प्रहरीपत्नी भाँडा माझ्ने जागिर खोज्दै

Posted: June 7, 2013 in By Deepak Kharel

अरुण बराल

पुरानो बानेश्वरमा एकजना बंगाली दिदीको होटल छ । तीन दिनअघि ती दिदीले एउटी प्रहरीपत्नीको दर्द सुनाउँदै भनिन्, ‘श्रीमान्ले मासिक १० हजार कमाउँछन् रे, दुई हजार बुटपालिस र चिया-सियामा खर्च गरेर ८ हजार श्रीमतीलाई इमानदारीपूर्वक दिँदा रहेछन् । ३ हजार कोठा भाडा, १ हजार बच्चाको फी, बाँकी चार हजारले एक महिनामा के खानु, लुगाफाटो केले किन्नु, फ्याट्ट बिरामी भइयो भने केले उपचार गर्नु ? छोराछोरीलाई राम्रो स्कुलमा कसरी पढाउनु ?’ दिदीले थपिन्, ‘२२/२३ वर्षकी विचरीलाई थाइराइड भएको रहेछ, उपचार गराउँ भने भात केले खानु ? कतै भाँडा माझ्ने वा लुगा धुने काम पाए गर्छु भन्दै थिइन् ।’
सरकारको फुली लगाएको नेपाल प्रहरीको परिवारमा यस्तो विडम्बना छ भने सरकारी जागिर नभएका वा अन्य बेरोजगार विपन्न परिवारको अवस्था नेपालमा कस्तो होला ? प्रहरीपत्नीले अर्काको घरमा भाँडा माझ्ने जागिर खोज्नुपर्ने देशमा किन भ्रष्टाचार नहोस् ।
प्रहरीको मात्रै होइन, सहरमा बसेर जागिर खाइरहेका तल्लो तहका कर्मचारी र सेनाका जवानहरूको पनि अवस्था यस्तै छ । कालोकोट ढल्काएर हिँड्ने विद्वान् अधिवक्ताहरूको मनोवैज्ञानिक दशा पनि यही हो । निजी बोर्डिङहरूमा भविष्यका कर्णधारहरूको जिम्मा लिने शिक्षक/शिक्षिकाको वर्तमान पनि यस्तै असन्तुलित छ । अझ निजी स्कुलका शिक्षक/शिक्षिकाको तलब प्रहरीको जति पनि हुँदैन । प्रत्येक वर्ष उनीहरूलाई जागिरबाट हटाइन्छ, पेसागत सुरक्षा पनि छैन । सानोतिनो व्यवसाय गरेर जीविकोपार्जन गर्नेहरूको जीवन पनि काठमाडौं वा अन्य सहरमा यस्तै छ । बोर्डिङ स्कुलका मालिकहरूलाई र घरमालिकहरूलाई पैसा तिर्दैमा उनीहरूको जुनी बितिरहेको छ । मजदुरको हालत झन् उस्तै छ । अरूको के कुरा गर्नु, दुनियाँको कुरा गरी हिँड्ने पत्रकारहरूको हालत झन् खराब छ । उद्योगपतिहरूले चलाएको टेलिभिजनका पत्रकारले तलब पाउन्नन् । क्रान्तिकारी भनिएका मालिकहरूले पनि पत्रकारलाई भनेको समयमा तलब खुवाउँदैनन् । पूर्वराजाका ज्वाइँले चलाएको रेडियोमा तलब नपाएर सोमबार मात्रै पत्रकारले व्यवस्थापकलाई कोठामा थुनेको खबर आएको छ ।
यो निष्ठुरी सहरमा राजनीतिकर्मीको हालत पनि यस्तै पातलो छ । हिजो सरकारमा रहने र मन्त्रीका वरिपरि घुम्ने कार्यकर्ता आज कर्मचारीको सरकार आएपछि बिल्लीबाठ छन् । संविधानसभा र सिंहदरबारवरिपरि बसेर कफी र चुरोट पिउँदै राज्य पुनःसंरचनाको गफ चुट्ने सभासद्हरू यतिबेला सहरमा देखिँदैनन् । सायद उनीहरू मुस्किलले भाडा तिरिएको डेराभित्रै कालो चिया खाएर दिन गुजारिरहेका होलान् । कमाइ केही छैन, सत्तामा नभएपछि भत्ता