ग्राउन्डेड मर्मत भएनन्, नयाँ किन्‍‍न हतार

Posted: July 18, 2013 in By Deepak Kharel

गोविन्द परियार

nepal army helicopter

नेपाली सेनाले लामो समयदेखि ‘ग्राउन्डेड’ जहाज र हेलिकोप्टर मर्मतसम्भार नगरी थप दुई नयाँ हेलिकोप्टर खरिद गर्ने तयारी गरेको छ। सेनाले दुईवटा एमआई-१७ हेलिकोप्टर खरिद गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सेनाको हवाईअड्डामा बिग्रिएर थन्किएका जहाज र हेलिकोप्टर मर्मत गरेर प्रयोगमा ल्याउन भने पहल भएको छैन। ग्राउन्डेड जहाजमध्ये अधिकांश सामान्य मर्मतसम्भारपछि सञ्चालनमा आउन सक्ने अवस्थामा छन्।

हवाईसेवा महानिर्देशनालयका अनुसार सेनासँग अहिले दुई दर्जनजति जहाज र हेलिकोप्टर छन्। पाँचवटा दुर्घटनामा परेर क्षतिग्रस्त भएका छन्। ‘केही त आठनौ वर्ष राम्रोसँग चल्नसक्‍ने हालतका पनि छन्’, हवाईअड्डाबाट निवृत्त एक पूर्वसैनिक अधिकारीले भने।

सैनिक प्रवक्ता सहायक रथी सुरेश शर्माले भने ग्राउन्डेड जहाज मर्मत गरेर चलाउँदा पनि अपुग हुने भएकाले नयाँ किन्न लागिएको बताए। उनले भने, ‘भीभीआईपी सुरक्षा, दैवीप्रकोपलगायतका कामका लागि सेनालाई हेलिकोप्टर आवश्यक परेको हो।’ उनका अनुसार कतिपय बिमा सकिएर ग्राउन्डेड भएका हुन् भने कतिपयका पार्टस् विदेशबाट झिकाउनुपर्ने भएकाले चलाउन सकिएको छैन। ‘हामी प्रक्रिया पुर्‍याएर छिट्टै मर्मत गर्ने तयारीमा छौं’, शर्माले भने।

सेनाले ग्राउन्डेड जहाज तथा हेलिकोप्टर मर्मतसम्भारका लागि ८० करोड अलग्गै बजेट मागेको थियो। आर्थिक नियमावलीको बाध्यात्मक व्यवस्थाका कारण बजेट उपलब्ध हुन नसक्दा मर्मतसम्भारमा ढिलाइ भएको सेनाको तर्क छ। आर्थिक नियमावलीमा खरिद मूल्यको ३० प्रतिशतभन्दा बढी रकम मर्मतसम्भारका लागि खर्च गर्न नसकिने व्यवस्था छ।

‘पाँचदस वर्षअघि किनेको जहाजको मूल्यमा अहिले पार्टस् पनि आउँदैन’, सेनाका एक उच्च अधिकृतले भने, ‘आर्थिक एेनको सीमाअनुसार ३० प्रतिशतभन्दा बढी रकम खर्च गरेर मर्मत गर्न नसकिने भएकाले धेरै जहाज ग्राउन्डेड भएका हुन्।’ सेनाले युद्धसँग सम्बन्धित गोलीगठ्ठा, जहाज, हतियारलगायतका सामान खरिद गर्दा सार्वजनिक खरिद ऐन लागू नहुने कानुनी प्रावधान छ।

सेनाले एमआई-१७ मोडेलका दुईवटा हेलिकोप्टर खरिदका लागि रुसी कम्पनीसँग छलफल थालेको छ। झन्डै तीन अर्ब रुपैयाँ पर्ने ती हेलिकोप्टर खरिद गर्न जंगीअड्डाले रुसी एजेन्टलाई नेपालमै बोलाएर एक चरणको वार्ता गरिसकेको छ।

सेनासँग अहिले एउटामात्रै एमआई-१७ हेलिकोप्टर चालू अवस्थामा छ। अर्को एमआई-१७ दुर्घटनामा परेर ग्राउन्डेड छ। हाल सेनासँग भीभीआईपी उडानका लागि एउटा सुपर पुमा, एउटा एमआई-१६, एउटा स्काई ट्रक, एउटा बेल हेलिकोप्टर र तीनवटा एलुबेट छन्।

विशिष्ट र अतिविशिष्ट व्यक्तिको भ्रमण, सैनिक उच्च अधिकृतहरूको भ्रमण, दुर्घटना तथा दैवीप्रकोप उद्धार, सैनिक अपरेसन र दुर्गम जिल्लामा खाद्यान्न ढुवानीका लागि सेनाका हेलिकोप्टर तथा जहाज प्रयोग हुँदै आएका छन्। सरकारी प्रयोजनका लागि हुने उडानमा सेनाले इन्धनखर्च मात्रै लिने गरेको छ।

ग्राउन्डेड जहाज तथा हेलिकोप्टर मर्मत गरेर चलाउने हो भने नयाँ जहाज खरिद गर्नुनपर्ने एक उच्च सैनिक अधिकृतले बताए। ‘दुईवटा नयाँ हेलिकोप्टर किन्ने पैसाले सबै जहाज मर्मत गर्न सकिन्छ’, ती अधिकृतले भने, ‘तर मर्मत गर्नेतिर जंगीअड्डाको ध्यान छैन, जसरी हुन्छ छिटो किन्न कसरत गरेको देखिन्छ।’

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.