शिव पुरी
तराईमा सशस्त्र संघर्षरत भूमिगत संगठनले आत्मसमर्पण गर्दा स्थानीय प्रहरीलाई बुझाएका हतियार तथा कारबाहीमा बरामद आधुनिक पेस्तोल समेत जिल्ला प्रहरीको प्रबन्ध शाखाबाट ‘रहस्यमय’ तरिकाले गायब भएको खुलेको छ ।
थ्री-फिप्टिन पेस्तोल ११ थान, भरुवा बन्दुक ४ थान, नलकटुवा पेस्तोल (टोटावाला) २ थान र प्रहरीको सर्वाधिक खोजीको सूचीका तराई आर्मीका केन्द्रीय अध्यक्ष मिस्टर जोनको साथबाट प्रहरी कारबाहीमा बरामद आधुनिक इटलीमा निर्मित पेस्तोल १ थान गायब भएको प्रहरी स्रोतले बतायो । प्रबन्ध शाखाबाट हतियार हराएपछि छानबिन गर्न बनेको जिल्ला प्रहरीको टोलीले तत्कालीन प्रहरी सहायक निरीक्षक काजी रानामगर प्रबन्ध शाखाको इन्चार्ज रहेको बेला ती हतियार गायब भएको प्रतिवेदनमा उल्लेख गरेको छ । छानबिन समितिका संयोजक डीएसपी रामकमल आचार्यले असई रानामगरको लापरबाहीले हतियार गायब भएको बताए । हतियार कहाँ र कसरी हराए भन्नेबारे समिति अन्योलमा परेको छ । २०६४ सालमा गायब भएको हतियार अहिलेसम्म फेला परेको छैन । जिल्ला प्रहरीले हराएका हतियार खोजतलासमा चासो नदेखाएको स्रोतको दाबी छ । त्यसबेला तराई आर्मी, जनतान्त्रिक ज्वाला र गोइत समूह, तराई कोब्रालगायत यहाँ संघर्षरत भूमिगत संगठनका २३ नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरी स्थानीय प्रहरीसमक्ष २० भन्दा बढी थान हतियार बुझाएका थिए । प्रबन्ध शाखामा अहिले हतियार के-कति छन् भन्ने वास्तविक अभिलेख छैन ।
प्रहरी कारबाहीमा समेत भूमिगत संगठन तथा आपराधिक प्रवृत्तिका मानिसबाट ठूलो संख्यामा हतियारहरू बरामद भएका छन् । प्रबन्ध शाखामा रहेको हतियारको अभिलेख रजिस्टर समेतका केही पानाहरू च्यातिएको र केरमेट गरिएकाले शंका गर्ने ठाउँ प्रशस्त रहेको एक सुरक्षा अधिकृतले बताए । संवेदनशील मानिने प्रबन्ध शाखाबाट ठूलो सख्यामा थ्री-नटथ्री राइफलको गोली, थ्री-नटथ्री राइफलको ब्ल्यांक राउन्ड, एसएलआर राइफलको गोली राउन्ड, म्याग्नमको गोली राउन्ड, हर्नेटको गोली राउन्ड, म्याग्जिन, सर्टगनको गोली तथा छर्रा, माओवादी जनयुद्धका बेला बरामद भएको ३१०२२८०२ नम्बरको ठूलो चाइनिज पेस्तोल, र म्याग्जिन, मिनि चाइनिज पेस्तोल गोली, अटोमेटिक रिभल्भरको गोली र ग्यास ह्यान्ड गि्रनेड हराएका हो ।
त्यस्तै, पुरानो फलामे हतकडी, चाइनिज हतकडी, खुकुरी, मोटरसाइकल, मुद्दा शाखाले राख्न दिएको हातहतियारहरू, द्वन्द्वकालमा सुरक्षार्थ राखिएका पब्लिकको बन्दुक समेतको हातहतियार तथा गोलीगठ्ठाहरू रहस्यमय तरिकाले गायब भएका थिए । त्यसबेला प्रबन्ध शाखाको इन्चार्ज रहेका प्रसनि रानामगरको २०६६ भदौ ३ गते मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: २०६९ मंसिर १२ ०९:४८