रणबहादुर चन्द काठमाडौँ प्रहरी प्रमुख भएपछि आजको छापामा ………

Posted: January 3, 2013 in By Deepak Kharel

ई -कान्तिपुर
विवादास्पद चन्द काठमाडौं प्रहरी प्रमुख
सुन्दर खनाल

प्रहरीभित्र विवादास्पद छविका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रणबहादुर चन्दलाई महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख बनाइएको छ । यसअघि महानगरीय प्रहरी अपराध महाशाखा प्रमुखका रूपमा उनले गरेको कार्यशैलीका कारण उनी विवादित थिए ।

त्यसबेला आफ्नै अंगरक्षकबाट आक्रमणमा परेलगत्तै महाशाखाबाट प्रधान कार्यालय तानिएका थिए । चन्दलाई यसपल्ट ‘सुध्रने र काम गर्ने मौका’ का रूपमा यो पोस्टिङ दिइएको प्रहरी प्रधान कार्यालयको दाबी छ । प्रधान कार्यालय स्रोतका अनुसार चन्दलाई खानपिन र संगत सुधारेर आफ्नो क्षमताको भरपूर उपयोग गर्ने वाचासहित हनुमानढोका सरुवा गरिएको हो । जानकारहरूका अनुसार उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारलाई रिझाएर उनी त्यहाँ पुगेका हुन् । नेपाल प्रहरीमा ‘अपरेसन स्पेसलिस्ट’ का रूपमा चिनिने चन्दले हनुमानढोका थानाबाट २५ लाखभन्दा बढी जनसंख्या भएको राजधानी सहरको सुरक्षा हेर्ने जिम्मेवारी पाएका हुन् । पछिल्लो डीआईजी बढुवामा २०४३ ब्याचबाट छुट्नेमध्ये उनी पहिलो नम्बरमा छन् । अघिल्ला परिसर प्रमुख जयबहादुर चन्द दुई साताअघि डीआईजीमा बढुवा भएपछि हनुमानढोका नेतृत्व खाली भएको थियो । उनी बढुवाको निर्णय सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण स्थगनमा परेकाले हाल कामविहीन छन् । बढ्दो जनघनत्व र अत्यधिक आर्थिक गतिविधिका कारण कम जनशक्ति र न्यून स्रोतसाधन भएको काठमाडौं प्रहरीलाई राजधानीको सुरक्षा गर्नु कठिन काम हो । राजधानीको सुरक्षाले मुलुकभर आमरूपमा सन्देश प्रवाह गर्ने हुँदा हनुमानढोका थाना कामका हिसाबले एउटा प्रहरीको जीवनमा सबैभन्दा चुनौतीपूर्ण पोस्टिङ मानिन्छ । चालू दशकमा हनुमानढोकाका काम कारबाहीले नयाँ चोला पाएको देखिन्छ । सर्वेन्द्र खनाल, नवराज सिलवाल, रमेश खरेल र पुष्कर कार्कीले प्रहरी उपरीक्षक (एसपी) का रूपमा त्यहाँ बिताएको विभिन्न कार्यकालबाट राजधानीको सुरक्षामा सकारात्मक सुधार भएको मानिन्छ । यद्यपि पछिल्लो समय हनुमानढोका नेतृत्वले शान्तिसुरक्षाको स्थिति सुधार्न नसकेको, ‘डनगिरी’ लाई प्रोत्साहित गरेको, क्यासिनोलगायत अवैध आर्थिक स्रोतहरूसँग अवैध साँठगाँठ गरेकोलगायत आरोप खेप्दै आएको छ ।

नवनियुक्त हनुमानढोका प्रमुख चन्द आफ्नो कार्यकालमा राजधानीलाई सुरक्षित बनाउन योगदान गर्ने बताउँछन् । ‘पूर्वजहरूले गरेका राम्रा कुरा पछ्याउँदै प्रहरीलाई नागरिक सेवामुखी बनाउन रात-दिन खटिनेछु,’ उनले कान्तिपुरसँग भने । ‘राम्रासँग सहकार्य गरेर नराम्रा बदमासलाई कारबाही गर्नेछौं ।’ अपराधमा बढ्दो सूचना प्रविधि प्रयोगलाई अनुसन्धानको मुख्य चुनौती ठान्ने चन्द त्यसका लागि आवश्यक क्षमता र सीप बढाउन ध्यानकेन्दि्रत गरिने बताउँछन् ।

प्रकाशित मिति: २०६९ पुस १९ ०८:५२

नागरिक न्युज

rana bahadur chand
‘हत्या योजनामा संलग्नलाई भगाउन सहयोग गर्ने’ काठमाडौं प्रहरी प्रमुख

सञ्चार उद्यमि जमिम शाहको हत्या योजनामा संलग्न पूर्व डिएसपी जगदिश चन्दलाई फरार बनाउन सहयोगी बनेको भनी जमिम हत्या जाँचबुझ आयोगले औंल्याएका रणबहादुर चन्द महानगरीय प्रहरी परिसर प्रमुख भएका छन्।

प्रहरी प्रधान कार्यालयले बुधबार मुख्यालयमा रहेका चन्दलाई काजमा काठमाडौं पठाएको हो।

जयबहादुर चन्द डिआइजीमा बढुवा भएपछि रिक्त परिसर प्रमुखका लागि एसएसपीहरुबीच दौडधुप जारी रहेका बेला बुधबार बिहान एक्कासि प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले चन्दलाई परिसर प्रमुखमा खटाए। चन्द यसअघि हनुमानढोकामै रहेको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख थिए।
स्रोतका अनुसार प्रारम्भमा आइजिपी राना चन्दको पक्षमा थिएनन्। काठमाडौंमा प्रहरीको कार्यशैलीको प्रभाव मुलुकभर पर्ने भएकाले कार्यक्षमताका आधारमा ‘सक्षम एसएसपी’ को सूचीबारे परामर्श गरेका थिए।

स्रोतका अनुसार जयबहादुर चन्दको बढुवालगत्तै रानालाई रणबहादुरलाई हनुमानढोका पठाउन दबाब आए पनि मंगलबार बेलुकासम्म राना चन्दको पक्षमा थिएनन्।

महानगरीय प्रहरी अपराध महाशाखा प्रमुखका रूपमा चन्दको काम प्रभावकारी नदेखिएको भन्दै रानाले उनलाई परिसरमा पठाउन उत्तम नहुने भन्दै पन्छाउने प्रयास गरे पनि प्रधानमन्त्री बाबुराम भट्टराईसमेत चन्दको पक्षमा सकारात्मक भएपछि रानाले अस्वीकार गर्न सकेनन्।

गृहमन्त्री विजयकुमार गच्छदार रणबहादुरको पक्षमा भए पनि उनले रानालाई प्रत्यक्ष दबाब दिएनन्। गच्छदारले यसपटक बालुवाटारमार्फत चन्दलाई काठमाडौं प्रहरी प्रमुख बनाउन रानालाई बाध्य बनाए।

रानाले बुधबार अकस्मात रणबहादुरलाई काठमाडौंमा काजमा पठाउने निर्णय गरे। बुधबारै उनी काठमाडौं परिसरमा आएर हाजिर गर्दै मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएर काम सुरु गरे।

महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख हुनुअघि रणबहादुर ‘सोझो र सक्षम’ प्रहरी अधिकृतका रुपमा परिचित थिए। महाशाखामा आएपछि भने उनी विवादित बने। महाशाखामा बस्दा अवैध आर्जन गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि अनुसन्धान गरिरहेको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s