असुरक्षित छन् भिआइपीहरु

Posted: November 29, 2012 in By Deepak Kharel

केपी ढुंगाना

• एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भगवान कार्कीले ६ वर्षदेखि सुरक्षा दिँदै आएका छन्। उनको व्यक्तिगत सुरक्षानिम्ति प्रहरी नायब निरीक्षक कार्कीसहित तीनजना खटाइएका छन्।

• कांग्रेस सभापति सुशील कोइरालाको सुरक्षा जिम्मेवारी प्रहरी निरीक्षक महेन्द्र मरासिनीले लिँदै आएका छन्। तीन वर्षयता उनी अन्य तीन सहयोगीसहित कोइरालाको सुरक्षामा खटिएका छन्।

• एमाले अध्यक्ष झलनाथ खनाललाई नेपाल प्रहरीका सईद्वय अमीरकुमार दाहाल र मनराज बानियाँले सुरक्षा दिन थालेको पनि दुई वर्ष भइसक्यो।

संयोग नै मान्नुपर्छ, निरन्तर सुरक्षाकर्मीको रेखदेखमा रहेका प्रमुख दलका प्रमुख यी तीनै नेताले सार्वजनिक मञ्चमै आक्रमणको सामना गर्नुपर्‍यो। सामान्य व्यक्तिबाट सार्वजनिक स्थलमा गरिएका यी हमलाहरुले विशिष्ट व्यक्तिको सुरक्षामा सरकारले गरेको लगानीमाथि नै प्रश्न तेर्स्याइदिएको छ।

सरकारले अति विशिष्ट र विशिष्ट व्यक्तिका सुरक्षामा व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) खटाउँछ। सुरक्षा संवेदनशीलता हेरेर खटिने यस्ता पिएसओले एकै व्यक्तिको सुरक्षामा एक वर्षभन्दा बढी खटिन नपाउने नियम छ।

भिआइपीको जनधन र प्रतिष्ठाको सुरक्षा प्रमुख जिम्मेवारी हो- पिएसओको। विशिष्ट व्यक्तिको सुरक्षामा खटिने प्रहरी अधिकृतलाई ‘यी तीनै विषयमा चुके क्षम्य नहुने’ निर्देशन तालिममै दिइन्छ।

लामो समयसम्म एउटै व्यक्तिको सुरक्षामा खटिँदा सुरक्षाकर्मीको उक्त व्यक्तिसँग हुने आत्मीय सम्बन्ध नै सुरक्षामा सबैभन्दा ठूलो खतरा बन्न सक्छ। त्यसैले विशिष्ट व्यक्तिको सुरक्षा निर्देशिकामै कुनै पनि भिआइपीको सुरक्षामा अधिकतम एक वर्षमात्र एउटै पिएसओ खटाउने व्यवस्था छ।

नेपालमा भने भिआइपीका सुरक्षाकर्मी नियमित रूपमा फेरिँदैनन्।

आफ्नो सुरक्षा घेरामा रहेका भिआइपीमाथि आक्रमण हुँदा मूकदर्शकझैँ देखिन्छन् पिएसओहरू।

‘व्यक्तिगत सम्बन्ध जोडिँदा भिआइपीले बढी विश्वास गर्ने र सुरक्षाकर्मीको पनि ध्यान अन्यत्रैतिर तानिन सक्ने हुन्छ,’ सुरक्षा अनुभवी एक प्रहरी अधिकृतले भने, ‘सधैँ सँगै भइसकेपछि लापरबाही हुनु अनौठो होइन।’

जोखिम राष्ट्रपतिसम्म
नेपाल प्रहरीको सुरक्षा महाशाखाले ४ सय १५ प्रहरीलाई विशिष्ट व्यक्तिको सुरक्षामा खटाएको छ। राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु, पूर्व प्रधानमन्त्री, पूर्वमन्त्री, सरकारी अधिकारी, संवैधानिक निकायका पदाधिकारी र सुरक्षा जोखिम देखिएका जोकसैको पनि सुरक्षाका लागि केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार खटिने पिएसओमध्ये ज्यादै कममात्र तोकिएको समयामा फेरिन्छन्।

