रासस
बाल यौन दुराचारको आरोपमा पक्राउ परेका जर्मन नागरिक मेनफ्रिन्टमाथि प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले कानुनअनुसार उनलाई कारबाही हुने बताए। ‘प्रमाणको आधारमा कानुनअनुसार कडा कारबाही हुन्छ,’ उनले भने।
सौराहा र यस आसपासका बालकलाई प्रलोभनमा पारेर यौन दुराचार गरेको आरोपमा प्रहरीले यही पुस १४ गते उनलाई सौराहाको एक होटलबाट रङ्गेहात पक्राउ गरेको थियो भने उनीसँगै रहेका एक बालकलाई समेत प्रहरीले उद्धार गरेको थियो। दुई दिन अनुसन्धान गरेर मुद्दा चलाइएको प्रहरीले जनाएको छ।
सौराहाका व्यवसायीले भने निजले पटक पटक बाल यौनदुराचार गरेको प्रमाण हुँदाहुँदै प्रहरीले फितलो मुद्दा लगाएको भन्दै कडा कारबाहीको माग गरेका छन्।
यसअघि पनि निजले पटकपटक सौराहा र पोखरामा विभिन्न क्षेत्रबाट बालकलाई ल्याएर यौनदुराचार गर्ने गरेको स्थानीय पर्यटन व्यवसायीले बताएका छन्। आफूहरुसँग निजले गरेका अश्लिल क्रियाकलाप सुरक्षित रहेकोसमेत व्यवसायीको भनाइ छ।
स्थानीय व्यवसायी राममणि खनाल यस्ता गतिविधिले सौराहाको महत्वलाई घटाउने भएकाले पर्यटक व्यवसायीहरु स्वयम् सजक हुनुपर्ने बताउँछन्।
स्थानीय व्यवसायीको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख देवेन्द्र पालको नेतृत्वमा दुई दिनअघि उनलाई रातको समयमा प्रहरी टोलीले पक्राउ गरेको थियो।
प्रहरीका अनुसार उनको साथबाट रेकर्डर, क्यामेरा, ल्यापटप, यसमा प्रयोग हुने विभिन्न खालका केवल तारहरु गरी १३ थरिका सामग्री बरामद भएको र यसैबाट अनुसन्धान भइरहेको छ। -रासस
धरौटीमा रिहा
तनहुँ, १७ पुस। आगोको सुरुङभित्र मोटरसाइकल कुदाएर विश्वकीर्तिमान राख्ने खेलमा आगो लगाउने क्रममा दुई जनाको ज्यान गएपछि अनुसन्धानको लागि प्रहरी हिरासतमा रहेका दुई जना सोमबार धरौटीमा छुटेका छन्।
गत मङ्सिर महिनामा भएको सो घटनाका क्रममा हिरासतमा रहेका मिलुङ- ४ वयपानीका शम्शेरबहादुर लम्साल र व्यास- २ बस्दै आएका गण्डकी कम्प्युटरका सञ्चालक वसन्त सदाशङ्कर धरौटीमा छुटेका हुन्।
लम्साल उक्त आगोको सुरुङभित्र मोटरसाइकल कुदाएर कीर्तिमान राख्न तम्सने र वसन्त उक्त खेलको आयोजक बनेका थिए।
तनहुँ जिल्ला अदालतको आदेशअनुसार उनीहरु जनही रु १८ हजार ५०० धरौटी बुझाएर रिहा भएका हुन्।
उक्त खेलमा आगो लगाउन सहयोग गर्ने व्यास- १ भादगाउँ निवासी २८ वर्षीय सुरेश पन्थ र व्यास- ११ निवासी २९ वर्षीय थापा परियारको आगोले जलेर घाइते भई उपचारको क्रममा काठमाडाँैमा मृत्यु भएपछि प्रहरीले उनीहरुलाई हिरासतमा लिएको थियो।
उक्त घटनाका मृतकलाई सहिद घोषणा र मृतकका परिवालाई र रु १० लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउने भनी पीडित पक्ष र प्रशासनबीच लिखित सहमति भएको छ।