टुटिहाल्यो । काम गरौँ, केही छैन, केले खाने, केले भाडा तिर्ने ? प्रहरी पत्नीको त मासिक १० हजार आउँछ, नेताकी स्वास्नीले केले कोठाभाडा तिर्ने, केले छोराछोरी पढाउने ? केले खाने ? कि माग्नुपर्‍यो, कि ठग्नुपर्‍यो । नेता-कार्यकर्ताको परिवारमा झन् कन्तबिजोग छ, सहरमा । पहिल्यै व्यवस्थापन भइसकेका कांग्रेस र एमालेका नेता-कार्यकर्ताभन्दा नयाँ जोगीका रूपमा सहर पसेका माओवादी नेता-कार्यकर्ताको चुलोमा बढ्ता समस्या छ । माथिल्लो वर्गमा पनि समस्या छैन र तल्लो वर्गको सर्वहाराले पनि जीविको वा कुनै मजदुरी गरेर खाएको छ । तर, मध्यमवर्गका लम्पट सर्वहाराहरूको भने कन्तबिजोग छ ।
मध्यम वर्ग : न भाले, न पोथी
चाहे सरकारी कर्मचारी होस् वा राजनीतिज्ञ वा पत्रकार नै किन नहोस्, मध्यम वर्गका मानिसको मनोविज्ञान बडो अस्थिर र अचम्मको हुन्छ । उसले आफूभन्दा धनीलाई हेर्छ र उसको भौतिक सुख देखेर सधैँ र्‍याल चुहाइरहन्छ । अनि आˆनो दुःख र अभाव सम्झन्छ र असन्तुष्ट हुन्छ । अस्थिरता मध्यम वर्गको विशेषता नै हो । उसभित्र एक न एकदिन धनी हुने कल्पना सधैँ हुन्छ तर ऊ कहिल्यै धनी हुँदैन । अभावै अभावमा बूढो हुन्छ । तैपनि, उसलाई आफूले बाँचेको वर्तमानप्रति सन्तोष हुँदैन । तर, तल्लो वर्गको गरिबलाई यस्तो छटपटाहट हुँदैन । उसले आफ्नो वर्तमानमै सन्तोष गर्छ । बाटोमा मकै पोलेर बेच्ने महिलालाई प्रहरीकी पत्नीमा जस्तो असन्तोष, पीडा र छटपटी छैन । दिनभरि कमायो, जीवन गुजारा गर्‍यो । अस्थिर वर्ग भनेको मध्यम वर्ग नै हो । कतिपयलाई चिनियाँ नेता माओ त्सेतुङ पटक्कै मन पर्दैन । तर, माओवादीले चिनियाँ समाजको वर्ग विश्लेषण भन्ने आफ्नो निबन्धमा मध्यमवर्गको ढुलमुले चरित्रबारे राम्ररी विश्लेषण गरेका छन् ।
पुरानो बानेश्वर बस्ने प्रहरीकी श्रीमती र स्वयं ती प्रहरी पनि अत्यन्तै अस्थिर मनोविज्ञानमा छन् । आफ्नो जीवनमा सन्तोष पनि छैन, अर्को उपाय पनि छैन । सानो तहको कर्मचारी, सैनिक जवान, मझौला व्यापारी कसैको पनि जीवनमा सन्तोष छैन । यही असन्तोषले उनीहरूलाई अस्थिर बनाइरहेको छ । एउटा सटर भाडामा लिएर पसल थापेको २० वर्ष पुगिसक्यो, खान मात्रै पनि धौधौ छ । ऊ कहिले विदेश जाऊँ कि भनेर सोच्छ, डिभी भर्छ, पत्रिकामा विज्ञापनहरू हेर्छ, अनेक गर्छ तर बसाइचाहिँ एउटै सटरभित्रै छ । दलका कार्यकर्ताको बिजनेस पनि यस्तै छ । एउटै पार्टीमा बसेको ३० वर्ष भइसकेको छ । तैपनि, कुनै प्रगति छैन, त्यसपछि उनीहरू यसो गर्दा पो हुन्छ कि उसो गर्दा पो हुन्छ कि भन्दै अरूको दोकान चाहारिरहेका छन् । एउटा पार्टी छाडेर अर्को बलियो जस्तो पार्टी देख्नासाथ त्यताको टीको लगाउने चरित्र पनि यही मध्यमवर्गीय प्रभाव नै हो ।
