यौनकाण्ड लुकाउन सडक बालकको हत्या

Posted: July 15, 2013 in By Deepak Kharel

किशोर बुढाथोकी

यौनकाण्ड पर्दाफास हुने डरले मोरङको उर्लाबारीमा एक सडक बालकको हत्या भएको खुलासा भएको छ। यौन क्रियाकलापमा संलग्‍न रिक्साचालकले १२ वर्षीय दीपक विकको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।

हत्या गरेर फ्याँकिएको अवस्थामा दीपकको शव गत शुक्रबार फेला परेको थियो। ढुंगाले हानेर हत्या गरेपछि दीपकको शव उर्लाबारी-४ का जीवन न्यौपानेको घरको पुरानो शौचालयको रिङभित्र छिराएर ढुंगाले किचेर राखेको अवस्थामा फेला परेको थियो।

अन्य सडक बालकसँगै सुतेकी एक सडक बालिकासँग झापा दमक घर भएका रिक्साचालक २५ वर्षीय दुर्गे सतारले बिहीबार राति यौनसम्पर्क राखेको दीपकले थाहा पाएका थिए। यो कुरा बाहिर आउने डरले दीपकको हत्या भएको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक खगेन्द्र खड्काले बताए।

रिक्साचालकले पैसा दिएर सडक बालिकासँग यौनसम्पर्क राखेको थाहा पाएपछि दीपकले आफूलाई पनि पैसा दिनुपर्ने नभए प्रहरीलाई खबर गरिदिने धम्की दिएपछि अन्य सडक बालबालिकाको सहयोग लिएर दुर्गेले दीपकको हत्या गरेको खुलेको खड्काले जानकारी दिए। दुर्गेले यौनसम्पर्क राखिसकेपछि सडक बालिकालाई पाँच सय रुपैयाँ दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

‘अहिलेसम्मको अनुसन्धानले यौनकाण्ड पर्दाफास गराउने डरले सडक बालकको हत्या भएको देखिन्छ’, खड्काले भने। उर्लाबारीमा सडक बालककै रूपमा रहेका झापा लखनपुरका १२ वर्षीय विशाल मगर घटनाका प्रत्यक्षदर्शी हुन्। उनलाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारीअनुसार यौनकाण्डलाई लुकाउनका लागि नै दीपकको हत्या भएको हो। ‘यौनसम्पर्क गरेको कुरा प्रहरीलाई भनिदिने भनेर प्रहरी कार्यालयतर्फ कुदेका दीपकलाई तीनजनाले समातेर ढुंगाले टाउकोमा हिर्काएपछि उनी लडेको विशालले प्रहरीसँगको बयानमा बताएका छन्। उनले भनेका छन्, ‘त्यसपछि दीपक बोल्‍न सकेन। त्यहाँबाट उसलाई अन्‍तै लगियो।’

रिक्साचालक दुर्गेसँग यौनसम्पर्कमा संलग्‍न बालिका र हत्याका सहयोगी विवेक विकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। दुर्गे फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रनि खड्काकाअनुसार पक्राउ परेकी बालिकाले पनि यौनकाण्ड पर्दाफास हुने डरका कारणले नै दीपकको हत्या भएको बयान प्रहरीसमक्ष दिएकी छन्। ‘पैसा नदिए सबै कुरा प्रहरीलाई भनिदिने दीपकले धम्की दियो’, बालिकाको भनाइ उद्धृत गर्दै खड्काले भने, ‘प्रहरीले पक्राउ गरेर लैजाने डरले दुर्गेको योजनामा दीपकको हत्या भयो।’

बलात्कारपीडित परिवारलाई मिलापत्रको दबाब

मोरङ लेटाङ गाविस-२ मा बलात्कारमा परेकी बौद्धिक अपांगता भएकी एक दलित बालिकाका परिवार पीडकलाई उन्मुक्ति दिन आएको स्थानीयस्तरको दबाब थेग्‍न नसक्दा अधिकारकर्मीको शरणमा आइपुगेका छन्।

