डीआईजी बढुवामा बांगो खेल

Posted: December 24, 2012 in By Deepak Kharel

बलराम बानिया, सुन्दर खनाल

वरिष्ठलाई पदोन्नति गर्ने परम्परा तोडेर गत साता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बाट बढुवा गरिएका पाँच नायब महानिरीक्षक (डीआईजी) लाई आइतबार दज्र्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षकबाट दज्र्यानी चिह्न प्राप्त गर्ने नया डीआईजीहरू श्यामबहादुर खड्का, नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी हुन् ।

सरकारले ०४३ सालको ब्याचबाट सेवा प्रवेश गरेका बाँकी आठ एसएसपीमध्ये खड्कालाई मात्र बढुवा गरेको थियो । बाँकी सात वरिष्ठ एसएसपीलाई छाडेर ०४५ को ब्याचबाट सेवा प्रवेश गरेका नयाँ चार एसएसपी सिलवाल, अर्याल, चन्द र भण्डारीलाई डीआईजीमा बढुवा गरिएको हो । वरिष्ठ भए पनि डीआईजी बढुवामा छुटेका २०४३ ब्याचमा सेवा प्रवेश गरेका एसएसपीमा पूर्णसिंह खड्का, मनोहर रिमाल, रामकुमार खनाल, रविप्रताप राणा, प्रेमबहादुर चन्द, राजबहादुर बिष्ट र ज्ञानोद वैद्य छन् । उनीहरू सबैजसो पटक-पटक असक्षमताका कारण कारबाही र नसिहतमा परेको प्रहरी रेकर्ड भएकाले उनीहरूको पदोन्नति नभएको गृहका अधिकारी बताउँछन् । यसरी भयो सहमति आर्थिक चलखेलसमेत आशंका भएको लामो कसरतपश्चात् सरकार बढुवाको निर्णयमा पुगेको थियो । यसबाट गृहमन्त्री विजयकुमार गच्छदारले कुनै पनि हालतमा एसएसपी जयबहादुर चन्दलाई बढुवा गराइछाड्ने ‘हठ’ पूरा गरेका छन् । उनी अर्का एसएसपी हेमन्त पाललाई पनि डीआईजीमा बढुवाको ढिपीमा थिए । गृह मन्त्रालयका अधिकारीसितको छलफलको सुरुमा गृहमन्त्री व्यावसायिकता र कार्यक्षमताका आधारमा बढुवा गर्नुपर्छ भन्ने कुनै तर्क सुन्न तयार थिएनन् । एसएसपीबाट डीआईजीमा पाँच जनालाई बढुवाका लागि प्रस्ताव बनाउन गच्छदार, गृहसचिव नवीनकुमार घिमिरे र प्रहरी महानिरीक्षक (आईजीपी) कुवेरसिंह रानाबीचको गत मंगलबारको बैठकमा गृहमन्त्रीले सुरुमै ‘डीआईजीमा बढुवा हुनुपर्ने आफ्ना दुई जना छन्,’ भनेका थिए । बुधबार मन्त्रिपरिषद् बैठकबाट जसरी पनि बढुवाको निर्णय गराउनुपर्ने भएकाले घिमिरे र रानालाई गृहमन्त्रीलाई सहमतिमा ल्याउनुपर्ने बाध्यता थियो । चार घन्टा लामो बैठकपछिमात्र गृहमन्त्री, घिमिरे र रानाबीच सहमति भएको थियो ।

