गोली हान्ने आदेश नदिएकोमा प्रजिअको सरुवा

Posted: January 25, 2013 in By Deepak Kharel

cdo and dsp dailekh
\

प्रकाश अधिकारी / दैलेख
सरोजराज अधिकारी / काठमाडौं

प्रधानमन्त्री बाबुराम भट्टराई सहभागी कार्यक्रममा विपक्षीले ढुंगामुढा प्रहार गरी अवरोध पुर्‍याउँदासमेत गोली हान्ने आदेश नदिएको भन्दै दैलेखका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) उमेशकुमार ढकालसहित प्रहरी नायब उपरीक्षक (डीएसपी) शारदाप्रसाद चौधरी र दुई इन्स्पेक्टरलाई सरुवा गरिएको छ ।

उच्च स्रोतका अनुसार प्रधानमन्त्रीको ठाडो निर्देशनमा गृह मन्त्रालयले प्रजिअलाई काठमाडौं र प्रहरी प्रधान कार्यालयले चौधरीलगायतलाई सुर्खेतस्थित क्षेत्रीय कार्यालयमा फर्काइएको हो ।

एमाओवादीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्न पार्टी उपाध्यक्षसमेत रहेका प्रधानमन्त्री भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, अर्का उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत बुधबार त्यहाँ पुगेका थिए । कांग्रेस-एमाले लगायत विपक्षी दलले कार्यक्रममा अवरोध पुर्‍याउँदा झडपकै अवस्था सिर्जना भएको थियो ।

प्रजिअ ढकालले एक दिनअघि नै दैलेखमा हिंसात्मक झडप हुने सम्भावना रहेको प्रतिवेदन गृहमा पठाएका थिए । ‘सीधै प्रधानमन्त्री आउनु उचित हुँदैन भन्ने कुरा त भएन तर हिंसात्मक झडप हुन सक्नेबारे जानकारी दिइएको थियो,’ प्रजिअ कार्यालय स्रोतले भन्यो । गृहस्रोतका अनुसार दैलेखको शान्ति सुरक्षाबारे प्रधानमन्त्रीसम्मलाई जानकारी दिइएको थियो । तर प्रधानमन्त्रीले ‘सुरक्षाकर्मीले सक्दैनन् भने वाईसीएल र कार्यकर्ताले नै आफ्नो सुरक्षा गर्ने’ जवाफ फर्काएका थिए ।

‘गोली हान्ने आदेश दिएको भए स्थिति त्यति भयावह हुँदैनथ्यो भन्दै प्रजिअलाई फिर्ता बोलाइएको हो,’ प्रहरी स्रोतले भन्यो, ‘गोली हानेको भए रक्तपातको खतरा थियो । प्रजिअले प्रहरीलाई संयम अपनाउन निर्देशन दिएकाले र प्रहरीले पालना गरेकाले ठूलो दुर्घटना भएन ।’ बाहिर भने प्रधानमन्त्री भट्टराई सहभागी कार्यक्रममा शान्ति सुरक्षा दिन नसकेको भन्दै फिर्ता बोलाइएको बताइएको छ ।

गृहसचिव नवीन घिमिरेले गोली हान्न आदेश नदिएको भन्ने कुरा आफूले नसुनेको बताए । ‘प्रधानमन्त्रीसमेत उपस्थित कार्यक्रममा भएको घटना सम्बन्धमा बुझ्नका लागि प्रजिअलाई मन्त्रालयमा हाजिर हुन बोलाइएको हो,’ सचिव घिमिरेले भने । प्रजिअसँगै जिल्ला प्रहरी प्रमुख डीएसपी शारदाप्रसाद चौधरी, प्रहरी निरीक्षकद्वय इन्द्र सुवेदी र किरण न्यौपानेलाई पनि क्षेत्रीय प्रहरी कार्यालयमा फिर्ता बोलाइएको छ ।

गृहले ढकालको ठाउँमा केन्द्रीय कारागारका होमराज थपलियालाई पठाएको छ । स्रोतका अनुसार प्रहरी र सशस्त्र प्रहरीका क्षेत्रीय प्रमुखहरूले प्रजिअसँग पटकपटक गोली चलाउने अनुमति दिन आग्रह गरेका थिए । प्रजिअले गोली चलाउन आदेश दिएको भए बहिर्गमित लडाकु र वाईसीएल कार्यकर्ताले पिस्तोल, खुकुरी प्रहार गर्ने सम्भावना रहेको नारायणनगरका पूर्वमेयर रवीन्द्रराज शर्माले बताए । ‘उनीहरू हतियारसहित जिल्ला भित्रिएका थिए । विपक्षीको आन्दोलनमा घुसपैठ गरी छानी-छानी गोली चलाउँथे,’ उनले भने, ‘सुरक्षा समितिको सतर्कताले रक्तपात भएन ।’

एमाओवादीका स्थानीय नेताले विपक्षीलाई तह नलगाएको भन्दै प्रजिअलाई हटाइछाड्ने अभिव्यक्ति बुधबार दिउँसै दिएका थिए । ‘दिउँसैदेखि प्रजिअलाई नै सम्बोधन गरी अब तपाईंको टिकट दैलेखबाट काट्ने भयो भन्न थालेका थिए,’ जिप्रकाका एक अधिकृतले भने, ‘सीडीओ साबको सरुवा हुने अनुमान हामीले दिउँसै गरिसकेका थियौं । डेकेन्द्र हत्याको अनुसन्धान अघि बढेदेखि नै सीडीओप्रति स्थानीय माओवादीको असन्तुष्टि थियो ।’

