपछि उनलाई बल्खुस्थित बयोधा अस्पताल लगिएको थियो। बयोधा अस्पतालले भूमिकालाई मृत घोषणा गरेपछि मात्र कालीमाटी प्रहरीले घटनाको जानकारी पाएको थियो।

अमेरिकी नागरिक भूमिकाको मृत्यु प्रकरणबारे छानबिन गर्न महानगरीय प्रहरी परिसर हनुमानढोकाका वरिष्ठ उपरीक्षक (एसएसपी) सुबोध घिमिरे र अपराध महाशाखाका वरिष्ठ उपरीक्षक विजयलाल कायस्थ घटनास्थल चुनदेवी पुगेका थिए। भूमिकाले पति घरबाहिर गएको अवस्थामा बाथरुममा घाँटीमा पासो लगाएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक भनाइ थियो। प्रहरीले तयार गरेको घटनास्थलको मुचुल्काअनुसार तीनवटा ढोका फोडेर भूमिकाको शव निकालिएको थियो। फुटाइएका ढोका भित्रबाट बन्द थिए। प्रहरीका अनुसार भूमिकाको शरीरमा कुनै चोटपटकको निशाना देखिएको थिएन।

आकाशले आफू फूल किन्न बाहिर गएको समयमा भूमिकाले आत्महत्या गरेको बयान प्रहरीमा दिएका छन्। घटनाको समयमा आफू भैरहवा र पत्नी नीता जाटिया भारतमा रहेको बयान भूमिकाका ससुरा अनिलले दिएका छन्। घटनाको दिन घरमा आकाश, भूमिका र घरेलु कामदार मात्र थिए। दुवै परिवारको सहमतिमा भूमिकाको पोस्टमार्टम शिक्षण अस्पताल महाराजगन्जमा गरिएको थियो। पोस्टमार्टम रिपोर्टमा भूमिकाको मृत्युको कारण झुन्डिएर भएको उल्लेख छ। पोस्टमार्टममा शिक्षण अस्पतालका चिकित्सक प्रमोद श्रेष्ठको समूहले गरेको हो। कोचर परिवारको आग्रहमा पोस्टमार्टममा नर्भिक अस्पतालका चिकित्सक चिराग गुरुङ पनि सामेल थिए।

अमेरिकाको बोस्टनमा सँगै अध्ययन गरेका आकाश र भूमिकाले आपसमा मन पराएर पारिवारिक सहमतिमा सन् २०११ मा विवाह गरेका हुन्। ‘आखिर उनलाई केही नपुग्दो थिएन तर पनि उनले किन यो बाटो रोजिन्? यो प्रश्नको उत्तर प्रहरीले भेटेको छैन। परिवारलाई पनि यो प्रश्नले निकै पिरोलेको छ’, घटनाको अनुसन्धान गरिरहेको अपराध महाशाखाका सहआयुक्त एसएसपी विजयलाल कायस्थले भने, ‘बाबु चन्द्रमोहनले भिसेरा परीक्षण गर्न नमुना लगेका छन्। हालसम्मको अनुसन्धानले घटना स्पष्ट आत्महत्या देखिन्छ।’

‘दुई पक्षबीच सहमतिमा सबै प्रक्रिया टुंगिसकेको अवस्थामा कोचर परिवारले एकाएक किन किटानी जाहेरी दियो, हामीले पनि बुझ्न सकेका छैनौं’, भूमिकाका ससुरा अनिलले भने, ‘हिन्दु परम्पराअनुसार शव लैजान नमिल्ने हुँदाहुँदै पनि माइतीमा पठाइयो। सबै ठीकठाक थियो। खै किन अहिले यस्तो गर्नुभयो, हामीलाई पनि अचम्म लागेको छ।’ अनिलले घटनाको अनुसन्धान भइरहेकाले आफू धेरै बोल्न नमिल्ने बताए।
आकाशले भने, ‘यो घटनाका बारेमा म केही बोल्नसक्ने अवस्थामा छैन।’

आत्महत्याको घटनामा दुई वर्षसम्म फाइल खुला राखेर अनुसन्धान गर्नसकिने प्रावधान छ। प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ। भारतको मुम्बईको जाटिया परिवार लामो समयदेखि नेपालमै बसेर व्यवसाय गर्दै आएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s