प्रहरीले सरकारी कीर्ते दस्तखत तथा छाप प्रयोग गरेको आरोप लागेका गोविन्द संघाईलाई एक वर्ष कैद माग गरेको छ। प्रहरीले सोमबार जिल्ला न्यायाधिवक्ताको कार्यालयमा बुझाएको सुझावमा दुग्ध विकास संस्थानको टेन्डरका लागि कीर्ते कागजपत्र बनाएर क्षति पुर्याएको भन्दै उनीसँग थप ७ लाख जरिवानासमेत माग गरिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरोले संघाइ समूहका गोविन्दले कीर्ते गरेको ठहर गरेपछि मुलुकी ऐनको कीर्ते महल सात र १२ अनुसार सजाय माग गरेको हो।
महलको सात नम्बरले कीर्तेबाट सम्पत्ति हिनामिना भए भराउने र १२ नम्बरमा एक वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। प्रहरीले संघाइका कर्मचारी वीरेन्द्र अधिकारीको हकमा समेत सरकारी वकिललाई सोही रायसुझाव पठाएको छ।
प्रहरीले अनुसन्धान गरी राय सुझाव पठाए पनि अभियोगपत्र बनाउने र सजाय माग दाबी गर्ने अधिकार सरकारी वकिलको हो। संघाइ पक्राउ परेको दिनदेखि संघाइका दाजु पवन संघाइ शक्तिकेन्द्र धाइरहेकाले अनुसन्धान अधिकारी सरकारी वकिलले प्रहरीको माग दावी परिर्वतन गर्नसक्ने आशंका गरेका छन्।
‘यसअघि पेसीमा अदालत समेत संघाइप्रति लचिलो देखिएको थियो,’ ती अधिकारीले भने, ‘प्रहरीले दिएको सुझाव फेर्न चलखेल हुनसक्छ।’
दुग्ध विकास संस्थानले मागेको क्रेटको टेन्डरमा संघाइले त्रिवेणी प्लास्टो पोलिमर्स प्रालिको नाममा पेस गरेको करचुक्ताको पत्र नक्कली रहेको पुष्टि भएपछि ब्युरोले उनलाई मंसिर १९ मा पक्राउ गरेको थियो।
ब्युरोका एसएसपी उत्तमबहादुर कार्कीका अनुसार राष्ट्रिय सर्तकता केन्द्रको जानकारीका आधारमा ब्युरोले अनुसन्धान गरी आरोप पुष्टि भएपछि उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको थियो।
अनुसन्धानका क्रममा उनले पेस गरेको करचुक्ता पत्र नक्कली ठहर भएपछि प्रहरीले कीर्ते आरोपमा अनुसन्धान सुरु गरेको थियो। उनले असार २८ मा करचुक्ता प्रमाणपत्र बुझाए पनि भदौंमा मात्र करचुक्ता गरेको पुष्टि भएको स्रोतले बतायो।
संघाइलाई हिरासतबाट उन्मुक्ति
कीर्ते अभियोग लागेका संघाइका कर्मचारी वीरेन्द्र अधिकारी पक्राउ परेको दिनदेखि महानगरिय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। पुस १ मा पक्राउ परेलगत्तै उनलाई हिरासतमा राखिएको थियो। मंसिर १९ मा पक्राउ परेका संघाइले एक दिन पनि प्रहरी हिरासत बस्नुपरेन।
हनुमानढोकाको हिरासतमा राख्न प्रहरीले लैजाँदै गर्दा बिरामीको वहाना गर्दै ढलेका उनको स्वास्थ्य स्थिति ठीक रहेको वीर अस्पतालका चिकित्सकले पुष्टि गरे पनि उनका निजी चिकित्सकले भने ‘गम्भीर समस्या छ’ भन्दै नर्भिक अस्पताल भर्ना गर्न सुझाव दिएका थिए। अहिलेसम्म पनि संघाइ नर्भिक अस्पतालमै छन्।
संघाइ स्वस्थ हुँदाहुँदै पनि प्रहरी अनुसन्धान प्रभावित पार्न र हिरासतमा बस्नबाट जोगाउन चिकित्सक र अस्पतालले बदमासी गरेको प्रहरीको दाबी छ।
अनौपचारिक रूपमा प्रहरी अधिकारी, अस्पताल र चिकित्सक मिलेर सामान्य बिरामी संघाइलाई गम्भीर भन्दै अस्पतालमा राखेर अनुसन्धान प्रभावित पार्न खोजेको आरोप छ।
अर्धवार्षिक समीक्षा सार्वजनिक कार्यक्रममा सोमबार ब्युरोका एसएसपी कार्कीले संघाइको स्वास्थ्य अवस्था, डिस्चार्ज हुने समय र उपचारबारे अस्पताल प्रशासनलाई सोध्दा जवाफ नआएको बताए। संघाइलाई लागेको रोग, उपचारअवधि र डिस्चार्ज मितिबारे अस्पताल मौन बसेको ब्युरोका अधिकारीले बताए।
0
Advertisements