घिमिरे र रानाले कार्यसम्पादनलाई आधार मानी २०४३ सालको ब्याचलाई छाडेर २०४५ सालको ब्याचमा सेवा प्रवेश गरेका एसएसपीलाई बढुवा गर्दा प्रहरी संगठनको दीर्घकालीन स्वास्थ्यमै सकारात्मक असर पर्ने धारणा राख्दै एसएसपीहरू नवराज सिलवाल, प्रकाश अर्याल, बमबहादुर भण्डारी र देवेन्द्र सुवेदीलाई पदोन्नति गर्न प्रस्ताव गरेका थिए । २०४३ ब्याचबाट सेवा प्रवेश गरी बाँकी आठ जना एसएसपीमध्ये प्रशासनिक क्षमता भएका मानिने एसएसपी श्याम खड्कालाई त्यही सूचीमा राखिएको थियो । खड्का सुडान घोटाला प्रकरणमा विशेष अदालतबाट सफाइ पाएका हुन् । स्रोतका अनुसार गच्छदारले चन्द एक नम्बरमा बढुवा गर्न योग्य प्रहरी अधिकृत भएको र पाललाई पनि छुटाउन नहुने अडान बैठकको अन्तिम समयसम्म लिइरहे । त्यसो गर्दा एकदमै नकारात्मक सन्देश जाने तर्कबाट घिमिरे र राना पछाडि नहटेपछि गच्छदार अन्ततः चन्दलाई मात्र बढुवा गर्न राजी भए । सात महिनाअघि महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख भएका चन्दले गृहमन्त्रीसँग आफ्नो बढुवाको माहोल बनाउन सघन सम्बन्ध कायम गरेको स्रोतले उल्लेख गर्‍यो । बैठकमा घिमिरे र रानालाई मनाउने अन्तिम उपायस्वरूप गच्छदारले बरु पुरानैलाई बढुवा गर्नुपर्छसमेत भनेका थिए । बढुवा प्रकरणमा प्रहरी नेतृत्व पनि देखिने गरी विभाजित भएको थियो । हालै एआईजीमा बढुवा भएकाहरूले पुरानैलाई गर्नुपर्नेमा लबिइङ गरेका थिए भने केही प्रभावशाली डीआईजी पनि त्यतैपट्टि मुखर भएका थिए । बढुवा भएका २०४३ ब्याचवालाहरूमध्येबाटै चार वर्षपछि प्रहरी नेतृत्व छानिने निश्चित छ । डीआईजीमा बढुवा भएका सिलवाल नेतृत्व क्षमताका कारण परिचित छन् भने अर्याललाई प्रशासनिक जिम्मेवारीमा राम्रो मानिन्छ । कार्की मेहनती मानिन्छन् । चन्द सबै कार्यकालमा विवादास्पद निर्णयका कारण चिनिँदै आएका छन् । सिलवाल, अर्याल, चन्द र कार्की तीन वर्षअघि क्रमशः पहिलोदेखि चौथो नम्बरमा एसएसपीमा बढुवा भएका थिए ।

सर्वोच्चमा रिट

काठमाडौं (कास)- सरकारले हालै गरेको पाँच प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक -डीआईजी) मा बढुवाको निर्णय कानुनविपरीत भएको भन्दै बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा आइतबार रिट दायर गरेको छ ।

मन्त्रिपरिषद्ले पुस ४ गते श्यामबहादुर खड्का, नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारीलाई बढुवा गर्ने निर्णय गरेको सार्वजनिक सूचना माध्यमबाट जानकारी हुन आएको रिटमा उल्लेख छ ।

रिटमा उक्त निर्णय प्रहरी नियमावली, अन्तरिम संविधान, सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्त र नेपाल प्रहरी सेवाको समग्र मान्यता र अभ्याससमेतको प्रतिकूल भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग छ । प्रहरी वरिष्ठ उपरीक्षकहरू रविप्रताप राणा, पूर्णसिंह खड्का, मनोहरप्रसाद रिमाल, रामकुमार खनाल, ज्ञानोदराज वैद्य र राजबहादुर बिष्टले संयुक्त रूपमा दायर गरेको रिटमा निवेदनको अन्तिम टुंगो नलागेसम्म बढुवासम्बन्धी निर्णय यथास्थितिमा राख्न आदेश जारी गर्न माग गरिएको छ ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय, बढुवा समितिका अध्यक्ष सचिव गृह मन्त्रालयसमेतलाई विपक्षी बनाइएको छ ।

प्रकाशित मिति: २०६९ पुस ९ ०८:४३ police logo

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s