प्रहरी तथ्यांकअनुसार नेपाल प्रहरीका सई हेमन्तविक्रम राणा राष्ट्रपति रामवरण यादवको व्यक्तिगत सुरक्षामा खटिएको चार वर्ष कट्न लागेको छ । सेनाको सुरक्षा घेरासँगै प्रहरीका तर्फबाटसमेत राष्ट्रपतिको सुरक्षामा १० जना खटिन्छन्। जसमा दुई पिएसओ छन्। राणा २०६५ चैत १४ बाट राष्ट्रपति यादवसँगै छन्।

पूर्वप्रधानमन्त्री तथा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पाँच वर्षदेखि सई हिमालय शाहको भरमा छन्। एक वर्षअगाडि मनबहादुर धिताल थपिएका छन्।

पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको साथमा २०६६ देखि अहिलेसम्म उही पिएसओ छन्। पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षामा खटिएका पिएसओको समय पनि एक वर्ष नाघेको छ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द चार वर्षदेखि एउटै पिएसओको सुरक्षा भरमा छन्। पूर्वप्रधानमन्त्री मरिचमान सिंहको सुरक्षामा दीपकराज कुँवर खटिएको पनि उत्तिकै वर्ष भयो। सई उमेशकान्तमान अमात्य र रेवती खनाल अर्का पूर्वप्रम सूर्यबहादुरको थापाको सुरक्षामा खटिएको पनि तीन वर्ष पुगिसक्यो।

पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी २०६७ देखि एकै पिएसओको भरमा छन्। गृहमन्त्री भइसकेका वामदेव गौतम पनि आफ्नो सुरक्षामा सचेत देखिएका छैनन्। उनको सुरक्षामा २०६५ देखि नै सई भरतबहादुर बोगटी र रुद्र मगर छन्।

चार पिएसओ पाएका पूर्व गृहमन्त्री कृष्णबहादुर महराको पिएसओ नफेरिएको पनि तीन वर्ष टेकिसक्यो। २०६६ बाट उनको पिएसओ एकै सुरक्षाकर्मी छन्।

पिएसओ पाएका उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस नेता रामचन्द्र पौडेललगायतकाहरु भने अपवाद देखिए। यिनीहरु समयमा पिएसओ परिर्वतन गर्नेमा पर्छन्।

जानकार प्रहरी अधिकारीका अनुसार लामो समयसम्म भिआइपीसँग उठबस भएपछि उनीहरुको गोप्य कुराहरु सुरक्षाकर्मीबाट छिप्दैन। र, आफ्ना सुरक्षाकर्मी अन्यत्र सरुवा हुँदा त्यस्ता सूचना उनीहरुसँगै बाहिरिने त्रास भिआइपीहरूमा देखिन्छ।

लामो समयसम्म सुरक्षामा खटिएपछि पिएसओहरु सुरक्षाकर्मीमात्र रहँदैनन्, किनमेलदेखि घरायसी काममा सहयोगीका रूपमा बदलिन्छन् उनीहरु। फलस्वरूप भिआइपीहरु आफ्ना पिएसओ फेर्न तयार हुन्नन्।

अर्कोतिर पिएसओको राजनीतिक र सामाजिक हैसियत अन्य सुरक्षाकर्मीको भन्दा पहुँचदार हुन्छ। त्यसकै आडमा कतिपय पिएसओले भिआइपीबाट व्यक्तिगत लाभ पनि पाइरहेका हुन्छन्। त्यही आडमा उनीहरु प्रहरी संगठनबाट हुने सरुवाबढुवामा भनसुन गर्ने बिचौलियाका रुपमा पनि सक्रिय हुने गर्छन्। यो पहुँच फुत्कन नदिन पिएसओहरु पनि हत्तपत्त फेरिन चाहँदैनन्।

विशिष्ट व्यक्तिको सुरक्षा चुनौतीको विश्लेषणका आधारमा अब्बल ठहरिएका विशेष पिएसओले लामो समयसम्म एकैजनाको सुरक्षामा खटिनु सामान्य भए पनि सबैका हकमा यो लागु हुन नसक्ने डिआइजी अधिकारीले बताए।

सुरक्षामा खटाउनुपर्ने व्यक्तिको सुरक्षा चुनौतीको विश्लेषणका आधारमा खटिने प्रहरीको पुष्ठभूमि र क्षमता हेरेर व्यक्तिगत सुरक्षामा खटाउँदा प्रभावकारी हुने सुरक्षा विश्लेषकहरुको मत छ। तर, यहाँ विश्लेषणभन्दा पनि भिआइपीको मागका भरमा कसलाई कसकोमा खटाउने भन्ने निश्चित हुने भएकाले क्षमताले भन्दा सम्बन्धले बढी काम गरिरहेको हुन्छ।

