जेलभित्र कैदीको सुरुङ यात्रा

Posted: November 16, 2012 in By Deepak Kharel

This slideshow requires JavaScript.

प्रतिमा बाँस्कोटा

चारैतिर सुरक्षाकर्मी खटिने कारागार पेरिमिटरबाट ७७ फिट लामो सुरुङ बनाएर सुनसरी झुम्का कारागारबाट १२ कैदी भाग्न सफल भए । गम्भीर अपराधमा सजाय खेपिरहेका कैदी उम्किनुमा प्रहरी प्रशासनको मिलेमतो छ/छैन त्यो त उच्चस्तरीय छानबिन समितिले देखाउला । कैदीलाई भाग्न सहज कसरी भयो भन्ने विषय गम्भीर छ । फर्निचरका सामान बनाउने औजार प्रयोग गरेर त्यति लामो सुरुङ खन्दा प्रहरी वा जेल प्रशासनका मान्छेले सुइँको समेत नपाउनु अनौठो हो । कारागार भित्री व्यवस्थापन गर्न चौकीदार नाइके र भाइ नाइके बनाएपछि उनीहरूले त्यो सबै काम कारबाही हेर्ने गर्छन् । प्रहरी न त भित्र पस्छ, न त कुनै किसिमको खानतलासी नै लिन्छ । प्रहरीलाई पनि भित्र पस्न जेलरको अनुमति चाहिन्छ । बेला-बेला कारागारभित्र गएर चेकजाँच गर्दैन ।

हुन त, कारागारबाट सुरुङ खनेर, प्रहरीलाई प्रलोभनमा पारेर वा अन्य कुनै तरिकाबाट कैदी भाग्ने गरेको यो पहिलो भने होइन । हरेक दिन देशभरका ७४ वटा कारागारमा बस्ने १४ हजारको हाराहारीमा रहेका -रिहा हुने र जेल चलान हुने संख्या थपघट भइरहन्छ) मध्ये कुनै एक कैदी भागेकै हुन्छन् । किन त ? सरोकारवाला निकायले गम्भीररूपमा नलिएका कारण यस्तो स्थिति आएको हो । कारागारबाट कैदी मात्र भाग्ने होइन, गोली समेत हानिएका उदाहरण छन् ।

कारागारभित्र यस्ता गम्भीर प्रकृतिका अपराध भएका बेला ‘दबाब झेल्न’ कै लागि सरकारले आयोग र छानबिन समिति बनाउने गरेको छ । तर घटना सेलाउँदै गएपछि आयोगका प्रतिवेदन पनि सेलाउने गरेका छन् । आयोगले दिएका प्रतिवेदन दराजको कुनै कुनामा थुपारेर राख्ने प्रवृत्तिले कारगारलाई अझ असुरक्षित बनाउँदै लगेको छ । ‘जुन जोगी आए पनि कानै चिरेका’ यो उखान कारागारको स्थितिलाई सुहाउँदो छ । जेल सुधारका लागि विभिन्न चरण र कालखण्डमा १० वटा आयोगले प्रतिवेदन दिएका छन् । तर ती प्रतिवेदन कार्यान्वयनको पक्षमा भने कमजोर छन् । जेलको भौतिक लगायत अन्य स्थितिको अनुसन्धान गरी छानबिन गर्न सरकारले २००५ सालदेखि हालसम्म १२ वटा उच्चस्तरीय छानबिन समिति र आयोग बनाएको छ । तर ती आयोगले महिनौं लगाएर बनाइदिएका प्रतिवेदन कहाँ थन्किएका छन्, कसैलाई थाहा छैन । केन्द्रीय कारागारमा युनुस अन्सारीलाई गोली हानेताका सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजनमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । त्यो ताका समितिले कारागार सुधारका विषयमा दिएको सुझावमध्ये २५ प्रतिशत मात्र कार्यान्वयन गरेको भए सुरुङ बनाएर कैदी भाग्ने थिएनन् ।

कारागारको आन्तरिक सुरक्षा जिम्मा कैदीलाई नै दिँदा समेत यो किसिमका घटनाहरू हुने गरेको पाइएको छ । विभिन्न पद बनाएर कैदीलाई नै कारागारको राजा बनाउने चलनले जेलभित्र झन् नराम्रा क्रियाकलाप हुने गरेको पाइएको छ । कारागार ऐन २०१९ र कारागार नियमावली २०२० ले मुद्दा फैसला भएपछि तोकिएको सजायमध्ये पचास प्रतिशत सजाय भुक्तान गरिसकेका इमानदार र राम्रो आचरण भएका व्यक्तिलाई चौकीदार र नाइके बनाइने हो । नायिके चौकीदार नियुक्तिको अधिकार जेलरसँग हुुन्छ । जेलरले उल्लिखित कुरामाथि विचार पुुर्‍याएर इमानदारिताका साथ गर्नुपर्ने हुन्छ । तर व्यवहारमा त्यस्तो देखिन्न ।

