घनश्याम खड्का
विशेष अदालतले पूर्वरक्षा सचिव चक्रबन्धु अर्याललाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद, ६६ लाख जरिवाना र त्यति नै बिगो असुलउपर हुने फैसला गरेको छ । विशेषका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की तथा सदस्य न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले बिहीबार गरेको फैसलाअनुसार अर्याललाई भ्रष्टाचार गरेबापत १ वर्ष र पदको दुरुपयोग गरेबापत थप ६ महिना जेल सजाय हुने भएको हो ।
अर्यालविरुद्ध अख्तियारले २०६० मंसिर १० गते मुद्दा दायर गरेको थियो । हदम्याद नलाग्ने भन्दै विशेषका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारी समूहको इजलासले २०६४ असोज १४ गते उनको मुद्दा खारेज गरिदिएको थियो । त्यसविरुद्ध अख्तियारले सर्वोच्चमा गरेको पुनरावेदनमाथि गत वर्ष पुस १२ गते कल्याण श्रेष्ठ र सुशीला कार्कीको इजलासले विशेषको फैसला उल्ट्याउँदै सुरु तहदेखि मुद्दा हेर्न अर्यालको मुद्दा विशेषमै फर्काइदिएको थियो ।
सर्वोच्चको फैसलाअनुसार गत वैशाख १२ गते अर्यालविरुद्ध अख्तियारले पुनः विशेषमै मुद्दा दायर गरेको थियो । दायर भएको ७ महिनापछि विशेषले फैसला सुनाउँदै अर्याल भ्रष्ट भएको ठहर गरेको हो ।
अर्याल २०२२ माघ १७ गते निजामती सेवामा अधिकृतका रूपमा प्रवेश गरेका थिए । पदोन्नति हुँदै रक्षा सचिव भएका उनको अवकाश ५६ वैशाख २२ मा भएको थियो । सेवा कालमा उनले गुल्मी, मोरङ, झापा र सुर्खेतमा प्रमुख जिल्ला अधिकारी भएर ११ वर्ष बिताएका थिए । उनी निजामती केन्द्रीय सेवा विभागका महानिर्देशकसमेत भएका थिए । ४ वर्ष रक्षा सचिव भएका अर्यालले पदमा छँदा अकुत सम्पत्ति कमाएको अभियोगमा उनीविरुद्ध अख्तियारले छानबिन गरी मुद्दा चलाएको थियो ।
अख्तियारको अभियोगपत्रमा अर्यालसँग ४ करोड ८ लाख ८० हजार रुपैयाँ कुल सम्पत्ति भएको जिकिर थियो । त्यसमध्ये १ करोड ४७ लाख ९९ हजार रुपैयाँको मात्रै स्रोत खुलेको भन्दै अर्यालले २ करोड ६० लाख ८१ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको अभियोग थियो । विशेषले भने अर्यालको सम्पत्तिमध्ये ६६ लाख २ हजार रुपैयाँको मात्रै स्रोत नखुलेको ठहर गरेको छ ।
प्रकाशित मिति: २०६९ मंसिर ८ ०८:४३