प्रहरी प्रवक्ता केशव अधिकारी सुरक्षा चुनौतीको विश्लेषणका आधारमा सक्षम पिएसओ खटाइने गरिएको बताउँछन्। जन, धन र प्रतिष्ठा तीनै कोणबाट सुरक्षा हुनुपर्ने भएकाले पिएसओमा विशिष्ट क्षमताका प्रहरी छानिने उनको तर्क छ।

‘विशेष परिस्थितिबाहेक कुनै पनि पिएसओ एक वर्षभन्दा बढी समय एकै व्यक्तिको सुरक्षामा नखटिनु राम्रो,’ समय-समयमा पिएसओ परिर्वतन सुरक्षा रणनीतिको महŒवपूर्ण पाटो भएको बताउँदै उनले स्विकारे, ‘तर केही पिएसओ लामो समयदेखि एउटै व्यक्तिको सुरक्षामा खटिइरहेका छन्।’

कसको साथमा, कति पिएसओ?
राष्ट्रपति यादवको सुरक्षामा प्रहरीबाट १० जना प्रहरी खटिएका छन्। राष्ट्रपतिको भान्छेसमेत प्रहरी नै छन्। प्रधानमन्त्री बाबुराम भट्टराईको सुरक्षामा डिएसपीको कमान्डमा ८० प्रहरी खटिएका छन्। उपप्रधान र गृहमन्त्री विजयकुमार गच्छदारको सुरक्षामा १२ प्रहरी खटाइएको छ।

पूर्वप्रधानमन्त्रीको हैसियतमा सबैभन्दा धेरै पिएसओ माओवादी अध्यक्ष पुष्पकमल दाहालका लागि खटिएका छन्। पूर्वप्रम झलनाथ खनाल दुई र माधव नेपालसँग तीन जना प्रहरी छन्। पूर्वप्रमहरू देउवा, थापा, चन्द र सिंहसँग पनि दुईदुई पिएसओ छन्। प्रधान कार्यालयले दाहाललाई पिएसओ, स्कटिङ, चालक र भान्छेसमेत गरी २१ जना प्रहरी दिएको छ।

पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेतृ सुजाता कोइरालालाई दुई पिएसओसहित पाँच प्रहरीको सुरक्षा छ, जब कि उनकै पार्टीका सभापति सुशील कोइरालाको सुरक्षामा नेपाल प्रहरीका चारजना खटिएका छन्। प्रधानमन्त्री पत्नी हिसिला यमीको साथमा चार प्रहरी छन्। कांग्रेस नेता अर्जुननरसिंह केसीसँग पनि तीन पिएसओ छन्।

नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यको सुरक्षामा दुई पिएसओ खटिएका छन्। उपाध्यक्ष सिपी गजुरेल, नेत्रविक्रम चन्द, खड्गबहादुर विक र देव गुरुङको साथमा पनि पिएसओ छन्।

एमाले नेता केपी ओली, भरतमोहन अधिकारी, ईश्वर पोखरेल, भीम रावल, विष्णु पौडेल र रघुवीर महासेठले दुई पिएसओ पाएका छन्। कांग्रेस नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण सिटौला, पूर्णबहादुर खड्का, सशांक कोइराला र गोविन्दराज जोशीसँग पनि पिएसओ छन्।

कमल थापा, निरञ्जन थापा, बुद्धिमान तामाङले समेत प्रहरी सुरक्षा लिएका छन्। कमल थापासँग चारजना प्रहरी खटिन्छन्। अन्यसँग एकजना खटिन्छन्।

संघीयताविरोधी भन्दै ज्यान मार्ने धम्की पाएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समेत पिएसओ लिएर हिँड्न थालेका छन्। राज्यव्यवस्था समितिका पूर्वसभापति रामनाथ ढकालमाथि आक्रमण भएपछि २०६८ मंसिर २८ बाट उनले पनि पिएसओको सुरक्षा लिएका छन्। भुटानी नेता टेकनाथ रिजालको सुरक्षामा दुई प्रहरी छन्।