चौकीदार, नाइके र भाइ नाइकेलाई कैदीहरूबीचको आन्तरिक व्यवस्थापनको जिम्मा दिइएको हुन्छ । कैदी/कैदीबीच झगडा हुन नदिनु, सरसफाइ गर्नु, गर्न लगाउनु, कैदीको स्वास्थ्यस्थितिबारे जेलरलाई जानकारी गराउनु, जेलभित्रको मर्मत सम्भारका बारेका जेलरलाई जानकारी गराउनु उनीहरूको काम हो । बन्दी आउटडोर नाइके, भाइ नाइकेहरू कारागारको सुरक्षाका लागि भित्र रातको समयमा पालो मिलाएर आन्तरिक पेरिमिटरमा ड्युटी खट्ने गर्छन् । ड्युटी खटाउने जिम्मा चौकीदारकै हो । त्यसमा पनि आफ्ना चम्चालाई रातको समयमा नखटाउने गरेको गुनासो आइरहेका छन् ।

चौकीदारले कारागारभित्र बसेर गर्ने दादागिरीले समेत कैदीलाई आपराधिक योजना बनाउन सहज भएको देखिन्छ । भाग्न लागेका कैदीले सुरुङ खनेको स्थानमा अन्यलाई जान नदिनुले त्यसलाई पुष्टि गर्छ । चौकीदारले भनेको नमाने अन्य कैदी जेल प्रशासन र कैदीका नाइकेहरूबाट प्रताडित हुने गरेका दृष्टान्तहरू छन् । चौकीदारको प्रावधान नै पुुनर्मूल्यांकन जरुरी देखिन्छ । कारागारभित्र चौकीदार, नाइके राख्ने पद्धति नै गलत सावित हुँदै गएको छ । जुन उद्देश्यका लागि आन्तरिक प्रशासन स्थापना गरिएको हो, त्यो अनुरूप भएको देखिएन । कारागार ऐन नै परिमार्जनको जरुरी छ । कारागारको आन्तरिक प्रशासनको जिम्मा कैदीलाई दिनु ठीक होइन । कारागार प्रशासनले नै त्यसको जिम्मा लिनुुपर्छ । कैदीलाई त्यसको जिम्मा दिँदा भित्र हुने शोषण र अत्याचार बाहिर आउँदैनन् । त्यसमाथि एउटा साधारण कैदीले जेलरसँग भेट गर्न पाउँदैन । जेलर वा कारागार प्रशासनको व्यक्ति भित्र गएका बेला चौकीदार नाइके र भाइ नाइकेले घेरेर केही कुरा राख्ने मौका दिँदैनन् । चौकीदार नाइकेले गरेको अत्याचार बताउन पाउँदैन । अत्याचारको समाधान नपाएपछि ऊ विद्रोहतर्फ उन्मुख हुुन्छ । जेलरले कारागारका सबै कैदीको गुनासो र कुरा सुन्न जरुरी छ । चौकीदार र नाइके छान्ने तरिका समेत गलत

छ । मापदण्ड अनुसार नियुक्त गरिँदैन । जेलभित्र प्रभाव जमाउन सक्ने व्यक्ति बनाइन्छ । ‘सिंहले जंगलमा आफूलाई राजा’ ठाने जसरी चौकीदारले आफूलाई कारागार पेरिमिटरको सिंह ठान्ने गरेका छन् । कारागारका चौकीदार नाइकेहरूको लवाइखवाइको स्तर पनि फरक हुन्छ । वस्तुगत मापदण्ड बनाएर नाइके, भाइ नाइके, चौकीदार र बैदार बनाउने गर्नुपर्छ । त्यसो गरेको खण्डमा मात्रै जेल सुरक्षित हुनसक्छ । कारागार सरुवामा समेत निकै चलखेल हुने गरेको छ । आफूलाई पायक पर्ने -आपराधिक गतिविधिको योजनाका लागि) स्थानमा जान कैदीले चौकीदारबाट पैसा खुवाउन सुरु गर्छ ।

कारागार सुरक्षा र व्यवस्थापन फरकफरक निकायले गर्दै आएका छन् । सुरक्षाको जिम्मा नेपाल प्रहरी वा सशस्त्र प्रहरीले लिएको छ । तर व्यवस्थापन जिम्मा कारागार व्यवस्थापनको मातहतमा जेलरले हेर्ने गर्छ । त्यस्तोमा दुुई पक्ष बीच हुने मनमुटावको फाइदा चौकीदारहरूले लिने गरेको पाइएको छ । भौतिक संरचना, कारागार भित्रका गलत प्रवृत्तिलाई निरुत्साहित गर्न सरोकारवाला निकायले कदम नचालेसम्म फेरि यस्ता घटना नदोहोरिनेमा शंका छैन ।

प्रकाशित मिति: २०६९ मंसिर १ ०९:०९

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.