गृहको मस्यौदामा उच्च प्रहरी अधिकृतकै आपत्ति :फौजी संरचना ध्वस्त पार्न खोजेको जिकिर

Posted: November 2, 2012 in By Deepak Kharel

टपेन्द्र कार्की

गृह मन्त्रालयले नेपाल प्रहरीको बढुवा र पदस्थापनका लागि तयार पारेको नियमावली संशोधन मस्यौदामा प्रहरी वरिष्ठ अधिकारीहरूले नै आपत्ति जनाएका छन् । मंगलबार र बुधबार बसेको नेपाल प्रहरीको पोलिसी कोअर्डिनेटर कमिटी (पीसीसी) को बैठकमा वरिष्ठ अधिकारीहरूले फौजी संरचना बिगार्ने प्रयास भएको भन्दै आपत्ति जनाएका हुन् । गृहले निजामती कर्मचारीको बढुवा प्रणालीकै जस्तो प्रहरी नियमावली तयार पारेको उनीहरूको भनाइ छ ।

सर्वोच्च अदालतले बढुवा, नयाँ नियुक्ति र पदस्थापन गर्दा लोकसेवा आयोगको परामर्शमा सामान्य सिद्धान्त बनाएर गर्नु उपयुक्त हुने सुझाव दिएपछि मन्त्रालयले शैक्षिक योग्यता, ज्येष्ठता, भौगोलक क्षेत्र, कार्यसम्पादन मूल्यांकन, पारदर्शिता, पुरस्कार, तालिमको नम्बरको विषय समेटी नियमावली मस्यौदा तयार पारेको थियो । सो मस्यौदामा सुझावका लागि प्रहरी प्रधान कार्यालय पठाएपछि भएको छलफलमा वरिष्ठ अधिकारीहरूले सम्भव नहुने भन्दै आपत्ति जनाएको स्रोतले बतायो । स्रोतका अनुसार फौजी मापदण्डलाई सोझै निजामतीमा लैजाँदा चेन अफ कमान्ड समाप्त हुने उनीहरूको तर्क छ । पीसीसी बैठकमा सहभागी अधिकांश प्रहरी अधिकारीहरूले कार्यसम्पादन मूल्यांकनको विषयमा आपत्ति जनाएका हुन् ।

गृहले तयार पारेको नियमावली मस्यौदा प्रस्तावमा प्रहरी महानिरीक्षकले सोझै दिने १ सय ५० नम्बर कटौती गरी ४० मा झारिएको छ । बैठकमा वरिष्ठ अधिकारीहरूले नै गृहले तयार पारेको नियमावलीमा कडा आपत्ति जनाएपछि प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनकरशमशेर राणाको संयोजकत्वमा राजेन्द्रसिंह भण्डारी सदस्य रहेको दुई सदस्यीय समिति बनाएका छन् । सोही समितिले मस्यौदा संशोधन गरी शुक्रबार बस्ने बैठकमा प्रस्तुत गर्नेछ । समितिको प्रस्तावमा छलफल गरी अन्तिम निष्कर्ष निकालिने बैठकमा सहभागी अधिकारीले जानकारी दिए ।

सोही विषयलाई लिएर पीसीसीको बैठक तीन दिन लम्बिएको हो । स्रोतका अनुसार प्रहरी अधिकारीहरूले फौजी प्याटनमा माथिल्लो तहको आदेश पूर्ण पालना गर्नुपर्ने भएकाले निजामती कर्मचारीको जस्तो नियमावली लागू गर्न नहुने अडान राखेका छन् । गृह मन्त्रालयका प्रवक्ता शंकर कोइरालाले प्रहरी नियमावली संशोधनका बारेमा छलफल भइरहेकाले त्यसबारे केही बताउन नमिल्ने बताए । ‘प्रहरी नियमावली संशोधनबारे छलफल भएको भन्ने मलाई जानकारी छ, तर त्यहाँ के संशोधन भयो भन्नेबारेमा जानकारी छैन,’ उनले भने । गृहले प्रहरीमा सुधार ल्याउन पारदर्र्शिता हुनुपर्ने, भौगोलिक विकटमा बसेर काम गरेको, शैक्षिक योग्यता र ज्येष्ठताको मूल्यांकनजस्ता विषयहरू समेटी नियमावली मस्यौदा बनाइएको दाबी गरेको छ ।

प्रहरीले भने संगठनको बढुवा तथा नयाँ नियुक्तिलाई लोकसेवाकै सिद्धान्तलाई समेटेर फौजी संरचना नखलबलिने गरी वैज्ञानिक ढंगले नियमावली संशोधन गर्नुपर्ने बताएको हो । ‘चेन अफ कमान्ड बिगार्नु हुँदैन, बाँकी पारदर्शिता, कार्यसम्पादन मूल्यांकन, तालिम, पुरस्कार, शैक्षिक योग्यताजस्ता वैज्ञानिक विषयमा हाम्रो आपत्ति होइन,’ बैठकमा सहभागी एक अधिकृतले राजधानीसँग भने । उनका अनुसार भौगोलिक विकटता भने तल्लो तहका प्रहरीका लागि उपयुक्त हुने भए पनि माथिल्लो दर्जाका लागि आवश्यक नभएको र फौजीमा ज्येष्ठताबारेमा अनावश्यक हल्ला गर्ने माध्यम बनाउन खोजेर नियमावली संशोधन गर्न मन्त्रालयले दबाब दिएको हो ।

‘मन्त्रालयले आपूmअनुकूल बनाउन खोजेको हो, हामी वैज्ञानिक हुने सवालमा सकारात्मक छौं, तर चेन अफ कमान्ड बिगार्ने बारेमा मात्रै हाम्रो आपत्ति हो, डीआईजीसापको नेतृत्वमा बनेका समितिले तयार पारेको प्रस्तावमा शुक्रबार छलफल हुनेछ’, बैठकमा सहभागी अधिकारीले भने । मन्त्रालयले भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको संगठन पुनःसंरचनाका लागि क्रमशः सहसचिवद्वय गणेश कार्की र शम्भु कोइरालाको संयोजकत्वमा समिति बनाएर काम थालेको छ । सोही समितिले प्रहरी नियमावली संशोधन प्रस्ताव तयार पारेको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s