कतिपय मान्छे एमालेलाई ‘न भाले न पोथी’ भन्छन् । तर, योभन्दा पनि एमालेले प्रतिनिधित्व गरेको मध्यमवर्गचाहिँ लिंगविहीन र असन्तुष्ट वर्ग हो । मध्यमवर्ग अवसरवादी हुन्छ । कमजोर इच्छाशक्तिको मध्यमवर्ग छ भने उसले कुण्ठा पालेरै जुनी बिताउँछ वा निराशावादी साहित्य लेखर जुनी काट्छ, प्रवल इच्छाशक्ति बोकेको मध्यमवर्ग छ भने उसले चाँडै धनी हुने सपनामा पर्शुराम बस्नेत वा गणेश लामाको बाटो रोज्छ ।
मध्यमवर्ग सरकारी पहुँचमा पुग्यो भने यो वर्गले सबैभन्दा बढी भ्रष्टाचार गर्छ । सरकारी हाकिमहरूले पैसा कमाएको, छोराछोरीलाई विदेशमा पढाएको, बिहेमा ठुल्ठूलो भोज खुवाएको र श्रीमतीलाई सुनका दाम्लाले बाँधेको देखेपछि त्यसैलाई जीवनको आदर्श सम्झन्छ र भ्रष्टाचारको बाटोबाट त्यही जीवनशैली रोज्दछ । त्यसपछि इमानदारी र सादापन होइन, भ्रष्टाचार र फजुल खर्च नै समाजको आदर्श बन्न पुग्छ । नेपालको राजनीतिले अहिले निकास पाउन नसक्नु र पथभ्रष्ट हुनुमा यही चरित्रले काम गरेको छ ।
गर्ने के त ?
अन्त्यमा, उही प्रहरी परिवारतर्फ}{फर्कौं । श्रीमतीको उपचार गर्न नसक्ने प्रहरीले अब के गर्लान् ? उनीसँग धेरैवटा विकल्प छन् । हाकिमहरूको जस्तै भ्रष्टाचार वा घुसखोरीतिर लाग्ने । राति-राति लुटपाटमा संलग्न हुने, एकदिन शान्ति सेनामा जान पाइएला कि भनेर मृगतृष्णामा रमाउने र यसका लागि हाकिमको चाकरी गर्ने, जागिरै छाडेर अरबतिर जाने या यस्तै दुःखमा जीवन गुजार्ने र पीडा मत्थर गर्न रक्सी खाने अनि श्रीमती पिट्न थाल्ने । या भारतीय जोगी राधे-राधे आदिका कुरा सुन्न ध्यानशिविरतिर जाने । या प्रहरीको जागिर छाडेर सडकमा चटपटे बेच्ने । कमसेकम मासिक ३० हजार त आउँछ । तर, मध्यमवर्गको प्रहरीले बरु जीवनभर मासिक १० हजारको जागिर खान्छ तर पैसा आउने भए पनि शारीरिक काम गर्न भने लजाउँछ । काम नगर्ने मान्छे ठूलो हो भने सामन्तवादी मनोविज्ञानका कारण मध्यमवर्गको दिमाग ‘न भाले, न पोथी’को जस्तै हुन्छ ।
आखिर भ्रष्टाचारीलाई हाईहाई र इमानदारलाई बाईबाई गरिने देशमा म इमानदार भएर देशको सेवा गर्छु भन्ने साना तहका कर्मचारी कति नै पो होलान् ? सिंगै देशको मानसिकता नै भ्रष्ट भइसकेका बेला यी प्रहरीपत्नीले भाँडा माझेर छोराछोरी पढाइन् तर श्रीमान्लाई धनी हुने लोभमा भ्रष्टाचारी वा लुटेरा बन्न दिइनन् भने थाइराइड भएकी यी प्रहरी पत्नीलाई सच्चा नेपालकी छोरी किन नमान्ने ? त्यसैले धनीमान्छे हुनुभन्दा असल मान्छे हुनु जाति हो भन्ने संस्कारको विकास पो गर्ने हो कि ? अन्यथा नेपालको राजनीति र समाज यसैगरी ‘न भाले न पोथी’को मध्यमवर्गीय मनोवैज्ञानिक सिकञ्जाबाट बाहिर निस्कन सक्ने छैन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s