एकदिनमै उम्किए जयराज

Posted: June 12, 2013 in By Deepak Kharel

http://www.setopati.com
jayrajj

कतै प्रहरीले पक्रिहाले, तत्कालै देखाएर उन्मुक्ति पाउन सर्वोच्च अदालतबाट एउटा पत्र बनाएका रहेछन् जयराजले। मंगलबार दिनभर त्यँही पत्रले मोरङ जिल्ला अदालतलाई अनिर्णीत बनायो। जयराजलाई ११ बजे नै अदालत पुर्‍याइएको थियो। त्यो पत्रबारे सर्वोच्च अदालतमा सोधीखोजी गरियो। साढे ४ बजे बल्ल एउटा पत्र आयो।

तर सर्वोच्चले पठाएको त्यो पत्रमा जयराजको निवेदन उपर कुनै कारबाही भइनसकेको जवाफ थियो। ‘अभियुक्तले दिएको पुनरावलोकनको निवेदनमा पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भइनसकेको र पुनरावलोकन निवेदन विचाराधिन अवस्थामा रही अन्तिम टुंगो लागिनसकेको व्यहोरा जानकारी गराइन्छ,’ सर्वोच्चले पठाएको पत्रमा यस्तो लेखिएको थियो।

हेर्नुहोस पत्र जस्ताको तस्तै
sarbochha copy
तर पहिले जयराजले बोकेकै कागजलाई आधार मानेर मोरङ जिल्ला अदालतले उनलाई उन्मुक्ति दियो। सुबिधा पाएको कागज पेस गरेपछि लिम्बू एकै दिनबाट हिरासतमुक्त भए। उनलाई जिल्ला प्रहरी कार्यालयले सोमबार पक्राउ गरेको थियो। अदालती बन्दोबस्तीको १९४ को पुनरावलोकन सम्बन्धी देहायअनुसार जयराजलाई २०६९ असार ५ गते सर्वोच्च अदालतले जेलबाहिर बस्ने सुविधा दिएको भेटिएको हो। उक्त सुविधा दिई जयराजलाई जेलबाहिर बस्न ५१ हजार ७ सय ५० धरौटी असुल गरिएको देखिन्छ।

जिल्ला अदालतका रजिष्ट्रार भीष्म प्रसाईंले सर्वोच्चबाट दिइएको सुबिधा बमोजिम हाललाई थुनामा राख्न नमिल्ने देखिएकाले लिम्बूलाई छाडिएको बताए। ‘सर्वोच्च अदालतबाट भएको आदेशबमोजिम अहिललेलाई थुनामा राख्न नपर्ने देखिएकाले छाडिएको हो,’ प्रसाईंले भने। जयराजले पत्र देखाएपछि मोरङ अदालतले सर्वोच्चमा मंगलबार चिठ्ठी पठाइ आदेश मागेको थियो।

मोरङ बयरवन गाविस ६ का शेखर राईलाई २०५३ साल पुसमा तरबार प्रहार गरी ज्यान मार्न खोजेको अभियोगमा सर्वोच्च अदालतले २०६६ मा लिम्बूलाई पाँच वर्ष सजाय सुनाएको थियो। जयराज मुद्दा दर्ता भएदेखि फैसला भइ सजाय तोके पनि एकै दिन जेल बसेनन्। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारका स्वकीय सचिव लिम्बू राजनीतिक संरक्षणका कारण खुलेआम हिँड्थे। फरार अभियुक्त बनेर राजनीतिक गतिविधिमा सक्रिय हुन्थे, प्रहरी उनलाई पक्रिने हिम्मत गर्दैनथ्यो।

मुलुकी ऐन अदालती बन्दोबस्त १९४ को देहाय २ अनुसार बढीमा दस वर्ष कैद सजाय तोकेको अभियुक्त पुर्पक्षका लागि थुनामा नबझेको भए धरौट वा जमानीमा पुनरावलोकनको अन्तिम फैसला नभएसम्म जेलबाहिर बसेर मुद्दा लड्न पाउन सक्ने व्यवस्था छ। तर मुद्दाको प्रकृति हेरेर न्यायाधीशले यो सुविधा दिन्छन्। अधिवक्ताहरू गम्भीर प्रकृतिको अपराधमा यस्तो सुबिधा पाउने जयराजलाई ‘भाग्यभानी’ भन्छन्। यस्तो सुविधा माओवादी पूर्वसभासद् बालकृष्ण ढुंगेल र कांग्रेस नेता खुमबहादुर खड्काले पनि पाएका थिएनन्।

सम्बन्धित मुद्दाका कानुन व्यवसायी पुनरावलोकनको ‘निस्सा’ प्राप्त नभएको अवस्थाले फैसला कार्यान्वयनमा कुनै व्यवधान नहुने धारणा राख्छन्। ‘न्याय प्रशासन ऐन २०४८ को दफा ११ अनुसार दायर निवेदनमा सुनुवाई भइ निस्सा दिने/नदिने निर्णय अगावै निवेदकले धरौटी राखेको अवस्था हुँदै हुँदैन,’ पीडितको पक्षमा वकालत गरेका अधिवक्ता जगनप्रसाद फुयाँलले भने, ‘त्यस्ता निवेदन लामो अवधिसम्म निर्णयविहीन रहन सक्छन्।’

सर्वोच्च अदालत फैसला कार्यान्वयन महानिर्देशनालयले २०६९ चैत ६ गते लिम्बूलाई पक्राउ गर्न मोरङ प्रहरीलाई पत्राचार गरेको थियो। त्यो पत्र जेठ १३ गते प्रहरीले पाएको थियो। भट्टाचोकमा खानेपानी तथा सरसफाई सम्मेलनमा राजनीतिक पार्टीको तर्फबाट अतिथिको रूपमा भाषण गरेर निस्किनेवित्तिकै लिम्बूलाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो।

जयराजविरूद्व शेखरका बाबु धर्मानन्दले दिएको जाहेरीका आधारमा जिल्ला अदालत मोरङ र पुनरावेदन अदालतले कैदको फैसला सुनाएपछि त्यसविरुद्व उनी ‘फरार’कै रूपमा सर्वोच्च गएका थिए। जयराज राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट पूर्व सांसद रहेका शुक्रराज संयोग लिम्बुका छोरा हुन्। घटनाको १३ वर्षपछि अर्थात् २०६६ साल भदौ १ गते तपबहादुर मगर र गिरीशचन्द्र लालको संयुक्त इजालसले उनीसहित अभियुक्तहरू टंक पराजुली, राजु श्रेष्ठ र कम्पासे लिम्बूलाई जनही पाँच/पाँच वर्षको कैद सजाय फैसला सुनायो। त्यसयता ‘फरार’ सूचीमा जयराजको नाम प्रहरीले राखिरह्यो, तर सर्वोच्चबाट फैसला भए पनि चार वर्षसम्म उनी फरारै रहे।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.