सशस्त्रको तालिम केन्द्रबाटै मेसिनगन बिक्री

Posted: March 9, 2011 in By Deepak Kharel

सशस्त्र प्रहरीको लामापाटनस्थित तालिम महाविद्यालयबाट ६ महिनाअघि अत्याधुनिक र शक्तिशाली एसएमजी (सर्ट मेसिन गन) बिक्री भएको रहस्य खुलेको छ।

तालिमका क्रममा गत भदौ ५ गते महाविद्यालयबाट हराएको भनिएको मेसिन गनसहित सशस्त्रका भगौडा सिपाही कुवेर पुन गत साता पक्राउ परेपछि यो रहस्य खुलेको हो।

पुनले उक्त मेसिन गन, अन्य चारवटा पेस्तोल र गोलीहरु तालिम महाविद्यालयकै हतियार भण्डारबाट १ लाख ३५ हजार रुपैयाँमा आफुले किनेको प्रहरीसँगको प्रारम्भिक बयानमा खुलाएका छन्।

अनुसन्धानमा संलग्न प्रहरी स्रोतकाअनुसार उक्त मेसिन गन र अन्य चार पेस्तोल तथा तिनका गोली खरिदबारे हतियार भण्डारका दुई सुरक्षाकर्मीलाई मात्र जानकारी रहेको पुनले बयान दिएका छन्। त्यसमध्येका एक हवल्दार हाल त्यहीं कार्यरत रहेको र अर्का एकजना भने जागिर छोडेर गईसकेको स्रोतले बताएको छ।

‘पुनले सशस्त्रको हतियार भण्डारबाटै आफुले हतियारहरु किनेको बयान दिएर चकित तुल्याएको छ’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले भने,’उसले एसएमजी सहितका हतियार १ लाख ३५ हजारमा किनेको स्वीकारेको छ। यसले अनुसन्धानलाई अझै पराकिलो बनाएको छ।’

चोरी समूहको खोजीका क्रममा प्रहरीले सुर्खेतको मेहलकुना-५ घर भएका २५ वर्षिय पुनलाई फागुन १६ गते पक्राउ गरेको थियो। २०६१ देखि करिब ६ वर्ष पोखरास्थित सशस्त्रको कालिका गणमा कार्यरत सिपाही पुन गत असारमा गणबाटै भागेका थिए। उनी पोखरामा संगठितरुपमा हुँदै आएका ठूल्ठूला चोरीका घटनामा संलग्न रहेको समेत खुलेको छ।

पोखरास्थित उनका तीन छुट्टाछुट्टै डेराबाट प्रहरीले चालु अवस्थाको एसएमजी हतियारका साथै त्यसको एक थान म्याग्जिन र दुई राउण्ड गोली, अन्य दुई वटा पेस्तोल, गोली, बाइनाकुलर, लागूऔषध र किर्ते परिचय-पत्र र लाइसेन्स बरामद गरेको थियो।

पुनले आफुले एउटा पेस्ताल पोखराकै एक व्यक्तिलाई ३९ हजारमा बिक्री गरेको समेत बयान दिएका छन्। उक्त हतियार किन्ने व्यक्तिले तेस्रो व्यक्तिलाई सोही हतियार ५२ हजारमा बिक्री गरेको समेत प्रहरीको अनुसन्धानमा खुलेको छ।

कास्की प्रहरीका प्रमुख एसपी यादवराज खनालले पुनबाट हतियार, लागूऔषध र किर्ते तीनैथरी मुद्दाका धेरै रहस्य खुल्ने जानकारी दिए। प्रहरीले पुनको हतियार खरिद-बिक्रीबारे धेरै रहस्य खुल्ने आशमा अहिले पुनलाई लागूऔषध मुद्दामा मात्र म्याद थप लिएर अनुसन्धान गरिरहेको छ। लागूऔषध मुद्दामा लामो समय थुनामा राखेर अनुसन्धान गर्न सजिलो हुने भएकाले प्रहरीले यसलाई प्राथमिकतामा राखेको हो।

‘हामीलाई सशस्त्रबाट हतियारबारे पठाएको पत्रको जवाफ पनि अझै आईसकेको छैन’ एसपी खनालले भने,’उताबाट जवाफ आएपछि यसबारे थप अनुसन्धान सुरु गर्न सजिलो हुन्छ।’
जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी समूहका नाइकेबाट बरामद मेसिन गन सशस्त्र प्रहरीको हराएको हतियार हो कि होइन भन्ने एकिन गर्न नम्बरसहित पत्राचार गरेको एक सातासम्म सशस्त्रले त्यसको जवाफ पठाएको छैन।

सशस्त्र प्रहरी बल पश्चिमाञ्चल कार्यालयले उक्त हतियार आफुहरुकै भएको स्वीकार गरे पनि यसको आधिकारीकताबारे अझै प्रष्ट पारेको छैन। सशस्त्रका डिआईजी दुर्जकुमार राईले हतियार आफुहरुकै भए पनि त्यसको नम्बर केरमेट भएकाले एकिन गर्ने कार्य भईरहेको बताए।

‘यस्तो हतियार आर्मी र सशस्त्र बाहेक अरुसँग छैन’ डिआईजी राईले नागरिकसँग भने,’त्यो हयितार हाम्रै हो भन्ने प्रष्ट भईसकेको छ।’

उनले हतियार हराएपछि गठित छानबिन समितिले दोषी ठहर गरि भण्डार शाखाका दुई हवल्दारलाई कारबाही गरिएको जानकारी दिए। भण्डारबाटै हतियार बिक्री भएको पुनको बयानमा राईले प्रहरी अनुसन्धान पुरा नभएसम्म तत्काल केही भन्न नसकिने बताए। अनुसन्धानमा हतियार काण्डबारे डिएसपी, एसपी जुनसुकै तहका सुरक्षाकर्मी संलग्न रहेको पुष्टि भए कारबाही हुने उनले जानकारी दिए।

स्रोतकाअनुसार पुनले हतियार आफुले कुन तहका सुरक्षाकर्मीबाट किनेको भन्ने समेत बयानमा खुलाएका छन्। उक्त काण्डबारे प्रहरीको आन्तरिक छानबिनपछि महाविद्यालयका तत्कालिन एसएसपी सुबोध अधिकारीलाई राजधानी सरुवा गरिएको छ। उनी पोखरा आएको ७ महिना मात्र बितेको थियो।

सशस्त्रका भगौडा सिपाही पुन पोखरामा सक्रिय चोरी समूहका नाइके हुन्। केही साताअघि मोहरिया टोलस्थित एउटै सुन पसलबाट ९२ तोला र दुई साताअघि न्यूरोड नजिकै एक घरबाट १५ तोला सुन चोरीमा आफु संलग्न रहेको पुनले स्वीकारेका छन्। उनकै बयानका आधारमा समूहका अन्य तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

Advertisements
Comments
  1. deepak kharel says:

    Reblogged this on THE CRIME REPORTER.

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s