स्थानीयस्तरका राजनीतिक दलका नेता र भद्रभलाद्‍मीसमेतले मिलापत्रका लागि पटकपटक दिएको दबाब उनीहरूले थेग्‍न सकेनन्। यस्तो अवस्था आइपरेपछि गाउँमा बस्‍न नसक्ने अवस्था आएपछि पीडित १३ वर्षीया बालिकाको परिवार विराटनगर आइपुगेको हो। पीडकलाई कारबाही हुनुपर्ने माग गर्दा पैसा दिएर घटना मिलाउनुपर्छ भन्दै उनीहरूले दबाब दिन थालेपछि पीडित परिवार अधिकारकर्मीलाई गुहार्न बाध्य भएको लेटाङस्थित स्थानीय सामाजिक कार्यकर्ता शान्ति पाख्रिनले बताइन्। उनका अनुसार मिलापत्र गरेर घटना गाउँमै मिलाउन पीडकमैत्री दबाब र धम्कीसमेत आएका कारण पीडित परिवार थप समस्यामा परेको छ।

पाख्रिनकै सहयोगमा विराटनगर आइपुगेको पीडित परिवारले विभिन्न संघसंस्थामा कार्यरत एक दर्जन बढी मानवअधिकारकर्मीलाई भेटेर सहयोग गर्न र पीडकलाई कारबाहीका लागि पहल गर्न आग्रह गरेको छ। पीडित बालिकालाई विराटनगरस्थित एक गैरसरकारी संस्थाको संरक्षणमा राखेर उपचारका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा भर्ना गरिएको छ।

बलात्कारमा परेकी ती बालिकाको पाठेघरमा घाउ देखिएको छ भने पेट दुख्नेलगायतका समस्या रहेका कारणले उपचार गराउन अस्पताल भर्ना गरिएको ओरेक नेपाल तथा महिला हिंसाविरुद्ध अभियानकी सुपरभाइजर गोमा दाहालले जानकारी दिइन्। उनका अनुसार बालिका बलात्कारमा परेको चिकित्सकले पुष्टि गरिसकेका छन्।विराटनगर आइपुग्दासमेत पीडकलाई कारबाही नगर्न दबाब दिन छाडेका छैनन्। पैसाको प्रलोभन देखाउँदै धेरै दबाब र धम्की आउने गरेको सिबिन नेपालका सामाजिक कार्यकर्ता प्रकाश पौडेलले बताए। ‘अपांगता भएकी बालिकामाथि भएको यौन शोषणबाट परिवार पीडित छ’, पौडेलले भने।

गत असार १ गतेबाट दुई वृद्धद्वारा पटकपटक बलात्कारमा परेकी ती बालिका सुस्त मनस्थितिकी छन्। पीडितका परिवारले उजुरी दिएपछि बलात्कारमा संलग्न लेटाङ-६ का ७७ वर्षीय टेकबहादुर श्रेष्ठ र लेटाङ-२ का ६० वर्षीय जीवन श्रेष्ठलाई प्रहरीले गत असार २० गते पक्राउ गरिसकेको छ। उनीहरूले बालिकालाई चकलेट र पैसा दिएर बलात्कार गर्ने गरेको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धानलाई नै बिथोल्ने गरी दबाब आइरहेको एक प्रहरी अधिकृतले बताए। दबाब दिनेले फोनमा र भेटेरै अनुसन्धानमा संलग्‍न प्रहरीलाई मिसिल फितलो बनाएर मुद्दालाई कमजोर रूपमा प्रस्तुत गर्दै पीडकको पक्षमा काम गर्न दबाब दिइरहेका छन्। पक्राउ परेका दुवैजनालाई प्रहरीले म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी दीपक पोखरेलले बलात्कारजस्तो संवेदनशील घटनाका दोषीलाई कारबाही गराउन प्रहरीले दर्बिलो अनुसन्धान गरिरहेको बताए। ‘धेरै घटनाका दोषीलाई छुटाउन दबाब आउँछन्’, उनले भने, ‘तर दबाबको वास्ता नगरीकन प्रहरीले आफ्नो कर्तव्य निर्वाह गर्छ।’

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.