प्रजिअ ढकाल साढे चार महिनाअघिमात्र दैलेख सरुवा भई गएका थिए । प्रजिअको कार्यकाल सामान्यतः दुई वर्ष हुन्छ । दैलेखमा सहायक प्रजिअसमेत छैनन् ।

डीएसपी चौधरीलाई भने बुधबार राति नै काज सरुवा बदर गरी सुर्खेतस्थित क्षेत्रीय प्रहरी कार्यालय झिकाइएको थियो ।

इन्स्पेक्टरद्वय सुवेदी र न्यौपानेलाई पनि बुधबार राति नै सुर्खेत क्षेत्रीय प्रहरीमा बोलाइएको थियो । डीएसपी चौधरीलाई हटाएपछि जिल्ला प्रहरीको नेतृत्व थप मदतका लागि आएका नेपालगन्जस्थित दंगा प्रहरी गणका एसपी मोहनराज जोशीले गरेका छन् ।

प्रहरी प्रवक्ता डीआईजी केशवप्रसाद अधिकारीले जिल्लामा शान्ति सुरक्षाको अवस्था बलियो बनाउन डीएसपीको काज फिर्ता गरी एसपीलाई पठाइएको बताए । ‘चौधरीको सरुवा गरिएको होइन । काज फिर्तामात्र गरिएको हो,’ उनले भने । चौधरी एक महिना ११ दिनअघि काज सरुवा भई आएका थिए ।

जिल्ला प्रहरीमा पत्रकार डेकेन्द्रराज थापाको मुद्दाको अनुसन्धान गरिरहेका इन्स्पेक्टर विनोद शर्मामात्र बाँकी छन् । सर्वोच्च अदालतले अनुसन्धान नरोक्न अन्तरिम आदेश दिएकाले मुुद्दाको अनुसन्धान पूरा नहुँदा हटाउन नमिल्ने भएकाले उनको सरुवा नगरिएको स्रोतले बतायो ।

अर्का इन्स्पेक्टर सुवेदीको सरुवालाई अर्थपूर्ण रूपमा हेरिएको छ । सुवेदी डेकेन्द्र हत्याको घटनास्थलमा पुगी स्थलगत रूपमा साक्षी प्रमाण जुटाएर बुधबार बिहानमात्रै सदरमुकाम फिर्ता भएका थिए । ‘सरुवा पत्र नदिएर रातारात सुर्खेत पठाइयो,’ उनले भने, ‘आदेशबिना कसरी गोली चलाउनु ?’

सरकारले सुरक्षा दिन नसकेको बहानामा सुरक्षा अधिकारीको सरुवा गर्ने र पत्रकार थापाको मुद्दालाई फितलो बनाई दोषीलाई उन्मुक्ति दिने उद्देश्यले रातारात सरुवा गरेको प्रहरीका एक अधिकृतले बताए । गृहमन्त्री विजयकुमार गच्छदारले देशको प्रधानमन्त्री आफ्नो पार्टी कार्यक्रममा गएका बेला प्रतिपक्षबाट ढुंगामुढा हुँदासमेत शान्ति सुरक्षामा खटिएका व्यक्तिले राम्रो काम गर्न नसकेकाले प्रजिअलाई फिर्ता बोलाएको बताए ।

सरकारविरोधी आन्दोलनरत विपक्षी दलका कार्यकर्ताले बुधबार एमाओवादीको सभास्थलमा ढुंगामुढा प्रहार गर्नुका साथै कालो झन्डासमेत प्रदर्शन गरेका थिए । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले बोल्न थालेलगत्तै विपक्षीले ढुंगामुढा गरेपछि कार्यक्रम १५ मिनेट बिथोलिएको थियो । विपक्षी दलका प्रमुखहरूलाई कुटपिट गरी घाइते बनाएपछि आक्रोशित कार्यकर्ताले जिल्ला प्रशासननजिकैको एमाओवादी कार्यालय तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका थिए ।

यसैबीच गृह मन्त्रालयले दैलेखमा भएको झडप सम्बन्धमा छानबिन गर्न सहसचिव लक्ष्मीप्रसाद ढकालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा समितिलाई घटना हुनुको कारणका सम्बन्धमा सत्यतथ्य बुझी छानबिन गर्न र आगामी दिनमा यस्ता घटना हुन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कताका विषयमा सिफारिससहितको प्रतिवेदन सात दिनभित्र पेस गर्न भनिएको छ ।

एमाओवादीको बन्द सत्र जारी एमाओवादीको प्रथम जिल्ला सम्मेलन जारी छ । बन्द सत्रमा ३ सय प्रतिनिधिले भाग लिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तावित प्रतिवेदनमाथि छलफल भइरहेको भेरी कर्णाली राज्य समिति सदस्य इन्द्र शर्माले जानकारी दिए । सम्मेलनले राज्य र केन्द्र सम्मेलनका लागि प्रतिनिधिसमेत छनोट गर्नेछ ।

एमाओवादी बन्दसत्रमा शान्तिपूर्ण सम्मेलनमै आएर विपक्षीले ढुंगामुढा गरी कार्यकर्ता घाइते बनाएको र पार्टी कार्यालय आगजनी गरेकोमा कडा निन्दा गरेको छ । ‘लोकतन्त्रमा नाराजुलुस र सभासम्मेलन गर्ने अधिकारमाथि विपक्षी दलले नांगो अवरोध गरे । जसको जति निन्दा गरे पनि कम हुन्छ,’ जिल्ला इन्चार्ज कर्ण बस्नेतले भने, ‘यसको क्षति भविष्यमा कांगे्रस-एमालेले समेत बेहोर्नुपर्नेछ ।’

प्रकाशित मिति: २०६९ माघ १२ ०८:३६

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.