पूर्वयुवराज पारस थाइल्यान्डमा पक्राउ, लागुऔषध मुद्दामा तारेख खेप्दै

Posted: November 27, 2012 in By Deepak Kharel

केपी ढुंगाना/सुरेन्द्र पौडेल
पूर्वयुवराज पारस शाह थाइल्यान्डमा एक महिनाअघि प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेको खुलेको छ। धरौटीमा हिरासतमुक्त उनी अहिले थाई अदालतमा लागुऔषध मुद्दाको तारेख खेपिरहेका छन्।

अहिलेसम्म गुपचुप राखिएको यो घटनाबारे नेपाल र थाई दुवै सरकार मौन छन्। विश्वस्त स्रोतका अनुसार कात्तिक ७ गते पर्यटकीय सहर फुकेटमा रहेको उनको निजी निवास छापा मार्दा प्रहरीले ३ दशमलब ४ ग्राम गाँजा फेला पारेको थियो।

पारसले बरामद गाँजा आफ्नो नभएको दाबी गरे पनि प्रहरीले उनलाई कार्यालय पुर्‍याएको थियो। उनले फुकेट प्रहरी हिरासतमा एक रात काटे। दोस्रो दिन एक थाई नागरिकले १० हजार भाट धरौटी राखेर उनलाई छुटाएका थिए। उनी अहिले १२-१२ दिनमा तारेख थाम्न अदालत पुग्छन्।

स्रोतका अनुसार प्रहरीले उनको राहदानी जफत गरेको छ। तारेखका लागि वारेस इन्कार गरिएपछि उनी आफैं अदालत धाइरहेका छन्।

थाई कानुनअनुसार लागुऔषध मुद्दाको छिनोफानो हुन कम्तीमा तीन महिना लाग्छ। थाई सरकारले वर्गीकरण गरेको पाँच थरी लागुऔषधमध्ये गाँजा पाँचौं नम्बरमा पर्छ। यो अभियोग पुष्टि भए उनलाई एक वर्ष कैद वा २० हजार भाट जरिवाना वा दुवै सजाय हुनसक्छ। एक नम्बरको लागुऔषध चरेस र हेरोइनसहित पक्राउ परे मृत्युदण्डसम्म हुनसक्छ।

पूर्वयुवराज पारस पक्राउ परेको बारे थाइल्यान्ड प्रहरीले कात्तिक ११ गते नेपाली दूतावासलाई जानकारी गराएको थियो। लगत्तै उक्त खबर परराष्ट्र र गृह मन्त्रालयसम्म आएको थियो।

विदेशमा पक्राउ परेका व्यक्तिबारे परराष्ट्र मन्त्रालयले परिवारलाई जानकारी दिने नियम छ। उच्चस्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहले पनि त्यसको औपचारिक जानकारी पाइसकेका छन् तर पूर्वराजपरिवारका कुनै पनि सदस्यले उनीबारे चासो लिएका छैनन्।

स्रोतका अनुसार पारस अधिकांश समय थाइल्यान्डको पर्यटकीय नगरी बैंककमा बस्ने गरेका छन्। बैंककमा उनको निजी अपार्टमेन्ट छ। बैंककबाट एक घन्टा हवाई दूरीमा रहेको फुकेटमा पनि उनको अपार्टमेन्ट छ। उनले अचेल अर्को सहर पतायामा सामुन्द्रिक उपजको व्यापार गर्दै आएका छन्।

मुद्दाको अन्तिम छिनोफानो नभएसम्म उनी फुकेट प्रहरीको निगरानीमा छन्।

चितवनको टाइगरटप्स रिसोर्टमा कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाइँ रुवेल चौधरीलाई गोली हानेको विवादमा उनी ०६७ फागुन २८ गते पक्राउ परेका थिए। सार्वजनिक अपराध अभियोग खेपेका उनलाई जिल्ला प्रशासन कार्यालयले ‘आइन्दा यस्तो नगर्ने’ सर्तमा रिहा गरेलगत्तै उनी बैंकक गएका थिए।

सुरुमा उनले आफ्ना दुवै सन्तान पनि बैंकक लगेका थिए। त्यहाँ पढ्ने व्यवस्था गरे पनि खासै वास्ता नगरेपछि पूर्वयुवराज्ञी हिमानीले आफ्ना सन्तान नेपाल फर्काएकी थिइन्। बैंकक गएदेखि उनी परिवारको सम्पर्कमा समेत थिएनन्। उनी थाई प्रेमिकासँग बस्ने गरेको सार्वजनिक हुँदै आएको थियो।

थाई राजपरिवारसँग पूर्व राजपरिवारको राम्रो सम्बन्धका कारण उनी सिंगापुरवाट थाइल्यान्ड सरेका हुन्। स्रोतका अनुसार थाई राजकुमार चुमासक कानोक्नानले पारसलाई सहयोग गर्दै आएका छन्। चुमासक पनि आफ्नो देशमा विवादित छविका हुन्।

मध्यबैंककको सडकमा गोली चलाएर विवादमा तानिएका उनी युवतीसँगको सम्बन्धका कारण समेत बेलाबखत चर्चामा आउँछन्।

पारसका चर्तिकला
नेपाल छँदा पनि पारस आफ्नो उद्दण्ड स्वभावले विवादमा आइरहन्थे। २०५७ साउन २२ मा गायक प्रवीण गुरुङको सवारी दुर्घटनामा मृत्यु भएसँगै पारस विवादमा तानिन थाले। दरबारमार्गमा गायक गुरुङ चढेको मोटरसाइकल पारसको सवारीले दुर्घटना गराएको भन्दै उनीविरुद्ध कारबाहीको माग गरिएको थियो। तत्कालीन शाहज्यादा पारसलाई जोगाउन नक्कली चालक खडा गरिएको थियो।

२०५८ मा नारायणहिटीमा भएको दरबार हत्याकाण्डमा समेत पारस शंकाको घेरामा तानिए। पार्टीमा सहभागी वीरेन्द्र र ऐश्वर्या शाहसहित सबै सन्तान मारिँदा उनी जोगिएका थिए। दरबार हत्याकाण्डसँगै युवराज भएका उनी एभरेस्ट होटलमा आफ्नी श्रीमतीलाई गोली हानेको भन्दै फेरि विवादमा तानिए। हिमानीसँगको झगडाका कारण उनले गोली चलाएको भनिए पनि घटना गुपचुप नै राखियो।

२०६८ जेठमा पारस बहिनीज्वाइँ राजबहादुर सिंहलाई कुटेर विवादमा आए। बाहिर युवती राखेर मस्ती गरेको भन्दै उनले ज्वाइँको स्वामित्वमा रहेको याक एन्ड यतीको रोयल क्यासिनोमा पुगेर सिंहलाई कुटेका थिए।

उनी नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न भनेर पनि चर्चामा आएका थिए।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s