भारतको प्रतिष्ठित च्यानल ‘जी न्युज’ का सम्पादकहरू पक्राउ

Posted: November 29, 2012 in By Deepak Kharel

भारतको जी न्युज च्यानलले आफ्ना दुई सम्पादक सुधीर चौधरी र समीर अहलुवालिया- माथिको प्रहरी कारबाहीलाई गैरकानुनी बताएको छ । उनीहरूलाई जबरजस्ती रकम असुल्न खोजेको आरोपमा मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । च्यानलको समाचार प्रमुखको रूपमा चौधरी र वाणिज्य प्रमुखको रूपमा अहलुवालिया कार्यरत छन् । राजनीतिक दबाबमा उनीहरूलाई नियन्त्रणमा लिइएको च्यानलको दाबी छ ।

उनीहरूमाथि कंग्रेसी सांसद एवं उद्योगपति नवीन जिन्दल ग्रुपसँग एक समाचार प्रकाशन नगर्ने सर्तमा सय करोड भारतीय रुपैयाँ मागेको आरोप लागेको थियो । उद्योगपति जिन्दलसँग जोडिएको कोइला भ्रष्टाचार प्रकरणको खुलासा गर्न उक्त च्यानलले ‘स्टिङ अपरेसन’ गरेकोे थियो । दुवै सम्पादकले यो आरोपलाई गलत बताएका छन् ।

कम्पनीका अधिकारीको सहयोगले जिन्दलले उक्त च्यानलका सम्पादकले रकमको मोलमोलाइ गरिरहेको भिडियो टेप बनाएका थिए । उक्त न्युज च्यानलका सीईओ आलोक अग्रवालले बुधबार आयोजित पत्रकार सम्मेलनमा सम्पादकहरूलाई बिनाप्रमाण पक्राउ गरिएको बताएका छन् । कोइला भ्रष्टाचार प्रकरणमा कंग्रेसी सांसद जिन्दल र उनको कम्पनी जिन्दल स्टिल एन्ड पावर लिमिटेड -जेएसपीएल) मुख्य अभियुक्त भएको उनले बताए ।

जीका सम्पादक र उक्त कम्पनीका अधिकारीबीच भएको ६ घन्टे वार्ताको मात्र १५ मिनेटको टेप सार्वजनिक गरिएको छ । भिडियो टेपमा उक्त च्यानलका सम्पादकहरूले खबरको प्रसारणलाई रोक्न सुरुमा २० करोड रुपैयाँ र पछि सय करोड मागेको देखाइएको छ । यो मामिला हाल अदालतमा विचाराधीन भए पनि ‘ब्ल्याकमेलिङ’ को आरोपमा प्रहरीले च्यानलका सम्पादकहरूलाई पक्राउ गरेको छ । च्यालका कर्मचारीहरूले बुधबार कालोपट्टी लगाएर काम गर्दै यसको विरोध गरेका छन् ।

प्रेस काउन्सिल अफ इन्डियाका अध्यक्ष जस्टिस मार्कण्डेय काटजुले जाँच पूरा नभएसम्म सरकारले जी न्युजको लाइसेन्सलाई निलम्बन गर्नुपर्ने सुझाव दिएका छन् । पत्रकारिता क्षेत्रमा व्याप्त फोहोरको सफाइ आवश्यक भएको उनले बताएका छन् ।

उनले हालै आफूले प्रधानमन्त्री मनमोहन सिंह र विपक्षी दल भाजपाकी नेतृ सुष्मा स्वराजलाई प्रेस काउन्सिलको ठाउँमा सजाय दिने अधिकार भएको मिडिया काउन्सिलको गठन गर्ने सल्लाह दिएको बताए ।

उनले मिडियामाथि नियन्त्रणभन्दा विवेकशील निगरानीको आवश्यकता भएको बताए । अदालतले यो मुद्दाको फैसला गर्ने भए पनि यसले सञ्चारमाध्यमको छविमा नकारात्मक असर परेको उनको बुझाइ छ ।

राष्ट्रिय प्रसारक संघका महासचिव एनके सिंहले यसलाई भारतीय पत्रकारिताको क्षेत्रमा अपवादपूर्ण घटनाको रूपमा लिँदै एक समितिको गठन गरेको बताए । समितिको रिपोर्टपछि च्यानलका सम्पादक सुधीर चौधरीलाई संघको कोषाध्यक्ष र सदस्य पदबाट हटाइएको बताए । युरोपेली मुलुकमा समेत नभएको प्रेसले स्वयंमाथि निगरानी राख्ने व्यवस्था गर्न लागेको सिंहले जानकारी दिए । सञ्चारको मामिलामा सरकारी हस्तक्षेपलाई कम गर्न यो आवश्यक भइसकेको उनले बताए ।

यो प्रकरणमा उक्त च्यानलले जिन्दललाई १ सय ५० करोड रुपैयाँको मानहानीको नोटिस र जिन्दलले च्यानलमाथि २ सय करोड रुपैयाँको मानहानीको मुद्दा गरिसकेको छ । जिन्दलको कम्पनीले च्यानलका चारजना सुभास चन्द्रा, पुनीत गोयनका, सुधीर चौधरी र समीर अहलुवालियाविरुद्ध मुद्दा गरेको थियो । भारतीय पत्रकारिता क्षेत्रका दुई वरिष्ठ हस्तीविरुद्ध आपराधिक आरोप लागेपछि यो प्रकरणले बुधबारदेखि नयाँ मोड लिएको छ ।

उद्योगपति नवीन जिन्दल -बायाँ) र जी न्युजका समाचार प्रमुख सुधीर चौधरी

प्रकाशित मिति: २०६९ मंसिर १४ ०९:१४

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.