पाँच गुन्डानाइकेको ठेगाना नै गलत

Posted: June 4, 2013 in By Deepak Kharel

विनिता दाहाल
D1

पाँच गुन्डानाइकेले अवैध रुपमा करोडौं रुपैयाँ कमाएको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको दुई साता बित्दा पनि तीमध्ये एकैजनाले अदालत उपस्थित हुनुपर्ने म्याद बुझेकै छैनन् ।

‘उनीहरु सबैको म्याद बुझ्ने ठेगाना नै गलत रहेछ,’ म्याद बुझाउने तहसिल शाखाका प्रमुख कृष्ण गिरीले भने, ‘फाइलमा भएको ठेगानाअनुसार म्याद बुझाउन जाँदा त्यो घर अर्कैको हुँदो रहेछ । त्यसैले कसैलाई पनि अहिलेसम्म म्याद बुझाउन सकिएको छैन ।’

विभिन्न ठेक्कापट्टा गरी अवैध रुपमा २७ करोड १ लाख रुपैयाँ कमाएको अभियोग लागेका गणेश लामालाई म्याद बुझाउन जाँदा ठेगानाअनुसार घर नै पत्ता नलागेको तामिलदार चुडामणि मिश्र बताउँछन् ।

‘काठमाडौं– ३५ भन्ने ठेगाना छ तर त्यो ठेगानाअनुसार घर नै पत्ता लागेन,’ मिश्रले सोमबार दिउँसो काठमाडौं जिल्ला अदालतको तामेल शाखामा गुनासो गरे ।

मिश्रको शब्द भुइँमा झर्न नपाउँदै गणेश लामाकै छिमेकी पर्ने अर्जुन श्रेष्ठले भने, ‘कोटेश्वर पुगेर सोध्नुस् न, गणेश लामाको घर कुन हो भनेर जसले पनि देखाइदिन्छ !’ श्रेष्ठ सोमबार आफ्नो व्यक्तिगत मुद्दाका लागि अदालत पसेका बेला उनले तामिलदार मिश्रलाई आफ्नो फोन नम्बर दिए र भने, ‘मलाई कोटेश्वर महादेवस्थान मन्दिर नजिक आएर फोन गर्नुस्, म देखाइदिन्छु गणेश लामाको घर ।’

लामाबाहेक अन्य गुन्डानाइकेहरुको म्याद पनि अहिलेसम्म बुझाउन सकिएको छैन । ‘दिपक मनाङे देशबाहिर भन्ने सुनियो,’ मनाङेको म्याद बुझाउने जिम्मा पाएका तामेलदार हरि सापकोटाले भने, ‘ठेगानाअनुसार घर नै पत्ता लागेको छैन । वडा नं १६ लेखेको छ, घर नं पनि छैन, केही पनि छैन । अनलाइनबाट उहाँ सिक्किममा हुनुहुन्छ भन्ने थाहा भयो । अब फेरि प्रयास गर्छौं ।’

ठेगाना नमिलेका अभियुक्तको म्याद बुझाउन नसकेपछि काठमाडौं जिल्ला अदालतले फेरि विशेष अदालतमै ठेगाना नमिलेको भन्दै पठाउने तहसिल शाखाका प्रमुख गिरीले बताए ।

‘यहाँ आउने २५ प्रतिशत मुद्दा त यसैगरी गलत ठेगानाबाट आउँछन् जुन बुझाउनै नसकेर फेरि अदालतमै फर्किन्छन्,’ गिरीले भने, ‘मुद्दा अभियोजन गर्ने वकिलहरुले कति ठाउँमा ठेगाना नै गलत बनाउँछन् । त्यसपछि यहाँ आएका ठेगानामा हामीले अभियुक्तलाई म्याद बुझाउन सक्दैनौं ।’

गुन्डानाइके अभिषेक गिरी र उनकी पत्नी अनिषा गिरीको पनि ठेगाना सुविधानगर काठमाडौं लेखेको भए पनि त्यो अनुसार घर पत्ता नलागेको तामिलदार छविलाल पोखरेलले बताए ।

‘फाइलमा भएकै ठेगानामा गएको तर त्यो घरमा अर्कै मान्छे बस्ने रहेछन्,’ छविलालले भने, ‘त्यताका छिमेकीले अभिषेक त डेरामा बस्छन् भने तर उनी बस्ने घर देखाउन मानेनन् ।’

अर्को फौजदारी मुद्दामा जेलभित्रै रहेका चक्रे मिलनलाई भने विशेष अदालतले अदालतमा उपस्थित गर्न केन्द्रीय कारागारलाई नै पत्र पठाएको रजिष्ट्रार धीरबहादुर चन्दले बताए । चक्रे मिलनकी पत्नी इन्दिरा घलेको पनि म्याद बुझाउन जाँदा घर पत्ता नलागेको तामिलदार हिरा पाण्डेले बताए ।

‘उहाँको मुद्दामा काठमाडौं वडा नं ३ लेखेको छ, त्यहाँ घर पत्ता लाग्दैन,’ पाण्डेले भने, ‘सुनेअनुसार उनको घर त वडा ४ मा छ रे, अनि हामीले कसरी म्याद बुझाउनु ?’

ठेगाना गलत भएर म्याद बुझाउन नसकिए पछि काठमाडौं जिल्ला अदालतले विशेष अदालतमै ठेगाना सच्याउन मुद्दा फिर्ता पठाउँछ ।

डनहरुमध्ये काठमाडौबाहिर घरको ठेगाना मोरङ भएका पर्शुराम बस्नेतको भने विराटनगरमै म्याद तामेलीको लागि पत्र गएको चन्दले जानकारी दिए ।

अदालतमा अभियुक्त फरार भनी दायर भएका मुद्दामा धेरैजसो ठेगाना फरक पर्दा थुप्रै मुद्दा महिनौं लम्बिने गिरीले जानकारी दिए ।

उनीहरुबिरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जेठ ३ गते विशेष अदालतमा अवैध रुपमा करोडौं रुपैयाँ कमाएको भन्दै मुद्दा दर्ता गरेको थियो । विभागले अभिषेकले २ करोड ९४ लाख, पर्शुराम ११ करोड ६१ लाख, चक्रे ७ करोड ८ लाख र दीपक १४ करोड ७३ लाख रुपैयाँबराबर अवैध सम्पत्ति कमाएको भन्दै मुद्दा दर्ता गरेको थियो ।
Courtesy: setopati.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s