अमेरिकामा ८ नेपाली विद्यार्थी पक्राउ

Posted: July 8, 2013 in By Deepak Kharel
Tags: , , ,

रूपेश आचार्य

जालसाजी गरी आश्रित (डिपेन्डेन्ट) लाई अमेरिका पुर्‍याएको अभियोगमा केन्सास राज्यमा आठजना नेपाली विद्यार्थी पक्राउ परेका छन्। पक्राउ पर्ने सबै म्यानहटनस्थित केन्सास स्टेट युनिभर्सिटीका विद्यावारिधि (पीएचडी) का विद्यार्थी हुन्।
राज्यका न्यायाधिवक्ता ब्यारी ग्रिसमले विद्यावारिधि गरिरहेका नौजना नेपाली विद्यार्थीमाथि पाँच वर्षअघि आश्रितलाई अमेरिकी भिसा दिलाउन जालसाजी गरेको अभियोग लगाएका छन्। त्यसमध्ये एकजना भने दुई वर्षअघि नै नेपाल आइसकेका छन्। पक्राउ पर्नेमा ३३ वर्षीय महेन्द्र थापा, ४१ वर्षीय खेम आचार्य, ३७ वर्षीय राजकुमार दानी, ४१ वर्षीय लीलाबल्लभ पाण्डे, ३७ वर्षीय लक्ष्मण पोखरेल, ३८ वर्षीय केशर प्रसाईं ३२ वर्षीय गोविन्द पनेरू र ४३ वर्षीय नारायण चापागाईं छन्। अभियोग लगाइएका ३७ वर्षीय सन्तोष घिमिरेले भने अमेरिका छाडिसकेका छन्।

राज्यको न्यायाधिवक्ता कार्यालयबाट मंगलबार जारी अभियोगपत्रअनुसार सन् २००८ मा ती विद्यार्थीले आफ्नो आर्थिक हैसियतसम्बन्धी दस्तावेज तयार गर्दा जालसाजी गरेका थिए। ‘उनीहरूले आफ्ना सहपाठीसँगै रकम लिएर खातामा जम्मा गरे र बैंक खातामा रहेको रकम आफ्नै दाबी गर्दै त्यसैका आधारमा कागजपत्र निकाले’, अभियोगपत्रमा भनिएको छ, ‘भिसा पाएपछि उनीहरूले त्यो पैसा सहपाठीलाई फिर्ता गरे।’अभियोग प्रमाणित भएमा हरेक विद्यार्थीले फेडेरल जेलमा कम्तीमा १० वर्ष कारावास र दुई लाख ५० हजार अमेरिकी डलरसम्म जरिबाना तिर्नुपर्ने हुनसक्छ।

विद्यार्थीका आफन्तले भने उक्त कारबाहीप्रति दु:ख व्यक्त गरेका छन्। ‘पाँच वर्षअघि कलेज र अध्यागमनले सही ठह:याएर भिसा दिएको विषयमा अहिले कारबाही गर्नु दु:ख दिने नियत देखिन्छ’, पक्राउ परेका खेम आचार्यकी पत्नी सत्याले अन्नपूर्ण पोष्टसँग टेलिफोनमा भनिन्। खेम विश्वविद्यालयको रसायनशास्त्र विभागमा विद्यावारिधि गरिरहेका छन्।

सत्याका अनुसार खेम आफ्नो प्रयोगशालामा गएका बेला घरमा तीनजना प्रहरी आएर सोधखोज गरेका थिए। उनले प्रयोगशालामा भएको जानकारी गराएपछि प्रहरीले त्यहीं पुगेर पक्राउ गरेको थियो। प्रहरीले सोमबार खेमसहित चारजनालाई र बाँकीलाई मंगलबार पक्राउ गरेको थियो। अर्का विद्यार्थी अमर गोदारलाई पनि भिसा शंकास्पद भन्दै १५ दिनसम्म राज्यबाट बाहिर नजान र बोलाएको बेला आउन उर्दी जारी गरिएको सत्याले बताइन्।

खेमलाई दिइएको अभियोगपत्रमा उनका दुई सन्तान अमेरिका भित्र्याउँदा नक्कली आर्थिक कागजात पेस गरेको उल्लेख छ। सत्या भने विद्यार्थी भिसामै त्यहाँ पुगेकी हुन्। ‘प्रहरीले मेरो भिसाको स्थिति ठिकै भए पनि दुईजना बच्चाको भिसा अब काम नलाग्ने बताएका छन्’, सत्याले भनिन्, ‘मलाई एक महिनाभित्र बच्चा नेपाल छोडेर आउनुपर्ने अन्यथा बलपूर्वक पठाउने भन्दै कागज गर्न लगाए।’

नेपाली विद्यार्थीमाथि परेको यो संकट पन्छाउन विश्वविद्यालयले सहयोग गरिरहेको पनि सत्याले बताइन्। विश्वविद्यालयमा रसायनशास्त्र विभाग प्रमुख मार्टा र प्राध्यापक जाङको वेटले नेपाली विद्यार्थीलाई अध्यागमनविज्ञ कानुन व्यवसायी राखेर अघि बढ्न सुझाव दिएका छन्। अमेरिकाका लागि नेपाली राजदूत शंकर शर्माले भने अहिलेसम्म नेपाली विद्यार्थी पक्राउ परेको बारेमा आधिकारिक जानकारी नआएको बताए। दूतावासले यसबारे बुझ्न प्रयास गरिरहेको र आवश्यक परे सहयोग गर्ने पनि उनले बताए।
Detail @ http://annapost.com/mainnews/news238

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.