डिआइजी बढुवामा विवाद

Posted: December 9, 2012 in By Deepak Kharel

नवराज मैनाली

प्रहरीमा नायब प्रहरी महानिरीक्षक -डिआइजी) पदमा रिक्त पाँच पदमा बढुवाका लागि विवाद भएको छ । बढुवामा वरिष्ठतालाई मात्र आधार बनाउने कि कार्यक्षमताका आधारमा बढुवा गर्ने भन्ने विषयमा विवाद भएको हो ।
पुरानो ब्याचका एसएसपीहरूले वरिष्ठताकै आधारमा बढुवा गर्नुपर्ने भन्दै प्रहरी महानिरीक्षक, गृहसचिव तथा गृहमन्त्रीलाई दबाब दिएका छन् । त्यस्तै, नयाँ ब्याचका एसएसपीहरू पनि बढुवाको दौडधुपमा छन् ।
स्रोतका अनुसार गृहमन्त्री विजयकुमार गच्छदार वरिष्ठताका आधारमा बढुवा गर्ने पक्षमा देखिएका छन् । तर, महानिरीक्षक कुबेरसिंह राना भने कार्यक्षमतालाई आधार बनाई नयाँ ब्याचका एसएसपीलाई पनि बढुवा गर्ने पक्षमा छन् । सोमबार रिक्त पदमा बढुवा गर्ने तयारी भइरहे पनि सोही विवादका कारण बढुवा प्रक्रिया लम्बिन सक्ने देखिएको छ ।
स्रोतका अनुसार सहमति भएमा आइतबार नै बढुवा समितिको बैठक बस्नेछ । महानिरीक्षकको अध्यक्षतामा हुने डिआइजीको बढुवा समितिमा मानवस्रोत विकास विभागका एआइजी गंगा पाण्डे र गृह मन्त्रालयका सहसचिव गणेशराज कार्की सदस्य छन् । एसएसपीबाट डिआइजीमा बढुवा मन्त्रिपरिषद्बाट गर्नुपर्ने हुन्छ ।
पुरानो ब्याचबाट बढुवा गर्दा, श्याम खड्का, रविप्रताप राणा, पूर्णसिंह खड्का, मनोहर रिमाल, रामकुमार खनाल, प्रेमबहादुर चन्द, ज्ञानोदराज वैद्य प्रतिस्पर्धामा छन् । नयाँ ब्याचबाट नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द, बमबहादुर भण्डारी र रणबहादुर चन्द वरिष्ठताका आधारमा प्रतिस्पर्धी हुनेछन् ।
पुरानो ब्याचका एसएसपीहरू बढुवा भए पनि ३० वर्षे सेवाअवधिका कारण डिआइजी पदबाटै अवकाश पाउनेछन् । पटक-पटक कारबाहीमा परेका र राम्रो काम गर्न नसक्ने प्रहरी अधिकारीका रूपमा उनीहरू चिनिन्छन् ।
पुरानो ब्याचका रविप्रताप राणा र श्याम खड्का भ्रष्टाचार मुद्दा झेलिरहेका प्रहरी अधिकारी हुन् । सुडान शान्ति मिसन घोटाला प्रकरणमा विशेष अदालतले सफाइ दिएपछि सर्वोच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध पुनरावेदन गरिसकेको छ ।
त्यस्तै, एसएसपी पूर्णसिंह खड्का पनि तीनपटक विभागीय कारबाहीमा परिसकेका अधिकारी हुन् । २ जेठ ०४५, ३२ साउन ०५३ मा र ९ चैत ०६३ मा उनी कारबाहीमा परेका थिए । पर्साको प्रहरी प्रमुख हँुदा पक्राउ परेका एक भारतीय अपराधीलाई ८० हजार भारतीय रुपैयाँ घुस खाएर छाडेको ‘केस’मा उनी तानिएका थिए ।
त्यस्तै प्रेम चन्दको पनि कारबाही स्वरूप ग्रेड रोक्का भएको थियो । अञ्चल प्रहरी कार्यालय बागमतीमा कार्यरत रहँदा कार्यालयका लागि जग्गा खरिदको अनियमिततामा उनी मुछिएका थिए । रामप्रसाद खनाल रौतहटको प्रहरी प्रमुख रहदा गौर हत्याकाण्ड भएको थियो । सो घटनामा उनको भूमिका शंकास्पद भएको भन्दै तत्कालै सरुवा गरिएको थियो ।
एसएसपी ज्ञानोदराज वैद्य पनि तीनपटक विभागीय कारबाहीमा परिसकेका छन् । ८ कात्तिक ०५८, १ असोज ०६० र २७ वैशाख ०६१ मा उनी कारबाहीमा परेका थिए । उनलाई कमान्ड गर्न नसकेको र कार्यक्षमताको अभाव भएको भन्दै कारबाही गरिएको थियो । एसएसपी मनोहर रिमाल पनि असामान्य व्यवहार र सुस्त कार्यशैलीका कारण कारबाहीमा परेका हुन् । यसरी पटक-पटक कारबाहीमा परेकाभन्दा नयाँ ब्याचका एसएसपीलाई बढुवा गर्नुपर्ने पक्षमा महानिरीक्षक राना रहेको स्रोतको दाबी छ । तर, गृहमन्त्री गच्छदार भने कारबाहीमा परेका पुराना एसएसपीलाई नै बढुवा गर्नुपर्ने अडानमा रहेको स्रोत बताउँछ ।
नयाँ ब्याचबाट भावी आइजिपी चयन हुने भएकाले सो ब्याचका प्रहरी अधिकारीहरू व्यावसायिक हिसाबले पनि राम्रो रहेको र उनीहरूको ब्याचबाट बढुवा गर्नुपर्ने दबाब प्रहरी महानिरीक्षकलाई परेको छ । स्रोतका अनुसार महानिरीक्षक मात्र नभई गृहसचिव नवीन घिमिरेसमेत नयाँ ब्याचबाट बढुवा गर्नुपर्ने पक्षमा छन् । तर, पनि दुवै ब्याचका एसएसपीलाई मिलाएर बढुवा गर्ने सम्भावना रहेको गृह मन्त्रालय स्रोत बताउँछ । कार्यक्षमताकै आधारमा संगठनलाई अघि बढाउन गृह मन्त्रालयले ६ महिनापछि लागू हुने गरी नयाँ सिद्धान्तसमेत ल्याइसकेको छ ।
यसैबीच, नेपाल प्रहरीमा आठ महिनाअघिदेखि २० भन्दा बढी एसपी पद रिक्त छन् । बढुवाको प्रतीक्षामा रहेका सिनियर डिएसपी निराश छन् । त्यसो त सबैजसो पदमा समयमा बढुवा हुन नसक्दा त्यसको असर सुरक्षा व्यवस्थामा पर्ने गरेको छ ।
डिआइजीबाटै आइजिपी

