अपराध अनुसन्धान र कानून कार्यान्वयनमा कठोरता अपनाउन महानिरीक्षक सिंहको निर्देशन

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो जिम्मेवारीलाई निष्पक्ष र त्रुटिरहित तवरले सम्पन्न गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

आइतबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१ औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी चुनावमा प्रहरीले पाएको जिम्मेवारीलाई निष्पक्ष र त्रुटिरहित तवरले सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

उनले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नु प्रहरीको जिम्मेवारी भएको बताए । उनले प्रहरीलाई कानूनको परिधिभित्र रही अपराध अनुसन्धान र कानून कार्यान्वयनमा कठोरता अपनाउन निर्देशन दिए । उनले गैरकानूनी तथा आपराधिक क्रियाकलापविरुद्ध निर्मम हुन पनि निर्देशन दिएका छन् ।

उनले ‘चेन अफ कमाण्ड’ नेपाल प्रहरीले अवलम्बन गर्दै आएको व्यावसायिक संस्कृति भएको उल्लेख गर्दै यसको परिधिभन्दा बाहिर नजान आग्रह गरे । यस संस्कृतिको प्रवर्द्धन गरी अक्षुण राख्नु सबैको कर्तव्य भएको उनले उल्लेख गरे । महानिरीक्षक सिंहले चेन अफ कमाण्डबाहिर रहेर गरिने वृत्तिविकास र अवसरको परिकल्पनाप्रति संगठन कठोर हुने स्पष्ट पारे ।

उनले प्रविधिजन्य समस्याहरू समाधानका लागि प्रविधिमैत्री र प्रविधिको विकासप्रति अद्यावधिक हुन आग्रह गरे । उनले साइबर क्राइम, क्रिप्टो करेन्सीलगायत आर्थिक अपराधहरू बढेको भन्दै त्यसप्रति सचेत रहन पनि निर्देशन गरे । अपराधहरूमा संलग्न व्यक्तिको पहिचान, त्यसको प्रभाव, पीडितको पहिचान, अन्तरनिकाय समन्वय, पीडितलाई क्षतिपूर्ति, पीडकलाई कारबाही गर्ने दायित्व वहन गर्न उनले प्रहरीहरूलाई आग्रह गरे ।

उनले प्रहरीले नागरिकको जायज र कानूनसम्मत अपेक्षा पूरा गर्नेगरी काम गर्नुपर्ने बताए । प्रहरीप्रतिको नकारात्मक धारणा हटाउने गरी काम गर्न उनले आग्रह गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर