कारागारमा चक्रे मिलनको ल्होसार पार्टी

Posted: January 1, 2013 in By Deepak Kharel

केपी ढुंगाना
कहिले हतियारसहितका व्यक्ति बन्दी भेटघाट कक्षसम्म पुगेर बन्दीमाथि गोली हान्छन् त कहिले यौनइच्छा पूरा गराउन प्रहरी आफैं बन्दीलाई गेस्ट हाउस पुर्‍याएदिन्छन्।कुटपिट, हप्ता असुलीका घटना नियमितझैँ सार्वजनिक हुने केन्द्रीय कारागार अहिले भिन्न कार्यक्रमले चर्चामा छ। लागूऔषध र अवैध हतियार बोकेको अभियोगका तीन वर्षदेखि केन्द्रीय कारागारमा रहेका चक्रेमिलन भनिने मिलन गुरुङले आइतबार हेमन्त रानालगायत चारजना कलाकारलाई कारागारभित्रै बोलाएर ल्होसार पार्टी दिए। अनि पार्टीका प्रमुख अतिथि बने जेलर होम थपलिया।

चक्रपथलाई अपराधको आधार क्षेत्र बनाएर संगठित अपराधिक समूह सञ्चालनमा सक्रिय चक्रेलाई प्रहरीले खोजी गरेपछि उनी भागेर भैरहवा पुगेका बेला २०६६ असार २८ गते पेस्तोल र लागुऔषधसहित पक्राउ परेका थिए। ‘राजनीतिक पहुँच’ प्रयोग गर्दै असोजमा उनी बुटवलबाट केन्द्रीय कारागार सरुवा भएका थिए।

केन्द्रीय कारागारभित्रैबाट हाउजिङ व्यापारीलाई धम्क्याएर रकम मागेको र दिन नमानेपछि हत्या प्रयास गरेको घटना सार्वजनिक भएपछि उनलाई गोलघरमा सारिएको थियो। उनी अहिले गोलघरमै छन्।

चक्रेको आयोजनामा भएको पार्टीको रौनक बढाउन कारागार प्रशासनले कारागारभित्रै कलाकार लैजाने अनुमति दिएको थियो। स्रोतका अनुसार गायक हेमन्त राना कारागारभित्रै गएर चक्रेलगायत समूहलाई मनोरञ्जन दिए। कारागारस्रोतका अनुसार आइतबार दिउँसो १ बजेबाट कारागारको भित्री भाग भलिबल ग्राउन्डमा आयोजित पार्टी बेलुका पाँच वजेसम्म चलेको थियो।

जेलर थपलियाले सोमबार बेलुका नागरिकलाई दिएको जानकारीअनुसार यस्तो कार्यक्रममा भद्र बन्दीगृह र गोलघरमा रहेका कैदी/बन्दी सहभागी हुन पाउँदैनन्। केन्द्रीय कारागारमा रहेका कैदी/बन्दीलाई भने पूरै छुट हुन्छ यस्तो कार्यक्रममा।

विश्वस्त स्रोतका अनुसार आइतबार कारागारको भलिबल ग्राउन्डमा भएको मनोरञ्जक कार्यक्रमको आयोजक नै ‘कारागारभित्रैबाट रकम असुलीको समूह सञ्चालन गरेर हत्या प्रयास गरेको’ अभियोगमा गोलघरमा राखिएका चक्रे थिए।

उनले गुरुङहरुको ल्होसार र न्यु इयर दुवै मिलाएर पार्टी राखेका थिए। कार्यक्रमका हर्ताकर्ता जेलभित्रै रहेका उनका सहयोगी थिए। त्यसैले उनकै खर्चमा हुने कार्यक्रममा उनलाई रोक्ने प्रश्नै भएन।

स्रोतका अनुसार चक्रेलाई गोलघरमै राखिएका अर्का अन्तर्राष्ट्रिय अपराधी चाल्स शोभराजले समेत मनोरञ्जनमा साथ दिएका थिए। नक्कली भारु कारोबारमा बन्दी रहेका युनुस अन्सारी लगायत पार्टीमा थिए।

स्रोतका अनुसार कार्यक्रमको आर्थिक चाँजोपाँजो चक्रेले मिलाएका थिए। बाहिर रहेका चक्रेका सहयोगीले कलाकार छानेका थिए। चार्ल्सले पार्टीको खान्कीका लागि सहयोग पुर्‍याएको र अन्य बन्दोबस्तका लागि कारागारका कैदी/बन्दीसँग समेत पैसा जम्मा पारिएको थियो।

कारागारभित्र ल्होसार पार्टीको आयोजना भएको जेलर आफैंले पुष्टि गरे। जेल प्रशासनको पूर्वअनुमतिमा कारागारभित्र कार्यक्रम आयोजना गर्न पाइने नियमअनुसार आफूले पार्टी गर्न छुट दिएको र बाहिरबाट कलाकार आएर कैदीहरुलाई मनोरञ्जन दिएको थपलियाले प्रस्ट्याए।

उनले कारागारभित्रको सुरक्षा व्यवस्था हेरेर अधिकतम चारजनासम्म कलाकारलाई भित्र जान अनुमति दिने र उनीहरु भित्र जाँदा क्यामरालगायत कुनै सामग्री लैजान नपाउने नियम पालना गरिएको दाबी उनले गरे।

प्रमुख अतिथि बनेका थपलियाले आयोजक र आर्थिक स्रोतबारे भने अनभिज्ञता जनाए। ‘ल्होसार मनाउन कार्यक्रम गर्नुपर्‍यो भनेपछि अनुमति दिएको हुँ,’ उनले भने, ‘तर कसले आयोजना गर्‍यो, कलाकार पैसा लिएर आए कि सित्तैमा, त्यो थाहा छैन।’

आयुक्त कार्यालय बेखबर
केन्द्रीय कारागारको सुरक्षा नेतृत्व महानगरीय प्रहरी आयुक्त कार्यालयको हो। तर, सो कार्यक्रमबारे कारागारका सुरक्षाप्रमुखले आयुक्त कार्यालयमा जानकारी गराएका थिएनन्।

केन्द्रीय कारागारको सुरक्षा र प्रशासन पटकपटक विवादमा परेपछि सोको अनुगमनका लागि केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय प्रहरी आयुक्त कार्यालयले क्लोज सर्किट टेलिभिजन जडान गरेको थियो।

ब्युरोले जेलबाहिर आठवटा सिसिटिभी जडान गरेको छ भने आयुक्तले त्यसभन्दा बढी। ब्युरोको सिसिटिभी बेलुका पाँच बजेपछि बन्द भए पनि आयुक्त कार्यालयको भने २४ सैं घन्टा सक्रिय हुन्छ। आइपी पद्धतिमा जडान गरिएको सिसिटिभीको अवलोकन रानीपोखरीमै रहेको आयुक्त कार्यालयबाट गर्न सकिने भए पनि आइतबारको ल्होसार पार्टीबारे आयुक्त कार्यालय बेखबर रह्यो।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.