प्रहरी नै लुटेरा

Posted: March 22, 2013 in By Deepak Kharel

सुन्दर खनाल

police

भनिन्छ, प्रहरी भनेका रक्षक हुन् । तर राजधानीमा तीन प्रहरी अधिकृत भक्षक भएर निस्किए । महानगरीय प्रहरी परिसरका दुई सई र एक असईले आइतबार राजधानीको कुमारीगाल बौद्धमा पेस्तोल देखाएर दुई व्यक्तिबाट साढे दुई लाख रुपैयाँ र एउटा मोटरसाइकल लुटेका हुन् । महानगरीय प्रहरी अपराध महाशाखा टोलीले अभियुक्त सईद्वय रुद्रराज पौडेल र प्रकाशबहादुर मल्ल तथा असई राजु भण्डारीलाई बुधबार पक्राउ गरेको हो । अभियोग स्वीकारेका उनीहरूलाई अपहरण तथा शरीर बन्धक मुद्दा चलाइएको छ । ताप्लेजुङका कर्णध्वज लिम्बू र सिन्धुपाल्चोकका सूर्य तामाङले सुनको भनी झुक्याएर नक्कली मूर्ति बेची ५० लाख ठगेको भन्ने साताअघि परेको उजुरीका आधारमा पौडेल, मल्ल र भण्डारी मिलेर बन्धक बनाई पैसा असुल्ने योजना बनाएका थिए । योजनामा सुराकी काम गर्ने दुई जनाले पनि प्रत्यक्ष सघाए । योजनाअनुरूप गत आइतबार कुमारीगाल गई चेस खेलिरहेका तामाङ र गफ गरिरहेका लिम्बूलाई बन्धक बनाई पैसा असुलिएको हो ।

पौडेल र मल्लले कञ्चटमा पेस्तोल तेस्र्याएर हत्कडी देखाउँदै आफूहरू केन्द्रीय अनुसन्धान ब्युरोबाट पक्राउका लागि आएको बताएका थिए । उनीहरूले मूर्ति ठगीको ५० लाखमध्ये १० लाख तुरुन्तै दिए छाडिदिने भन्दै वार्गेनिङ सुरु गरे । तामाङ र लिम्बूले आफूसँग त्यत्रो पैसा नभएको बताएपछि अन्तमा ४ लाख रुपैयाँमा सहमति भयो । उनीहरूको साथमा पर्याप्त पैसा नभएकाले पौडेलले लिम्बूको बा५२प ३९९५ नम्बरको पल्सर मोटरसाइकलमा तामाङकी श्रीमतीलाई राखी एनआईसी बैंक कमलादी शाखा ल्याएर डेढ लाख रुपैयाँ निकाल्न लगाए । लिम्बूले कुमारीगालतिरबाटै एक लाख सापटी लिएर दिए । बाँकी डेढ लाख एक/दुई दिनमा दिने सर्तमा पौडेल र मल्ल लिम्बूको पल्सर मोटरसाइकलसमेत लिई त्यहाँबाट हिँडे । डकैतीसम्बन्धी मसालेदार फिल्मको कुनै दृश्यमा देखिनेजस्तै गरी गहनापोखरीमा त्यही दिन लुटिएको पैसा भाग लगाइयो । पौडेल, मल्ल, भण्डारी र एक सुराकीलाई ५० हजार रुपैयाँ जनही पर्‍यो । अर्का एक सुराकीलाई २० हजार रुपैयाँ, अनि कान्छा, अर्जुन र वरिस भन्ने सहयोगीलाई क्रमशः सात र पाँच हजार रुपैयाँका दरले बाँडियो । घरमा छोरा बिरामी छ भनेर घटनास्थल नगएका भण्डारी रकम लिन बेलुकी आए र लिम्बूको मोटरसाइकल लिएर गए, जुन उनले एक आफन्तको घरमा लुकाएको पाइयो ।

सोही दिन बेलुकी लिम्बूले महानगरीय प्रहरी वृत्त बौद्धमा प्रहरी भनिनेहरूबाट लुटिएको भन्दै उजुरी दिए । उजुरीमाथि अनुसन्धान भइरहेको स्थितिमा प्रकरणमै सामेलमध्ये एक असन्तुष्टले सूचना दिएपछि सबै कुरा पर्दाफास भएको हो । एनआईसी बैंकको सीसीटीभी फुटेज रेकर्डबाट पौडेलको पहिचान गरिएपछि अनुसन्धान थप प्रस्ट हुन पुग्यो । महाशाखामा दरबन्दी भएका पौडेल र भण्डारी एवं जनसेवा प्रहरी प्रभागमा कार्यरत मल्ललाई तानेर परिसरले एक महिनाअघि सादा पोसाकको अनुसन्धान टोली खडा गरेको हो । भण्डारी ६ वर्षअघि मोटरसाइकल चोरी काण्डमा मुछिएर ६ महिना निलम्बन भएका थिए । प्रहरी र गुण्डावृत्तमा ‘दाह्री’ भनेर चिनिने भण्डारी हतियारसम्बन्धी विशेष जानकारी भएका मानिन्थे । उनले सबैखाले ‘डिल’ राजधानीको गहनापोखरी क्षेत्रमा गर्थे, पछिल्लो योजना पनि त्यही बनाइएको थियो । मल्लबाट बरामद भएको डायरीमा हुन्डी कारोबारीसम्बन्धी विशेष जानकारीका साथै उनीहरूविरुद्ध खडा गरिएका नक्कली उजुरी पनि फेला परेका छन् । तीनै जनालाई हाल बौद्ध वृत्तको थुनामा राखिएको छ । परिसर प्रमुख एसएसपी रणबहादुर चन्दले अभियुक्त तीनै जना आफ्नो विशेष टोलीमा नपर्ने दाबी गरे । ‘त्यस्तो टोली केही होइन, लगाए अह्राएको काम गर्नुपर्ने कर्मचारी हुन् । तर त्यस्तो अपराध गरेको पाइयो, कानुनअनुसार हदैसम्मको कारबाही हुन्छ ।’

प्रकाशित मिति: २०६९ चैत्र ९ ०८:२६

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.