संवैधानिक निकायका बहालवाला र अवकाशप्राप्त पदाधिकारीको सुरक्षामा १९ प्रहरी परिचालित छन्। प्रधान न्यायाधीश खिलराज रेग्मीका लागि ६ जना पिएसओसहित आठजना प्रहरी खटिन्छन्। न्यायाधीश रणबहादुर बमको हत्यापछि न्यायाधीश र पूर्वन्यायाधीशको सुरक्षामा ५८ प्रहरी खटाइएको छ।

पूर्वसरकारी र कूटनीतिक नियोगमा ३० जना प्रहरी खटिएका छन्। इजरेली र अमेरिकी राजदूतको सुरक्षामा क्रमशः दुई र तीन प्रहरी खटिएका छन्। मलेसियाली दूतावासले भने चालकमात्र लिएको छ।

केहीले आवश्यकताभन्दा शानका लागि व्यक्तिगत सुरक्षा अधिकृत लिने प्रचलन पनि छ। लोकतान्त्रिक फोरमका अध्यक्ष रामेश्वरराय यादव, कांगे्रसका पूर्वसांसद अमरेशकुमार सिंह र पूर्व सभासद कृष्ण यादव तथा राजकुमार शर्माले केका आधारमा पिएसओ पाएका हुन्, प्रस्ट छैन।

मनपरी मापदण्ड
जिल्ला, क्षेत्र र केन्द्रको खतरा मूल्यांकन समितिको सिफारिसका आधारमा नेपाल प्रहरीको सुरक्षा महाशाखाले व्यक्तिगत सुरक्षा अधिकृत खटाउँदै आएको छ। ओहदा र सुरक्षा चुनौती दुवैको आधारमा सुरक्षाकर्मीको संख्या तोकिन्छ।

ओहदाका आधारमा खटाइएका पिएसओ र प्रहरीको संख्यामा भने एकरूपता छैन। पूर्वप्रधानमन्त्री र प्रमुख दलका नेतालाई दिइने पिएसओ सुविधा मापदण्डमा भन्दा पहुँचमा आधारित छ।

तर, प्रमुख दलका प्रमुख नेतामाथि भएका शृंखलाबद्ध आक्रमणपछि विशिष्टहरुमा नाम नै किटेर पिएसओ माग्नेको संख्या घट्दो छ। ‘अहिले नाम तोकेरभन्दा पनि राम्रो र सक्षम पिएसओको माग आउन थालेको छ,’ डिआइजी अधिकारीले भने।

उनका अनुसार पिएसओका लागि हरेक ६ महिनामा भिभिआइपी सुरक्षा तालिम दिइन्छ। अधिकारीका अनुसार माओवादी अध्यक्ष दाहालमाथिको आक्रमणपछि पिएसओहरुलाई पुनर्ताजगी तालिमसमेत दिइएको छ।

विशिष्ट व्यक्तिको सुरक्षाको सम्पूर्ण जिम्मा पिएसओको हुने गर्दै उनले भने, ‘पिएसओले दिने सुरक्षा सल्लाह विशिष्ट व्यक्तिले मान्नै पर्छ।’ यतिमात्र होइन, सुरक्षा लिइरहेका व्यक्तिले आफूकहाँ जाँदै गरेको र कसकससँग भेट गर्ने कार्यक्रम छ भन्ने जानकारी पिएसओलाई गराउनुपर्छ।

आक्रमणको सिलसिलापछि गृह मन्त्रालयले समेत अति विशिष्ट र विशिष्टको सुरक्षा कार्यविधि संशोधनको गृहकार्य थालेको छ। गृहले निवास, अतिविशिष्ट र विशिष्ट जाने सार्वजनिक स्थललगायतको सुरक्षा र व्यक्तिगत सुरक्षाकेन्द्रित नयाँ कार्यविधि बनाउने काम सुरु गरिसकेको छ।

तर, सुरक्षामा पालना गर्नुपर्ने सामान्य मापदण्ड पनि नेता तथा अन्य व्यक्तिहरु मान्न तयार देखिन्नन्। त्यसैको परिणाम सुरक्षाको जतिसुकै ठूलो घेरा भए पनि उनीहरुमाथि जुनसुकै अवस्थामा आक्रमणको जोखिम रहने सुरक्षाविदहरू बताउँछन्।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s