सुन्दर खनाल
प्रहरीले गैरकानुनी रूपमा नेपाली नागरिकलाई जुवा खेलाउने क्यासिनो सञ्चालकहरूलाई यसपटक पनि चलाखीपूर्वक उम्काउने देखिएको छ । आइतबार साँझ राजधानीका दुई क्यासिनोबाट तीन नेपालीलाई पक्राउ गरेको महानगरीय प्रहरीले तिनका सञ्चालकहरूलाई भने कारबाही गरेको छैन । प्रहरीले सञ्चालकलाई पनि पक्राउ गरी कारबाही चलाउनुका बदला बेलाबेला खेल्नेविरुद्धको मुद्दामा प्रतिवादी कायम गरी ‘लोकलाज’ टार्दै आएको छ । जुवा ऐन, २०२० मा संगठित व्यवसायका रूपमा जुवा खेलाउने र खेल्न जाने दुवै थरीलाई कारबाही हुने व्यवस्था छ । तत्कालीन अवस्थामा खेल्ने खेलाउनेलाई जनही दुई सय रुपैयाँ जरिवाना हुने गरी कारबाहीको व्यवस्था गरेको उक्त ऐन जुवाखाल आधुनिक समयमा क्यासिनोमा परिणत भइसक्दासमेत परिमार्जन गरिएको छैन । राजधानीमा सञ्चालित आठ क्यासिनोमा दसैंयता प्रहरीले फाट्टफुट्ट छापा मारी न्यून संख्यामा नेपाली नागरिकलाई पक्राउ गर्दै आएको छ । महानगरीय प्रहरीले छापा मार्ने र क्यासिनो सञ्चालकहरूसँग भेटवार्ता गरी ‘सेटिङ’ मिलाउने काम एकैसाथ भइरहेको छ । ‘हामी सञ्चालकलाई पनि मुद्दामा प्रतिवादी बनाउने विषयमा छलफल गर्दैछौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी धिरजप्रताप सिंहले भने, ‘हामी उनीहरूलाई पनि खोज्नेछौं ।’ अवैध रूपमा नेपाली खेलाएर सामाजिक बेथिति सिर्जना गरेको आरोप लागेका क्यासिनो सञ्चालकहरूलाई पक्राउ गर्नु ठूलो कुरा नभए पनि प्रहरीले मुद्दामा प्रतिवादी मात्र बनाउने तरिका अपनाउँदै आएको हो । गत महिना क्यासिनो रोयलका सञ्चालक एवं महाप्रबन्धक युद्धबहादुर कार्की प्रतिवादी बनाइए । उनलाई पक्राउ गरिएन, पछि अदालतमा हाजिर भई जरिवाना तिरेपछि उम्किए । दुई वर्षअघि क्यासिनो सञ्चालकलाई समातेरै कारबाही गर्नुपर्ने चौतर्फी दबाब पर्दा प्रहरीले नै चलाखीपूर्वक उनीहरूलाई भगाएको आरोप लागेको थियो । नेपाल रिक्रिएसन सेन्टर (एनआरसी) का नाममा राजधानीका पाँच क्यासिनो सञ्चालन गरेका भारतीय व्यापारी राकेश बाघवाले त्यतिखेरै नेपाल छोडेका थिए । त्यसपछि उनले सञ्चालन गरेका क्यासिनोहरू बन्दसमेत भए । केही वर्षयता राजधानीका क्यासिनोहरूमा विभिन्न व्यापारिक र राजनीतिक पृष्ठभूमिका व्यक्तिको समेत लगानी भित्रिएको बताइन्छ । उनीहरूको प्रभावले प्रहरीकै मिलेमतोमा क्यासिनोहरू निर्बाध ढंगले नेपालीलाई खेलाउँदै चलिरहेको उच्च प्रहरी अधिकारीहरू बताउँछन् । महानगरीय प्रहरीले आइतबार साँझ दरबारमार्गको अन्ना क्यासिनोबाट एक र लैनचौरस्थित क्यासिनो भेनसबाट दुईजना नेपाली पक्राउ गरेको छ । भेनसबाट पक्राउ पर्नेमा एक नेपाल प्रहरीका हवल्दार धु्रव पाण्डे छन् । ‘साँझ साढे आठको समयमा नेपालीकै भरमा चलेका क्यासिनोबाट एक दुईजना मात्रै समातिनु पत्यारलाग्दो कुरा होइन,’ एक अधिकारीले कान्तिपुरसँग भने ।
प्रकाशित मिति: २०६९ मंसिर १२ ०१:५३