आगामी ११ महिनाको बीचमा कुनै अनपेक्षित घटना नभए अर्काेपटक नेपाल प्रहरीमा डिआइजीबाट सीधै आइजिपीमा बढुवा हुने भएको छ । हालका आइजिपी कुबेरसिंह राना र सबै एआइजीहरू आगामी वर्ष एकैचोटि अवकाश पाउने भएकाले सरकारले डिआइजीमध्येबाट एकजनालाई आइजिपीमा बढुवा गर्नुपर्ने हुन्छ ।
रिक्त पाँच एआइजीको पदमा अघिल्लो साता सरकारले वरिष्ठतालाई मात्र आधार बनाएर बढुवा गरेपछि अब डिआइजीबाटै आइजिपी हुने निश्चित भएको हो । केही समयअघिको मन्त्रिपरिषद् बैठकले पुराना ब्याचबाट दीनकरशमशेर राणा, गंगा पाण्डे, विनोद सिंह, रमेशविक्रम शाह र पुष्कर रेग्मीलाई एआइजीमा बढुवा गरेको हो । उनीहरू आइजिपी रानाकै ब्याचका हुन् । उनीहरू पाँचजनासहित आइजिपी राना तथा गत वर्ष नै बढुवा भएका एआइजीद्वय नवराज ढकाल र भीष्म प्रसाईं ३० कात्तिक ०७० मा एकैचोटि अवकाश पाउनेछन् । त्यसकारण रिक्त हुने आइजिपी पदमा सरकारले डिआइजीमध्येबाट बढुवा गर्नुपर्ने हुन्छ ।
वरिष्ठताका आधारमा उपेन्द्रकान्त अर्याल, राजेन्द्रसिंह भण्डारी, नारायण बास्ताकोटी, सुरेन्द्रबहादुर शाहलगायतका प्रमुख दाबेदार हुनेछन् । महिला डिआइजीहरू पार्वती थापा र विमला थापा पनि भावी आइजिपीको प्रतिस्पर्धामा छन् । तर, दुवैजना महिला डिआइजी महिलाको विशेष पदमा बढुवा भएका हुन् । महिलालाई पनि अवसर दिनुपर्ने माग उठ्दै आएको छ ।
इन्सपेक्टरमा दुवै महिला डिआइजी उपेन्द्रकान्त अर्यालको ब्याचभन्दा चार महिना सिनियर हुन् । तर, पछि बढुवामा सधै उनीहरू पछि थिए । ०६५ मा सरकारले विशेष पद सिर्जना गरी उनीहरूलाई डिआइजीमा बढुवा गरेको थियो ।
महिला डिआइजीलाई वरिष्ठतामा अगाडि नै राखेर मूल्यांकन गरेमा उनीहरू पनि महानिरीक्षकका दाबेदार हुनेछन् । महानिरीक्षक नै भए पनि चार महिनामै उनीहरूले अवकाश पाउनेछन् । माघ ०७० मा दुवै महिला डिआइजीको ३० वर्ष सेवाअवधि पुग्छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.